+
+
Shares

रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १३:१४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई विधान विपरीत कार्य गरेको र कार्यवाहक अध्यक्ष मनोनीत गरेको कारणले पदमुक्त गरेको छ।
  • पार्टीले रञ्जितालाई बैठक बोलाउन नचाहेको, स्पष्टीकरण नदिएको र लिचिबारी जग्गामा चलखेल गरेको आरोप लगाएको छ।
  • राष्ट्रिय भेलाबाट नयाँ अध्यक्ष चयन गर्ने तयारी भइरहेको छ।

१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट पदमुक्त गर्नुका पाँच कारण रहेको जानकारी गराएको छ ।

बुधबार राष्ट्रिय भेला बोलाएर रञ्जितालाई पार्टीको सर्वोच्च पदबाट हटाइएको हो ।

नाउपाका महासचिव ठाकुरसिंह थारुका अनुसार रञ्जितालाई हटाउनुको पहिलो कारण उनले विधान विपरीत कार्य गरेका कारणले पदमुक्त गर्नु परेको हो ।

विधानले कार्यबाहक अध्यक्ष बनाउन नमिल्ने व्यक्तिलाई मनोनीत गरेको हुँदा उनलाई हटाउनु परेको दोस्रो कारण रहेको नाउपाले जानकारी गराएको छ । रञ्जिताले पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।

केन्द्रीय सदस्यहरूले पटक-पटक बैठक बोलाउन आग्रह गर्दा समेत उनले बेवास्ता गर्दै आएको तेस्रो कारण रहेको जनाइएको छ ।

‘पटक-पटक बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले आग्रह गर्‍यौं । बैठक बोलाउन चासो देखाउनुभएन,’ महासचिव थारूले भने ।

कार्यबाहक अध्यक्ष तोकेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिनका लागि दिइएको समयभित्र जवाफ नदिएको हुँदा पदमुक्त गर्नुपरेको अर्को (चौथो) कारणमा उल्लेख गरिएको छ ।

पाँचौं कारण, पोखराको लिचिबारी जग्गामा चलखेल गर्न रञ्जिता मुछिएको घटना बनाइएको छ ।

पार्टीले रञ्जितालाई हटाउनका लागि औपचारिक निर्णय गरिसके पनि नयाँ अध्यक्ष भने तोकिसकेको छैन ।

नयाँ अध्यक्षको नाम निर्वाचन आयोगमा अभिलेखीकरण गर्दा कानुनी अड्चन आउनसक्ने अवस्थाले अर्को व्यक्तिलाई अध्यक्ष बुधबार तोकिएन । बिहीबार थप छलफल गरेर निर्णय गर्ने गरी हिजोको बैठक सकिएको थियो ।

‘अध्यक्ष हटाएपछि अर्को व्यक्ति बनाउनै पर्‍यो । आज निर्णय हुन्छ,’ महासचिव थारूले भने,‘ विधिसंगत हटाउनका लागि राष्ट्रिय भेला बोलाएका हौं । केन्द्रीय समितिले मात्रै हटाएको त होइन नि?’

अध्यक्ष रञ्जितालाई पदमुक्त गर्न राष्ट्रिय भेला बोलाइएको छ । भेलामा केन्द्रीय सदस्य, प्रदेश र संघका सांसद र नाउपाबाट निर्वाचित पालिकाका प्रमुखलाई पनि बोलाइएको छ ।

बिहीबारको भेलाबाट नयाँ अध्यक्ष चयन गर्ने नाउपाले जनाएको छ । गंगाराम चौधरी, लालबीर चौधरी र रामलाल डगौरा मध्येबाट एक जना अध्यक्ष चुन्ने गरी छलफल भएको नाउपाका नेताहरुले जानकारी गराएका छन् । गंगाराम नाउपाका संसदीय दलका नेता हुन् ।

लालबीर पार्टी संरक्षक रेशम चौधरीका बुवा हुन् । डगौरा टीकापुर नगरपालिकाका मेयर हुन् । डगौराले नै राष्ट्रिय भेलाको संयोजन गरेका छन् । संरक्षक चौधरीले आफू आयोजक नभई प्रमुख अतिथिका रुपमा उपस्थित भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?