
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन विभिन्न निकायमा ध्यानाकर्षण गराएको छ।
- सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सर्वसाधारण र प्रवद्र्धकलाई छुट्टाछुट्टै आइजिन कायम गर्ने प्रस्ताव सेबोनमा लगेपछि इप्पानले अर्थमन्त्री, संसद्को अर्थ समिति, सेबोन र सीडीएससीलाई जानकारी गराएको छ।
- इप्पानका अध्यक्ष गणेश कार्कीले भने, 'अहिले संस्थापक र सर्वसाधारणको सेयर एउटै आइजिनमा हुँदा सेयर बजार चलायमान भइरहेको छ, तर छुट्टाछुटै आइजिन राख्दा पूँजीबजारको कारोबारमा नै संकुचन आई यसले सरकारको आम्दानीमा समेत ठूलो गिरावट आउने छ।'
१६ साउन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो ‘आइजिन’ नम्बर राख्ने व्यवस्था हटाउन विभिन्न निकायमा ध्यानाकर्षण गराएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कम्पनीहरूको सेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवद्र्धकलाई छुट्टाछुट्टै आइजिन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले अर्थमन्त्री, संसद्को अर्थ समिति, सेबोन र सीडीएससीको ध्यानाकर्षण गराएको हो ।
सीडीएससीको उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्योल बढेर निराशा पैदा हुने अवस्था सिर्जना भएको इप्पानको भनाइ छ ।
यो प्रस्ताव कार्यान्वय भए नेपालको पूँजीबजारमा लागु भइरहेको प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरीत काम हुने र नेपालको पूँजीबजारमा दीर्घकालीन प्रभाव पर्नेसमेत संस्थाको भनाइ छ । यसले नेपालप्रति अन्तर्राष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने इप्पानले उल्लेख गरेको छ ।
सीडीएससीको यो प्रस्तावले नेपालको एउटा कानुन हेरेर लगानी गरेको विदेशी लगानीकर्ताले आफ्नो सेयर बेचेर लगानी फिर्ता लिन नै नसक्ने अवस्था बन्ने र यसले सरकारको वैदेशिक लगानी प्रवद्र्धन नीति, पूँजीबजारको सुदृढीकरण र समग्र आर्थिक सुधार लक्ष्यप्रति नै नकारात्मक प्रभाव पार्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
‘अहिले संस्थापक र सर्वसाधारणको सेयर एउटै आइजिनमा हुँदा सेयर बजार चलायमान भइरहेको छ, तर छुट्टाछुट्टै आइजिन राख्दा पूँजीबजारको कारोबारमा नै संकुचन आई यसले सरकारको आम्दानीमा समेत ठूलो गिरावट आउने छ,’ उनले भने ।
सीडीएससीको यस्तो निर्णयले लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको ८७ अर्ब रुपैयाँ बराबरको र ऊर्जा कम्पनीको मात्र ४७ कम्पनीको ५३ अर्ब रुपैयाँ बराबरको तथा आईपीओ पाइपलाइनमा रहेका ४३ कम्पनीको ४१ अर्ब रुपैयाँ बराबरको पूँजी बन्धक हुने भई पूँजीबजारमा ठूलो प्रभाव पार्ने इप्पानले जनाएको छ ।
प्रतिक्रिया 4