
१८ साउन, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र तीन कामका लागि कार्ययोजना बनाउने भएको छ । शान्ति सुरक्षा सुदृढ गर्दै लागूऔषधको कारोबार, सडक सुशासन र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाउने भएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, सीमा सुरक्षा र वर्तमान सुरक्षा चुनौतीहरूका विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले बताए ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए । चाडपर्वलाई लक्षित गरी कालोबजारी रोकथाम गर्न पनि उनले निर्देशन दिए ।
बैठकमा कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरूका साथै मोरङ, सुनसरी र झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4