
काठमाडौं । साहित्यकार खुपेन सुनुवारद्वारा लिखित कविता सङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ माथि शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत विचार, विमर्श र बहस गरिएको छ । अनामनगरस्थित युनियन हाउसमा सम्पन्न उक्त कार्यक्रम सुनुवार विद्यार्थी समाज, सङ्घीय समितिले आयोजना गरेको हो ।
कार्यक्रममा वरिष्ठ कवि, गीतकार तथा नाटककार श्रवण मुकारुङ, भाषाविद् तथा अनुसन्धानकर्ता डा. लाल रापचा श्याँकारेलु, र समालोचक तथा कवयित्री डा. गीता त्रिपाठीले कृतिमाथि टिप्पणी गरेका थिए ।
साहित्यकार तथा नेपाल सरकारका उपसचिव अमरदीप सुनुवारले कार्यक्रममा शुभकामना दिँदै कविको सिर्जना समसामयिक चेतना र कलात्मक अभिव्यक्तिको सफल संयोजन भएको उल्लेख गरे।
वरिष्ठ कवि श्रवण मुकारुङले प्रवासी भुईंबाट सिर्जना गरिएको कविता सङ्ग्रहमा वैश्विक जीवनबोध र सशक्त बिम्बको प्रभावशाली प्रयोग रहेको बताउँदै भने, ‘यो कृति बौद्धिक विलास र संवेदनशील पाठकका लागि नौलो खुराक हो ।’
भाषाविद् डा. लाल रापचा श्याँकारेलुले कृतिमा क्लोजअप, मोन्टाज, ल्यान्डस्केप र पोट्रेट गरी चार खण्डमा विभाजन गरिएको उल्लेख गर्दै, कविताहरूको संरचना र विविधता प्रशंसनीय भए पनि नेपाली समाजका मौलिक विषयवस्तु र भाषाप्रति अझ संवेदनशील हुनुपर्ने धारणा राखे।
समालोचक डा. गीता त्रिपाठीले कविको सिर्जनामा प्रतिकात्मक बिम्ब प्रयोगको विशिष्टता देखिएको बताउँदै, ‘लेखकको महिला दृष्टिकोणको स्पष्ट अभिव्यक्ति भने अलिक खुकुलो देखिन्छ,’ टिप्पणी गरिन्।कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारीले ‘एक गुमनाम प्रेमिकाको गन्तव्य’ शीर्षक कविता वाचन गरे भने कलाकार जेनी सुनुवारले ‘अन्तिम मृत्यु’ शीर्षक कविता प्रस्तुत गरिन् ।
झण्डै ४० जना साहित्य, कला र संगीत क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा साहित्यकार राजन मुकारुङ, गायक शिव मुखिया, कलाकार इँगिहोपो कोइँच सुनुवार, कवि मिथोच, चन्द्रवीर तुम्बापो, सोझो गाउँले, साहित्यकार तारादेवी सुनुवार, पत्रकार नवीन काजी राई, रंगकर्मी विष्णु मोक्तान, गायक राजु तामाङ, संगीतकार ओमोस तामाङ, गायक दशराम सुनुवार, कवि प्रतापसिंह नाछिरिङलगायतको सहभागिता थियो ।
खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ मा ६७ वटा कविता संग्रहित छन्।चार खण्डमा विभाजित यी कविताहरूमा प्रवासी अनुभव, सामाजिक यथार्थ, आत्मसंघर्ष र मौनता भित्रको आवाजलाई समेटिएको छ । कार्यक्रमको अध्यक्षता मनिसा सुनुवारले गरेकी थिइन् भने सञ्चालन महासचिव मुस्कान सुनुवारले गरेकी थिइन् ।
प्रतिक्रिया 4