
News Summary
Generated by OK AI. Editorially reviewed.- मुख्यमन्त्री बहादुर सिंह लामाले बगमती प्रदेशसभा विघटन गर्ने विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले त्यसलाई खण्डन गरेको छ।
- एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेशसभा विघटन गर्ने सुझाव एमालेले कहिल्यै नदिएको र नदिने बताए।
- कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि केन्द्रीय सदस्य राजन केसीले मुख्यमन्त्री लामा र सांसद बानियाँसँग छलफल गरिरहेका छन्।
१२ साउन, हेटौंडा। मुख्यमन्त्री बहादुर सिंह लामाले बगमती प्रदेशसभा विघटन गर्ने सक्ने आफूसँग विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले ध्यानाकर्षण गराएको छ ।
मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रदेशसभा विघटन गर्ने आफूसँग विकल्प रहेको र सत्ता साझेदार दल नेकपा एमालेसहितका सत्ता साझेदार दलहरूले पनि सोही अनुसारको सुझाव दिएको बताएपछि एमालेले आपत्ति जनाएको हो ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सभा विघटन गर्ने जस्तो घातक सुझाव नेकपा एमालेले कहिल्यै नदिएको र नदिने जानकारी गराए । त्यस प्रकारको गलत समाचारको कडा प्रतिकारका साथ एमालेले खण्डन गर्ने सचेतक पौडेलले बताए ।
`एमाले संधै राजनीतिक स्थायित्व र सुशासनका लागि संघर्षरत पार्टी हो । हाम्रो दल सोही उदेश्यका लागि नेपाली कांग्रेससँग मिलेर वर्तमान संयुक्त सरकारमा सामेल भएको हो । तसर्थ त्यस प्रकारको गलत र प्रतिगामी सुझाव नेकपा (एमाले) ले नदिएको व्यहोरा जनसमक्ष जानकारी गराउँदै उक्त कपोलकल्पित र भ्रामक सन्देशको कडा प्रतिवादको साथ खण्डन गर्दछौं ।´ पौडेलले भने ।
उनले नेपाली कांग्रेससँगको सहकार्य निरन्तर जारी रहने पनि जनाए। ‘कांग्रेसबाट को मुख्यमन्त्री हुन्छ भन्ने हाम्रो सरोकारको विषय होइन । नेपाली कांग्रेसबाट जो मुख्यमन्त्री हुन्छ हामी तोकिएको समयसम्म सहयोग र समर्थन गर्छौं,´ उनले भने, `तर एमालेले प्रदेशसभा विघटन गर्ने घातक सुझाव कहिल्यै दिन सक्दैन र दिँदैनौं पनि।’
बागमतीका मुख्यमन्त्री बहादुरसिंह आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् । काठमाडौंबाट आज सोमबार हेटौंडा आएका लामा छलफलमा जुटेका छन ।
कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेको जनाइएको छ ।
कांग्रेस संसदीय दलको १ बजेका लागि बोलाइएको बैठक साढे ४ बजेसम्म बस्न सकेको छैन । कांग्रेसका ३७ जना सांसद छन् ।
प्रतिक्रिया 4