+
+
Shares

माधवसँग तत्काल एकता चाहन्छन् प्रचण्ड, विप्लवलाई ‘नो इन्ट्री’

प्रचण्डले पार्टी संकट समाधान र संसदमा हैसियत बढाउन समाजवादीसँग एकता गर्न चाहेको बताएका छन्। संसदमा नरहेका विप्लव नेतृत्वको नेकपासँग भने प्रचण्डले एकता गर्न रुचि देखाएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते २१:५९

१४ साउन, काठमाडौं । गत शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच लामो भलाकुसारी भयो । प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपालसँग पार्टी जतिसक्दो छिटो पार्टी एकता गर्न प्रस्ताव गरे ।

प्रचण्ड निकट एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, उक्त बैठकमा नेपाल पार्टी एकताका लागि उत्साहित भएका थिए । उनले आफू सकरात्मक भएको र पार्टीका अरू नेताहरूसँग छलफल गरेर फेरि बैठक बस्ने बताएका थिए ।

‘त्यस दिन उहाँहरूबीच निकै लामो अन्तरङ्ग कुराकानी भयो । दुवै अध्यक्षलाई आ-आफ्नो पार्टीमा परिरहेको संकट र पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा कुरा भयो’ प्रचण्ड निकट एक नेताले अनलाइनखबरलाई भने, ‘माधवजी एकताका लागि उत्साहित पनि हुनुभएको थियो । उहाँले साथीहरूसँग सल्लाह गरेर फेरि बसौंला भन्नुभएको थियो ।’

त्यसपछि प्रचण्ड र नेपालबीच आइतबार फेरि भेटवार्ता भयो । उक्त भेटमा भने अध्यक्ष नेपालले तत्काल पार्टी एकता गर्न भन्दा पनि कार्यगत एकता गरेर जान प्रस्ताव गरेका थिए । ‘अहिले माओवादीसँग एकता गर्दा भएका कार्यकर्ताहरू पनि एमालेमा फर्किन्छन् । बरू कार्यगत एकता गरौं,’ नेपालले प्रचण्डसँग भनेका थिए ।

भेटमा नेपालले समाजवादी मोर्चालाई नै बलियो बनाउन पनि अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि प्रस्ताव गरेको बताए । ‘माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ । तर हामीले ठोस रूपमा छलफल निष्कर्ष गरेका छैनौं’ ज्वालाले अनलाइनखबरसँग भने, ‘बरू समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छन् ।’

नेपालले कार्यकर्ताहरू एमालेमा फर्किने संभावना रहेका कारण तत्काल पार्टी एकता नगरौं भनेका थिए । त्यसपछि यी दुई अध्यक्षहरू समाजवादी मोर्चाको बैठक बोलाउन तयार भएका थिए । नेपालसँग दुई भेटवार्तापछि प्रचण्डले पार्टीमा आफू निकट नेताहरूलाई यसबारे ब्रिफिङ गरेका थिए ।

‘माधवजीसँग पार्टी एकता गरेर जाउँ भनेको हो । त्यसो गर्दा उहाँलाई नि सजिलो हुने थियो, तर भएका कार्यकर्ता पनि एमालेमा फर्किन्छन् भनेर मान्नुभएन’ प्रचण्डको भनाइ उद्धृत गर्दै ब्रिफिङ सुनेका ती नेताले अनलाइनखबरसँग भने, ‘माधवजीले कुरा बुझ्नुभएन । जानेहरू त अहिले पनि गइरहेकै छन् नि !’

तीन वर्षअघि पनि यी दुई पार्टीबीच एकता गर्ने तयारी भएको थियो । त्यसबेला दुवै पार्टीले एकताको प्रस्ताव तयार पार्न भन्दै कार्यदल पनि बनाएका थिए । तर त्यो कार्यदल कुनै टुंगोमा पुग्नुअघि नै निष्क्रिय बनेको थियो ।

यसपटक भने अध्यक्ष प्रचण्डले आफूले माधव नेपालसँग छलफल गर्नुअघि एकताबारे प्रयास गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई खटाएका थिए ।

समाजवादीसँग एकता गर्न चाहनुको २ कारण

माओवादी केन्द्रले पार्टी एकता गर्न चाहेका मध्ये नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल हो । समाजवादीको प्रतिनिधिसभामा अध्यक्ष नेपालबाहेक ९ जना सदस्य छन् भने राष्ट्रिय सभामा बामदेव गौतमसहित ९ जना सदस्य छन् ।

एकीकृत समाजवादीले सबै जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको छ । मधेस प्रदेशबाहेक अरू प्रदेशहरूमा अधिवेशन पनि भइसकेको छ । त्यसैले समाजवादीसँग एकता गर्दा यसको व्यापक सन्देश जाने प्रचण्डको बुझाइ छ । त्यसैले उनले समाजवादीसँग एकता गर्न जोड दिनुको पहिलो कारण संसदमा समेत आफ्नो हैसियत बढाउनु नै हो ।

दोस्रो कारण भने पार्टीभित्रको संकट समाधान नै हो । नेकपा माओवादी केन्द्रको गत पुसमा बसेको केन्द्रीय कमिटी बैठकले असारसम्म जनतासँग माओवादी विशेष अभियान चलाएर त्यसपछि पार्टीलाई महाधिवेनमा लैजाने निर्णय गरेको थियो । त्यतिबेलै असारमा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि माओवादीले गरेको थियो ।

तर, अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक पनि साउनको मध्यपछिमात्रै बोलाएका छन् । पार्टीभित्र उपमहासचिव जनार्दन शर्मा नेतृत्व रूपान्तरणको पक्षमा मुखर भएर आएका छन् । संगठनमा बलियो पकड भएका शर्माको दबाबका कारण प्रचण्डले आफूलाई संकट परेको महसुस गरेका छन् ।

पार्टीमा ठूलो समस्या आइपरे कुनै नयाँ निर्णय गरेर ‘निरन्तरतामा क्रमभंग’ गर्ने प्रचण्डको पुरानै शैली हो । त्यसैले समाजवादीसँग एकता गरेर एकता महाधिवेशन गर्ने प्रचण्डको सोच हो ।

‘एकता गरेपछि पार्टीमा एकताको सन्देश भन्दै एकता महाधिवेशन गरे पुगिहाल्यो’ स्रोतले भन्यो, ‘त्यसो हुँदा महाधिवेशन गर्ने र प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने जनार्दन शर्मा पक्षधरको मागलाई तत्कालका लागि टार्न सकिने अध्यक्षको बुझाइ छ ।’

विप्लवलाई ‘नो इन्ट्री

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चाहन्थे- पुराना माओवादी धारका पार्टीहरूबीच तत्काल एकता होस् । पार्टीले यो निर्णय पनि गरेको थियो ।

अध्यक्ष प्रचण्डले आफूलाई बरू विप्लवले सहयोग गरेको तर माओवादीकै नेताहरूबाट सहयोग नपाएको सार्वजनिक रूपमा बताउँदै पनि आएका थिए ।

सार्वजनिक खपतका लागि सार्वजनिक मञ्चबाटै प्रचण्डले मोर्चाका सहयात्रीहरूलाई पार्टी एकता गर्न प्रस्ताव गर्दै आएका छन् । केही दिनअघि पुष्पलाल श्रेष्ठ स्मृतिदिवसका कार्यक्रमहरूमा उनले पुष्पलाललाई सम्झिएर तत्काल एकता गर्न सार्वजनिक कार्यक्रमको मञ्चबाटै आग्रह गरेका हुन् ।

तर, विभिन्न कारणले प्रचण्डको मुड बदलिएको उनी निकट नेताहरू बताउँछन् ।

‘अहिले पार्टी उपमहासचिव जनार्दन शर्मा र विप्लवबीच घनिष्ठता बढेको अध्यक्षज्यूको बुझाइ छ’ प्रचण्ड निकट ती नेताले भने, ‘विप्लवजी पार्टीमा आउनुभयो भने उहाँहरू मिलेर झन अप्ठ्यारो पार्ने संभावना भएपछि विप्लवजीलाई पार्टीमा नभित्र्याउने निष्कर्षमा अध्यक्ष पुग्नुभएको हो ।’

शर्मा र विप्लवबारे प्रचण्डले अर्को पनि निष्कर्ष निकालेका छन् । स्रोत भन्छ, ‘पछिल्लो समय यी दुवै नेता प्रधानमन्त्रीसँग नजिक रहेको उहाँको बुझाइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?