News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच राष्ट्रिय सभागृहमा सहमतिपत्रमा हस्ताक्षर गरी एकता भएको छ।
- सहमतिपत्रमा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र राष्ट्रिय मुक्ति पार्टीका सुमन सायमीले हस्ताक्षर गरेका छन्।
- सुमन सायमी आगामी २१ फागुनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न लागेका छन्।
३० पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी सहितका नेताहरू एकता प्रक्रियामा सामेल भएका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति पत्रमा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका सायमीले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा गैरन्यायिक रूपमा लागू गरिएका सडक तथा खोला मापदण्डका कारण भएको व्यापक विस्थापन, सहकारी क्षेत्रमा व्याप्त संगठित भ्रष्टाचार तथा त्यसबाट पीडित आम नागरिकका मौलिक अधिकार हननप्रति गम्भीर चिन्तित र सचेत रहेको उल्लेख छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, सहकारी पीडित संघर्ष समिति, पहिचान पक्षधर आन्दोलन, गुठी आन्दोलनलगायत न्याय, अधिकार र पहिचानका पक्षमा उठेका जनआन्दोलनहरूको मर्म, भावना र मागलाई आत्मसात् गर्दै यी दुई पार्टी एक भएका छन् ।

पहिचान सहितको संघीय समाजवादी गणतन्त्रलाई संस्थागत गर्ने साझा संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीको नीति, कार्यक्रम तथा कार्यदिशाप्रति सहमत हुने र यही पार्टीको नाम र चुनाव चिह्न तारा रहने गरी एकता भएको छ ।
सुमन सायमी २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । त्यसबेला १३ हजार ७७० मत पाए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए । स्वतन्त्र तथा वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रयासमा लागे ।
२०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचन पनि लडे । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठसँग पराजित भए । गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले ६ हजार १७९ मत पाएका थिए ।
पछिल्लो समयमा सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए । राष्ट्रिय मुक्ति पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए ।
आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्न खोजेका हुन् ।
५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका हुन् । उनी काठमाडौंका रैथानेमाझ चर्चित छन् ।









प्रतिक्रिया 4