+
+
Shares

मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते ९:३८
बहादुर सिंह लामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले १९ साउनमा राजीनामा दिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता हुँदैछ।
  • लामाले कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि राजीनामा दिएका थिए।
  • बहादुरसिंह लामाको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नेछन् ।

१९ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र आज प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदैछ ।

लामाले आइतबार साँझ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे पनि प्रदेश प्रमुखको कार्यालय बन्द भइसकेकाले राजीनामा पत्र बुझाउन पाएका थिएनन् । उनले आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौं हिँडेका थिए । लामाको सचिवालयका एक सदस्यले आज राजीनामा पत्र दर्ता गर्ने जानकारी दिए ।

आफ्नै पार्टी नेपाली कांग्रेसका बहुमत सांसदको अविश्वास प्रस्तावलाई असफल बनाउन नसकेपछि र संदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग हारेपछि नैतिक संकटमा परेका लामाले आइतबार राजीनामा दिएका थिए ।

राजीनामा दिनुअघि उनले तीन जना मन्त्री नियुक्त समेत गरेका थिए । मन्त्रीहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङको सपथग्रहण १५ साउनको दिन दिउँसो एक बजे तय भएको थियो । तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा सपथग्रहणको दिन बिहानै ५ बजे उपचारका लागि भन्दै काठमाडौं गएपछि सपथ ग्रहण कार्यक्रम रोकिएको थियो ।

धापासीस्थित ग्राण्डी अस्पतालमा मूत्रप्रणालीको उपचार गराएर डिस्चार्ज भएपछि देवकोटा ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा बसेका छन् । उनी आज सोमबार हेटौंडा फर्किने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।

बहादुरसिंह लामाको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नेछन् । त्यसपछि सरकारको नेतृत्व गर्नेले ५६ जना बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्नुपर्ने छ । दाबी पेश सदर भएपछि मुख्यमन्त्रीको नियुक्ती र पद तथा गोपनीयताको सपथ हुनेछ ।

१४ साउनमा कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी भएकाले उनले नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

बानियाँले सत्ता साझेदार दल नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने तयारी गरिरहेको उनी निकट एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?