News Summary
Generated by OK AI. Editorially reviewed.- २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा माओवादीले बहुमत सिट जितेर पहिलो पार्टी बनेको थियो र प्रचण्ड प्रधानमन्त्री बनेका थिए।
- नेकपामा हालसम्म १८ वटा दल र समूहहरू एकीकृत भएका छन् र आगामी निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमा परिचालित हुनेछन्।
- प्रचण्डले अबको चुनावपछि नेकपालाई सबैभन्दा ठूलो पार्टी बनाउने दाबी गरेका छन् र घरघर, टोलटोलमा जनतासँग भेटघाट गर्ने योजना बनाएका छन्।
२ माघ, काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी एक्लैले करिब-करिब बहुमत सिट जितेर पहिलो पार्टी बन्यो । संसदीय राजनीतिको पहिलो प्रहरमै पहिलो पार्टी भएपछि प्रचण्ड प्रधानमन्त्री बने, एमालेले समर्थन गर्यो ।
तर, त्यत्रो तामझामसहित बनेको प्रचण्ड सरकार ९ महिना पनि टिकेन । आगामी चुनावमा एक्लै बहुमत ल्याउने भन्दै प्रचण्डले सरकार छोडे माओवादी देशदौडाहमा लाग्यो । ०६५ देखि ०७० सालको संविधानसभा निर्वाचन हुनुअघिसम्म माओवादीमा पार्टी प्रवेशको लहर नै चल्यो ।
उक्त पार्टीले मेची-महाकाली अभियान चलायो । प्रचण्ड जहाँ पुगेपनि आमसभाहरू ‘विशाल’ भए । मधेससँग त प्रचण्डको ‘लभ’ नै पर्यो । तर ७० सालको संविधानसभा निर्वाचनमा माओवादीले मधेसमा एक सिट पनि जितेन ।
तर आमसभाहरू र पार्टी प्रवेशको लहर भने अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा जस्तै थियो ।
७० सालको निर्वाचन अघि पार्टी कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गर्ने सबैका निधार टिका लगाउन नभ्याएर अध्यक्ष प्रचण्डले टाढैबाट अबिर छर्किएर स्वागत गर्नुपरेको थियो । तर निर्वाचनको परिणाम आमसभाहरू झैं सुखद हुन सकेन ।
करिब १२ वर्षपछि पेरिसडाँडामा त्यही झल्को आउनेगरि गत मंगलबार केन्द्रीय समितिका सदस्यहरूलाई शपथ गराइयो । २४९९ केन्द्रीय समिति सदस्यहरूमध्ये काठमाडौंमा उपलब्धहरूले घञ्चमञ्च गर्दै पेरिसडाँडामै शपथ लिए । बाँकी जो जहाँ छन् त्यही भर्चुअल शपथ गरे ।

यी सबै केन्द्रीय सदस्य आगामी निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमा परिचालित हुने हो भने, एउटा निर्वाचन क्षेत्रमा करिब १६ जना भागमा पर्छन् ।
केन्द्रीय कमिटी सदस्यहरूमात्रै पार्टी कार्यालयको आँगनभरी कल्याङमल्याङ देख्दा पुरानो माओवादीको ६० प्रतिशत हिस्सेदारीमा बनेको नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल पुलकित देखिए ।
नेपालले देशैभरी भएका सभाहरू र त्यहाँ उपस्थितहरूको संख्याबारे सिलसिलेबार व्याख्या गरे । प्रचण्डले अबको चुनावपछि नेकपालाई सबैभन्दा ठूलो पार्टी बनाउने दाबी गरे ।
२० भन्दा बढी राजनीतिक दलहरू समेटिएर बनेको नेपाली कम्युनिष्ट पार्टीले नागरिकको विश्वास कति जित्न सक्यो त्यसको परिणाम आगामी २१ फागुनमा हुने निर्वाचनमा आउने नै छ ।
तर प्रचण्ड नेतृत्वको नेकपामा अहिलेसम्म जोडिएका थरिथरिका राजनीतिक दल र समूहहरूलाई समेटेर अघि बढाउन भने प्रचण्डलाई चुनौति छ ।

यद्यपी उनले नेपालका कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियान आफूले सुरू गरेको र अहिले विभिन्न पार्टीहरूसँग भइरहेको एकता त्यसैको सुरूवात भएको बताएका छन् । कात्तिक १६ गते यता नेपाली कम्युनिष्ट पार्टीमा १९ वटा राजनीतिक दल र दलहरूबाट फुटेका समूह जोडिएका छन् ।
एक्लै-एक्लै पार्टी प्रवेश गर्नेहरूको हिसाब किताब अलग छ । यसरी प्रवेश गर्नेहरूले न कुनै राजनीतिक एजेण्डामा कुरा गर्न परेको छ न कुनै वैचारिक धार मिल्न परेको छ ।
तत्कालीन माओवादीले सम्झौता गरेको भन्दै उग्रवामपन्थी राजनीतिक धार अंगाल्ने गोपाल किराँतीदेखि माओवादीले बाटो विस्तारका क्रममा काठमाडौंका घर भत्काएपछि आन्दोलन गरेर राजनीति सुरू गरेका सुमन सायमीसम्म यही पार्टीमा अटाएका छन् । किराँती राजनीतिक आवश्यकताका कारण जुट्नुपरेको बताउँछन् ।
‘पहिलो कुरा त राजनीतिक आवश्यकता नै पर्यो, दोस्रो जनयुद्धमा सँगै काम गरेका साथीहरूले जता भेटे पनि पूर्व माओवादी सँगै मिलौं भन्न थाले र तेस्रो विचारहरूमा छलफल गर्दै जाउँला भन्ने भयो,’ उनले भने । किराँतीले पार्टीमा पछिल्लो समयमा भइरहेको एकता र प्रवेशको जिम्मा भने संयोजक प्रचण्डले नै लिने किराँतीको भनाइ छ ।
‘अरूलाई उहाँहरूले कसरी मिलाउनुहुन्छ,म जान्दिन । मैले चाहिँ विचारमा छलफलग गर्ने भनेको छु,’ किराँतीले भने ।
मंगलबार उनै सुमन सायमीले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी छोडेर नेकपामा एकीकृत हुन आइपुगे । उनी नेकपामा आउनु भनेको उपत्यकामा शून्यजस्तै भएको पार्टी संगठनमा प्राण भर्नु नेकपाको अपेक्षा हुन सक्छ ।
तर, तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौंमा गरेको सडक विस्तारको जस अपसज पनि प्रचण्डले त्यागिदिए ।
सडक विस्तारका नाममा विस्थापित भएकाहरूलाई पुनर्स्थापित गर्ने उनीहरूको सहमतिपत्रको मुख्य बुँदा छन् ।
‘सडक विस्तारसम्बन्धी मुद्दामा अदालतबाट पीडित पक्षको हकमा फैसला भइसकेका स्थानहरूमा संविधानले प्रदान गरेका आवासको हकलाई सुनिश्चित गर्दै समुदायको सहमतिमा मापदण्ड परिमार्जन वा खारेज गर्ने,’ पार्टी एकताको सहमतिमा लेखिएको छ, ‘सडक विस्तारका नाममा गैरन्यायिक रूपमा विस्थापित नागरिकको उचित पुनर्वासको सुनिश्चित गर्ने..’
बहुरंगी एकता प्रक्रियाका दृष्य पनि बहुरंगी देखियो । कम्युनिष्ट नेताहरूलाई कमरेड भन्न समेत अस्वीकार गर्नेहरू समेत पार्टी एकता प्रक्रिया आए । बुधबार घोषणा गरिएअनुसार देशभक्त पार्टीका शैलेन्द्रमान बज्राचार्य पनि नेकपामा समाहित हुँदैछन् ।
तर, कम्युनिष्ट पार्टीका नेताहरूलाई उनले कमरेड भन्न पनि चाहेनन् । बरू प्रचण्डलाई उनले नेवारी भाषामा ‘पासा’ भनेरै सम्बोधन गरिदिए । ‘हामी नेवारहरूका लागि कमरेड शब्द भारी रहेछ । त्यसैले मैले प्रचण्डलाई पासा भनेर सम्बोधन गर्न चाहन्छु,’ उनले भने ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको एजेण्डा पुराना नेताहरूको प्रतिस्थापन पनि थियो । उनीहरूकै आन्दोलनपछिको माहोलले नेकपा एमालेले महाधिवेशनको मिति नै अघि सारेर नेतृत्व चयन गर्यो । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको विषय यति पेचिलो भयो कि, उक्त पार्टी फुटेर दुई टुक्रा भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रमा पनि यो विषय नउठेको होइन । फलस्वरूप प्रचण्डले आफू बाहेक अरू कसैको पनि पद समेत नरहने गरि पार्टी कमिटी भंग नै गरिदिएका थिए ।
तर, फेरि नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने भएपछि माओवादी केन्द्रका प्रभावशाली मध्येका एक जनार्दन शर्माको समूह चोइटिएर गयो । अहिलेसम्म प्रचण्डको नेतृत्वमा बनेको नेकपामा १८ पार्टी तथा समूहहरू जोडिएका छन् ।
जोडिएका अधिकांशको पकड कार्यकर्ता तहमा छैन र धेरै जनताका बीचमा परीक्षण भइसकेका छन् ।
प्रचण्ड स्वयंलाई पनि स-साना संगठन जोडेर पार्टी ठूलो बन्छ, देशैभर कार्यकर्ताको संख्या बढ्छ र आफू जहाँबाट उठे पनि चुनाव जित्छु भन्नेमा भरोसा छैन । यति धेरै दलहरू जोडिएर पार्टी बनेपनि प्रचण्डले निर्वाचन जित्नका लागि साविककै माओवादीको आधार इलाका रोज्नुपरेको छ । उनले आगामी निर्वाचनका लागि रूकुमपूर्व रोजेका छन् ।
नेकपाका संयोजक प्रचण्डलाई अब ठूला ठूला सभा गरेर भोट पाइन्छ भन्नेमा पनि भरोसा छैन । त्यसैतर्फ संकेत गर्दै प्रचण्डले भने ‘अब हामी अहिलेको जमाना अनुसार चुनाव आउँदैछ, ठूलठूला सभा गर्नेतिर भन्दा अब घरघर, टोलटोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रा संकल्पहरू हाम्रा एजेण्डाहरू उनीहरूलाई बुझाउने कुरा महत्त्वपूर्ण छ । ठूला सभा गरेर भोट धेरै आउने भन्ने जमाना धेरै पुराना भइसक्यो अब ।’
नेकपामा हालसम्म जुटेका दल र समूहहरू
१. माओवादी केन्द्र
२. एकीकृत समाजवादी
३. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल
४. राजेन्द्र श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टीको समूह
५. जनसमाजवादी पार्टी
६. नेकपा (समाजवादी)
७. नेपाल कम्युनिस्ट पार्टी,
८. नेकपा (माओवादी–समाजवादी)
९.प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (साम्यवादी)
१०. माओवादी कम्युनिस्ट केन्द्र
११. देशभक्त समाजवादी मोर्चा
१२. नेकपा बहुमत पार्टीको विद्रोही समूह
१३. नेकपा (माओवादी) को विद्रोही समूह
१४. जनजागरण पार्टी
१५. कर्णजित बुढाथोकी नेतृत्वको समूह
१६. रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी
१७. शिवलाल थापा मगर नेतृत्वमा जसपाका केही नेताहरू
१८ सुमन सायमी नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टीका एकता पक्षधर
प्रतिक्रिया 4