
१६ साउन, काठमाडौं । विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) को समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ ।
बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट पक्राउ परेका यो समूहको गाडीबाट खुकुरी बरामद भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यकाअनुसार एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । साथै केही थान रडहरु पनि बरामद भएका छन् ।
उक्त खुकुरी र रडहरु आफ्नो सुरक्षाका लागि राखेको पक्राउ परेकाहरुले बताएको प्रहरीको भनाइ छ ।
गाडीको लावालस्करसहित बाटो समेत अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो । त्यसपछि बिहीबार राति अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया 4