+
+
Shares

दाउन्ने क्षेत्रको सडकमा ढलान

दाउन्ने क्षेत्रको कुल १३ किलोमिटर सडकमा पहिले ढलान गर्ने डिजाइन थिएन । पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने तयारी छ । अहिले पूर्वी खण्डमा ८ सय मिटर र पश्चिम खण्डमा १.३ किलोमिटर ढलान भइसकेको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८२ साउन १४ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणगढ–बुटबल सडकखण्डको दाउन्ने क्षेत्रमा १३ किलोमिटर सडकमा ढलान गर्ने काम भैरहेको छ।
  • पूर्वीखण्डमा ४ किलोमिटर सडकमध्ये ८ सय मिटर ढलान भइसकेको छ भने पश्चिमखण्डमा १.३ किलोमिटर ढलान भएको छ।
  • सडक विस्तार आयोजना भन्छ, 'दशैंसम्म दाउन्नेमा यात्रा सहज भइसक्ने' र ठेकेदारले थप १८ महिना म्याद मागेको छ।

१४ साउन, चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबल सडकखण्डमा पर्ने दाउन्ने क्षेत्रको सडकको दुरावस्थाले यात्रु र चालकहरुले निकै सास्ती पाए ।

नारायणगढ–बुटबलको ११३ किलोमिटर खण्डमध्ये अन्यत्र अधिकांश स्थानमा सडक कालोपत्रे भएर यात्रा सहज भए पनि दाउन्ने क्षेत्रमा पानी पर्नासाथ हिलो र पानी नपर्दा धुलोले सडक यात्रा निकै कष्टकर भयो । तर, अहिले भने दाउन्ने खण्डको यात्रा पनि सहज हुँदै गएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले दाउन्नेको १३ किलोमिटर सडकको कामलाई गति दिने र यात्रालाई सहज बनाउने काम भैरहेको बताए ।

सडकमा ढलान 

दाउन्ने क्षेत्रको कूल १३ किलोमिटर सडकमध्ये ९ किलोमिटर पश्चिम खण्डमा ४ किलोमिटर पूर्वीखण्डमा पर्दछ । पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने आयोजनाको तयारी छ ।

अहिलेसम्म पूर्वी खण्डको ४ किलोमिटरमध्ये ८ सय मिटर ढलान भइसकेको छ । ४ सय मिटर ढलानको तयारीमा छ । ८ सय मिटर लम्बाइमा ६.२५ किलोमिटर चौडाइमा करीव २ लेन ढलान भएको छ । अब थप १ लेन थपिने छ ।

दाउन्नेमा करिब १३ मिटर चौडाइको ढलान बनाउने सोच आयोजनाको छ । पश्चिम खण्डमा ३ किलोमिटर ढलान गर्ने भनिएकोमा १.३ किलोमिटर ढलान भएको छ ।

पश्चिम खण्डको ६ किलोमिटर कालोपत्रे गर्ने भनिएकोमा बर्दघाटबाट नारायणगढतर्फ ३.५ किलोमिटर कालोपत्रे भैसकेको छ । बाँकी भाग कालोपत्रे गर्ने तयारी छ ।

पूर्वी खण्डको ४ किलोमिटरमा २२ सय मिटर मात्रै ढलान गर्ने कि पुरै ४ किलोमिटर नै ढलान गर्ने भन्ने विषय अझै टुंगो लाग्न बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।

दाउन्नेमा पहिले ढलान गर्ने डिजाइन थिएन । तर, सडकको सबैभन्दा संवेदनशील खण्ड भएकाले ढलान गर्ने सोचमा आयोजना पुगेको हो ।

२५ प्रतिशत कममा ठेक्का हालेको चिनियाँ ठेकदार कम्पनीलाई कम हालेको रकम उपलब्ध गराउने गरी ढलान गरेर सडक मजबुद बनाउने विषयमा आयोजनाले पहल गरिरहेको सूचना अधिकारी खनालले बताए ।

पश्चिमखण्डले ३ किलोमिटर सबै ढलान गर्ने प्रस्ताव नै पेश गरिसकेको छ भने पूर्वीखण्डको पनि उस्तै प्रस्ताव छ ।

दुबै खण्डमा भित्ता काट्ने काम लगभग सकिएको छ । कल्भर्टहरु बनाउने काम अन्तिम चरणमा पुगेका छन् ।

‘भित्ता काटेको ठाउँमा रिटेनिङ वालको काम भैरहेको छ । वालको पनि ८० प्रतिशत जति काम सकिएको छ । कर्ल्भटको काम ९० प्रतिशतभन्दा बढी काम सकिएको छ,’ सूचना अधिकारी खनालले भने ।

दशैंभित्र यात्रा सहज भइसक्ने दाबी

भित्ता काट्ने र कल्भर्टको काम गर्दा पानी परेर हिलो भई सडक जाम भए पनि अहिले भने ती काम अन्तिम चरणमा पुगेसँगै सडक बन्द हुने अवस्था नरहेको खनालले बताए । उनले दशैंसम्म यात्रा सहज भइसक्ने दाबी गरे । ‘विनियीत्रिवेणी गाउँपालिकाबाट ५ सय टिपर ग्राभेलसमेत यही बीचमा हालेपछि सडक सहज भएको छ,’ खनालले भने, ‘आउने दशैंसम्म दाउन्नेमा पनि सडक धेरै सहज भइसक्ने गरी समूह–समूह बनाएर काम भैरहेको छ ।’

११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) सडक विस्तारको काम चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोडमा गर्ने गरी ठेक्का लिएको थियो ।

गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

सडकको हाल रहेको दुई लेनलाई बढाएर २९ किलोमिटर चार लेन र बजार क्षेत्रमा ७० किलोमिटर ६ लेन र दाउन्नेमा १३ किलोमिटर ३ लेन बनाउने गरी सडक विस्तार तथा स्तरोन्नति काम भैरहेको छ ।

२०७५ चैत ८ मा सुरु भएको सडक विस्तारको काम २०७९ साउन २२ गते भित्र सकिनुपर्नेमा कोभिड महामारी, रुख कटान, विद्युत पोल सार्न ढिलाइ, खानेपानीको पाइपलाइन, स्थानीयको अवरोध, मजदुरका समस्या र ठेकेदार कम्पनीकै कारणले समयमा हुन सकेन ।

२०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । यो समयमा पनि काम नसकिएपछि ठेकेदारले थप १८ महिना थप म्याद मागेको छ । तर, सडक विभागले १ वर्ष मात्रै म्याद थप गर्ने सोच बनाएको छ ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक विस्तारको काम भैरहेको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?