
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता स्वार्थले विचारधारा विसर्जन भएको छ र संविधान संशोधनमार्फत सरकार गठन गरिएको छ।
- कांग्रेसले महाधिवेशनबाट पुराना नेताहरूलाई सम्मानजनक बिदावारी गर्न नसके २०८४ मा 'मास विस्फोट'को खतरा रहन्छ।
- गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसमा सिद्धान्त पुनर्निर्माण र शुद्धताको झण्डा उठाउन खोजेका छन्।
नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता स्वार्थको ‘अराजनीतिक अभ्यास’ले विचारधारा नै विसर्जन भएको छ । संविधान संशोधनका माध्यमबाट राजनीतिक स्थिरता दिने बताएर संसद्का दुई ठूला दल ‘कांग्रेस–एमाले’ सम्मिलित सरकार बनाए ।
विचारधारा बीच पटक्कै मेल नखाने यी दुई दलको सत्ता निर्माणको मूल ध्येय केवल ‘सत्ता स्वार्थ’ले मात्र काम गरेको थियो । आज राजनीतिका नाममा जुन प्रकारले भ्रष्टाचारमा समेत ‘दलीय भागबन्डा’ देखिएको छ, त्यो राजनीति हुँदै होइन ।
आज राजनीतिका नाममा जुन प्रकारको ‘गणितीय लेनदेन’ देखिएको छ, त्यसले कांग्रेस स्वयम् पनि ‘वैचारिक आस्था र आफ्नो परम्परागत मान्यता’बाट पूरै अलग भएको देखाउँछ ।
कांग्रेसकै बारे टिप्पणी गर्नु पर्दा भन्नै पर्ने हुन्छ– ‘कांग्रेस भित्र जोसँग विचार छ, ऊ पार्टीमा प्रभावकारी भूमिकामा छैन, सँगै जो पार्टीमा प्रभावकारी भूमिकामा छ, उसको ‘विचार र नैतिकता’सँग भेट नै हुँदैन ।’ यही बेमेलकारी यथास्थिति र परिवर्तनकारी पक्ष बीचको रस्साकस्सीमै दिन कटाउँदैछ– कांग्रेस ।
लामो समय कांग्रेसको राजनीति गरेर इतिहास निर्माण गरिसकेका शेरबहादुर देउवादेखि डा. शेखर कोइरालाहुँदै गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार हुँदै शशांक कोइरालादेखि बालकृष्ण खाँणसम्मको मूल्यांकन गर्ने जिम्मा इतिहास र भावी पुस्तालाई नै छाडिदिऊँ ।
अब त चर्चा कांग्रेसका लागि ‘वैचारिक फाँटबाट सार्वजनिक साख’ निर्माणमा तल्लीन गगनकुमार थापा र विश्वप्रकाश शर्माहरूका बारे गरिन जरूरी छ । किनकि पार्टीहरू भित्र ‘मूल्य र मान्यता’को खडेरी पर्दै गएका समयसँगै ‘स्टन्ट’लाई नै राजनीतिको आधार मानेर राजनीतिमा उदय भएका ‘नयाँ’ भनिएकाहरूको आलोचना बीच पनि आजका मितिसम्म ‘गगन–विश्व’ले ‘आत्मानुशासन र संस्कार’को राजनीतिक अभ्यास गर्न खोजेको देखिन्छ ।
सोही कारण पनि उनीहरूलाई आशाको नजरले हेर्ने ठूलै समूह कांग्रेस र इतरवृत्तमा छ । यसको ‘नजरअन्दाज’ गरिहाल्न मिल्दैन ।
राष्ट्रिय महाधिवेशनको तिथिमिति नतोकिंदै कांग्रेस नेताहरूलाई महाधिवेशनको रन्कोले छपक्कै छोपेको छ । उता, ‘विद्या–केपी’ ‘फेक वार’ले भदौमा आयोजना गर्न लागिएको नेकपा एमालेको ‘विधान अधिवेशन’ नै महाधिवेशनमा रूपान्तरण भएर तेस्रो कार्यकालको लागि केपी शर्मा ओली नेकपा एमालेको अध्यक्ष बन्न सक्ने आकलन गर्न थालिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कमाण्ड सम्हालेको करिब चार दशक भइसक्यो । मूलधारका दलहरूलाई हेर्दा तिनका नेतृत्व यथास्थितिमै रमाउने गरेको स्पष्टै देखिन्छ ।
अब प्रश्न उठ्छ– पार्टी र देशलाई विकल्प दिन नयाँ पुस्ता कति सक्षम ? कम्तीमा अब यो प्रश्नको जवाफ नखोजी मूलधार भनिएका ‘कांग्रेस–एमाले–माओवादी’ आदि दलका राष्ट्रिय महाधिवेशन नाम दिएर नेतृत्वमा पुरानै अनुहारलाई ल्याउनु भनेको ती दलहरू ‘विघटन उन्मुख’ हुनु नै हो ।
लामै विरासत बोकेको दल हुँदैमा प्रभावकारी हुने भए, न त नेपालको ‘प्रजापरिषद्’, न चीनको ‘कोमिङताङ’ नै राजनीतिक परिदृश्यबाट हराउने थिए ! आज दुवै देशमा दुवै दल इतिहासको दराजमा थन्किएका छन् ।
दुनियाँमा कहीं पनि परिवर्तन ‘रातारात’ सम्भव छैन । नेपालकै सन्दर्भमा पनि न त ‘गगन–विश्व’हरूको सामान्य परिवर्तनको जोडले कांग्रेसमा बदलाव सम्भव छ, न घनश्याम भुुुसालहरूको प्रयासले समाजवाद ।
परिवर्तनका निम्ति कांग्रेस जस्तो पार्टीको हकमा ‘गगन–विश्व’हरूले ‘सिद्धान्तको पुनर्निर्माण, पार्टी संगठनको पुनर्गठन र पार्टीभित्र आचरणमा शुद्धताको झण्डा उठाउनै पर्दछ । यो कामका निम्ति माओवादी केन्द्रसँग गठबन्धन गरेर सरकार निर्माण गरिएकै समय एमालेसँग मिलेर कोशीमा हिजो सरकार निर्माणमा देखाइएको ‘अपरिपक्वपन’ देखि आफ्नै समूहमा रहेका ‘३७ भाइ’ मध्ये जम्माजम्मी ‘१२ भाइ’ लिएर सरकार नै निर्माण गर्नेसम्मका ‘हवाई कल्पना’ गर्दै हिंड्नुहुने कांग्रेसका नेता डा. शेखर कोइरालाबाट सम्भावनै छैन ।
‘एक पटक, यसै पटक’ भनेर १४औं महाधिवेशनमै सभापतिको प्रत्यासी रहनुभएका डा. शेखरको रोजाइमा पनि अब ‘गगन–विश्व’ नै हो । किनकि नेताको मापन उसको ‘बोली’मा हुने गर्दछ । अबको राजनीति ‘न त अपरिपक्वपन’ देखाउने नेताबाट सम्भव छ, न ब्रेकफास्ट, लञ्च र डिनरमा रमाउनेबाटै राजनीति हाँक्न । राजनीति हाँक्नका लागि ‘विचार र इच्छाशक्ति’ जरूरी हुन्छ ।
दशकौंदेखि पार्टी र देशकै ‘सत्ता’मा रहेका कथित ‘स्थायी शक्ति’लाई एकाएक किनारा लगाउने विषय पनि ‘युवाका लागि’ फलामको चिउरा बन्दैछ । विधानको आफू अनुकूल व्याख्या कसरी गर्दा रहेछन् भनेर हेर्न टाढा जानै परेन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका ‘भजनमण्डली’ले देखाइदिइसकेका छन् ।
४५ वर्षदेखि एमालेकै राजनीति गरेको बताउने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको साधारण सदस्यता पाऊँ भनेर माइतीघरमा पत्रकार साक्षी राखेर अनुरोध गर्नु पर्यो । उता पार्टीको संस्थापन पक्ष भन्दैछ – विद्याजी अब नेकपा एमालेको साधारण सदस्य रहनुभएन । युवाले आफ्नो शक्ति मजबुत बनाउन सकेनन् भने त्यो नियति अन्य दलमा पनि प्रवेश नगर्ला भन्न सकिन्न । पूर्वराष्ट्रपति ‘विद्या’को जबज मार्फत जनतामा जाने घोषणा केपी शर्मा ओलीसँगकै राजनीतिक मिलेमतोमा ‘फेक वार’ गरिएको होइन भने आसन्न निर्वाचन नेकपा एमालेका लागि चुनौतीपूर्ण छ । माओवादीमा हेरौं त्यस्तै छ, जनार्दन शर्मा भन्दैछन्– पार्टीमा लोकतन्त्र होइन निरंकुशतन्त्र हावी छ ।
चुनौतीबाट बाहिर कांग्रेस पनि छैन । कांग्रेस छाडेका एक डा.ले सार्वजनिक सञ्चारमाध्यमबाटै ‘डा. शेखर पार्टी फुटाउने संख्या बोकेर बसेका छन्’ भन्ने संगीन आरोप लगाउँदा समेत शेखर कोइराला मौन रहनुलाई सामान्य मान्न र ठान्न मिल्दैन ।
सत्ता र प्रतिपक्षका हिसाकले आज देश ज–जसको हातमा छ, उनीहरूमा आएको ‘वैचारिक तथा सैद्धान्तिक’ विचलनकै कारण त्यसको असर कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकासम्म नै पर्न पुगिसकेको छ । संविधान संशोधनको ‘कलेवर’ दिएर प्रचण्ड सरकारको विस्थापन खोजे पनि स्थिति भने प्रचण्ड सरकारकै पाला वरिपरि झैं घुमिरहेको छ ।
एमाले–कांग्रेस ‘सातबुँदे’ स्पिरिटमा जान नसकेकै कारण जनतामा निराशा चुलिएकै समय सत्तारुढ दलबीच ‘भ्रष्टाचारमा पनि दलीय भागबण्डा’का समाचारले यथास्थितिमै दल तथा सरकार चल्दै जाँदा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को समेत अवसान निश्चित छ । गणतन्त्रलाई त्यो दु:खद् अवसानबाट जोगाउने एउटा प्रयत्न भनेको समाजले ‘समाज परिवर्तनको बिसौनी’ देखेको ‘गगन–विश्व’ र उनीहरूकै हाराहारीको वैचारिक पुस्ताको हातमा देश एक पटक पुग्न जरूरी छ । जसले तीव्रगतिमा ओरालो लागेको गणतन्त्रको यात्रामा ‘ब्रेक’ लगाउन सकुन् ।
मानिस चेतनशील प्राणी भएकाले ‘यथास्थिति’ प्रति उसको सर्वकालीन असन्तोष रहिनैरहन्छ । सोही असन्तुष्टिको बाछिटा स्वरुप पुरानालाई चुनौती दिने खालका नयाँ दलका उदयसँगै ‘मौसमी परिदृश्य’ पछिल्लो निर्वाचनमा देखा पर्यो ।
पुरानालाई सच्चिन बाध्य पार्नेसम्मका घटनाक्रमलाई त ठिकै मान्न सकिन्छ । तर, ‘वैचारिक स्पष्टता’ नहुँदा नहुँदै उनीहरूकै हातमा कथम् देश पुग्यो भने देश बन्ने भनेकै ‘प्रयोगशाला’ हो । सम्भावित सो समय पुराना दलले पनि टाउकोमा हात लगाउनुपूर्व आफ्ना दलका यथास्थितिवादी रैथाने नेतालाई वैधानिक फोरम ‘महाधिवेशन’बाट सम्मानजनक बिदावारी गर्न नसक्ने हो भने २०८४ मा ‘मास विस्फोट’को खतरा रहन सक्छ ।
त्यतिबेला ‘गौरवमय इतिहास’ बोकेको आफ्नो पार्टी भनेर मात्र सुख पाउने स्थिति रहन्न । त्यो सम्भावित परिदृश्य पूर्व नै पुरानै नेतृत्वहरूसँग ‘शक्तिको लेनदेन’ गरी ‘रक्षात्मक’ बन्ने स्थितिबाट टाढा रही ‘विचार र उमेर’ले युवाहरूको हातमा परम्परागत कांग्रेस लगायत दलहरू पुग्न सक्दा मात्र ‘अमूर्त विचारको उत्प्रेरणा’ रोक्न सम्भव छ । त्यसका निम्ति ‘दूर क्षितिजमा सम्भावनाका किरण’का रूपमा कांग्रेस भित्रबाट भने ‘गगन–विश्व’को उदय भएको छ । त्यो उदयलाई स्वयम् उनीहरूले कति ‘ट्याक्टफुल’ तरिकाले जोगाउँछन्, त्यसैमा ‘गगन–विश्व’ पुस्ताको राजनीतिको भविष्य निर्धारण हुनेछ ।
प्रतिक्रिया 4