
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाउन पाएनन् र सचिवालयमार्फत भोलि दर्ता प्रक्रिया अघि बढ्ने छ।
- प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा १५ साउनदेखि अस्पतालमा उपचारपछि डिस्चार्ज भएर भोलि हेटौँडा फर्किने तयारीमा छन्।
- मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेसका इन्द्रबहादुर बानियाँले नेकपा एमालेको समर्थनमा बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बन्ने दाबी पेश गर्ने तयारी गरेका छन्।
१८ साउन, हेटाैंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुखकाे कार्यालयमा राजीनामा बुझाउन पाएनन् ।
आज आइतबार साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनबाट राजीनामा घाेषणा लगत्तै लामा प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।
प्रदेश प्रमुख कार्यालय बन्द भएपछि उनले आफ्नाे सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडाैं हिँडेका हुन् । प्रदेश प्रमुख कार्यालयमा उनकाे राजीनामा पत्र सचिवालयले भाेलि साेमबार मात्रै दर्ताकाे लागि प्रक्रिया अगाडि बढाउने भएकाे छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक गाेविन्द लम्सालले मुख्यमन्त्री लामाले आज राजीनामा बुझाउन नपाएकाे र भाेलि मात्रै दर्ता हुने जानकारी दिए ।
`पत्रकार सम्मेलनबाट राजीनामा बुझाउन उहाँ प्रदेश प्रमुखकाे कार्यालय जानुभएकाे थियाे, आज बुझाउन पाइएन, अब भाेलि दर्ता हुन्छ हाेला प्रदेश प्रमुख हेटाैंडा आएर स्वीकृत गर्नुहुनेछ´, लम्सालले अनलाइनखबरसँग भने ।
बागमती सरकारमा तीन जना मन्त्रीकाे सपथकाे दिन १५ साउनमा आकस्मिक बिरामी परेका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आजै हस्पिटलबाट डिस्चार्ज भएर ललितपुरकाे भैंसेपाटीस्थित सरकारी निवासमा छन् ।
उनी भाेलि साेमबार मात्रै हेटाैंडा फर्किने तयारीमा रहेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ । देवकाेटा मुत्रप्रणालीमा समस्या देखिएपछि १५ साउनदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौंमा उपचाररत थिए ।
साेहि दिन दिउसाे १ बजे तीन जना नवनियुक्त मन्त्रीकाे सपथ ग्रहण तय भएकाे थियाे । उनी बिहान ५ बजे नै उपचारका लागि भन्दै काठमाडाैं गएका थिए ।
मुख्यमन्त्री लामाले नियुक्त गरेका गाेविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङकाे सपथ राेकिएकाे थियाे । ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारकाे नेतृत्व गरेका छन् । उनी नेपाली कांग्रेस र तामाङ समुदायबाट बागमती प्रदेशकाे मुख्यमन्त्री हुने पहिलाे व्यक्ति हुन् ।
९ साउनमा आफ्नै बहुमत सांसदले दलकाे कार्यालयमा अविश्वासकाे प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री लामा संकटमा परेका थिए । १३ साउनमा कांग्रेसका ३७ सांसदमध्ये अविश्वासकाे प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावकाे पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दलकाे नेताकाे हैसियत गुमाए ।
१४ साउनमा दलकाे नेता चयनका लागि भएकाे निर्वाचनमा बानियाँले २२, बहादुरले १४ मत ल्याएका थिए भने १ मत बदर भएकाे थियाे । दलकाे नेताबाट हटेपछि कांग्रेस सभापति शेरबहादुर देउवाकाे निर्देशनमा लामा राजीनामा दिन तयार भएका थिए ।
मुख्यमन्त्रीबाट लामाले राजीनामा दिएसँगै बागमती सरकारकाे नेतृत्वमा कांग्रेसबाटै दलकाे नेतामा भर्खरै चयन भएका इन्द्रबहादुर बानियाँले सत्ता साझेदार दल नेकपा एमालेकाे समर्थनमा मुख्यमन्त्रीकाे लागि दाबी पेश गर्ने तयारी भइरहेकाे कांग्रेस सांसद पूर्वमन्त्री मिनकृष्ण महर्जनले बताए । बानियाँ बागमती प्रदेशकाे छैठाैं मुख्यमन्त्री बन्नेछन् ।
प्रतिक्रिया 4