
News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा ५५ करोड लागतमा सुविधा सम्पन्न एनपीआई गोरखा हस्पिटल निर्माण भएको छ।
- अस्पतालले १ भदौदेखि स्त्री रोग, नशा, बाल रोग, शल्यक्रिया लगायत विशेषज्ञ सेवा सुरु गर्नेछ।
- सेवा शुभारम्भको पहिलो दिन ओपीडी निःशुल्क र बाँकी सेवामा ५० प्रतिशत छुट दिइनेछ।
१९ साउन, गोरखा । गोरखामा ५५ करोड लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ ।
एनपीआई गोरखा हस्पिटलले १ भदौदेखि सञ्चालनमा आउने भएको छ ।
गोरखा सदरमुकाममा निर्माण भएको सुविधा सम्पन्न एनपीआई गोरखा हस्पिटलले १ भदौदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चालक समितिले यस्तो जानकारी गराएको हो ।
गण्डकी प्रदेश सरकारबाट स्वीकृति समेत प्राप्त भइसकेको सञ्चालक समिति अध्यक्ष लेखराज पन्तले बताए ।
एक सय शय्यको अस्पतालले स्त्री रोग, नशा तथा हाडजोर्नी, बाल रोग, शल्यक्रिया, रेडियोलोजिस्ट, एनेस्थेसिया, मेडिसिन (पेट, मुटु, छाती, प्रेसर, सुगर, दम र थाइरोइड) लगायत विशेषज्ञ सेवा दिने उनले जानकारी दिए ।
इन्डोस्कोपी र सिटी स्क्यान सेवा पनि अस्पतालले दिने उनको भनाइ छ ।
सेवा शुभारम्भको पहिलो दिन ओपीडी सेवा निःशुल्क रहने अस्पतालले जनाएको छ । बाँकी सेवा शुल्कमा ५० प्रतिशत छुट हुने अस्पतालका प्रबन्ध सञ्चालक पुष्पराज शर्माले बताए ।
‘दोस्रो र तेस्रो दिन ओपीडीमा ५० प्रतिशत र अरू सेवा शुल्कमा २५ प्रतिशत छुट दिन्छौ,’ उनले भने, ‘चौथो दिनबाट भने हाम्रो दररेट अनुसार शुल्क लिन्छौं ।’
सात तले उक्त भवन निर्माणको काम २०७७ सालदेखि सुरु भएको थियो । आवश्यक उपकरणसहित भवन निर्माणका लागि कुल ५४ करोड ७५ लाख खर्च भएको अस्पतालले जनाएको छ ।
गोरखासँगै तनहुँ, लमजुङ, धादिङ लगायतका स्थानीयलाई सुलभ शुल्कमा विशेषज्ञ सेवा उपलब्ध गराउने उदेश्य सहित अस्पताल सञ्चालन गर्न लागिएको शर्माको भनाइ छ ।
उनका अनुसार अस्पतालमा गोरखाका ३५ र चितवनका ५९ गरी कुल ९४ जना शेयर सदस्य छन् ।
प्रतिक्रिया 4