+
+
Shares

अधिक भारवहन नियन्त्रण कडाइ गर्न ट्रक व्यवसायी महासंघको माग

स्वदेशी तथा विदेशी ट्रकहरूले कानुनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेका छन्, जसका कारण पुल र सडक संरचना कमजोर बन्नुका साथै दुर्घटनाको जोखिम समेत उच्च बनेको महासंघको निष्कर्ष छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १६:०९

१९ साउन, काठमाडौं । सडक र पुल संरचनामा क्षति र दुर्घटना जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा नियन्त्रण कडाइसाथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।

महासंघ महासचिव राजेन्द्रविकम बानियाँ नेतृत्वको टोलीले बागमती प्रदेश राजमार्ग सुरक्षा कार्यालय रामनगर र चितवनका प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै पत्र बुझाउँदै हाल ट्रकहरूले तोकिएको भन्दा बढी भार बोकेर सञ्चालन गरिरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।

पत्रमा उल्लेख भए अनुसार स्वदेशी तथा विदेशी ट्रकहरूले कानुनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेका छन्, जसका कारण पुल र सडक संरचना कमजोर बन्नुका साथै दुर्घटनाको जोखिम समेत उच्च बनेको महासंघको निष्कर्ष छ ।

महासचिव बानियाँले रामनगरस्थित तौलपुलमार्फत नियमित चेकजाँच भइरहे पनि अधिकतम १ हजार ५ सय रुपैयाँ जरिबाना तिरेर नियोजित रूपमा ट्रक बारम्बार ओभरलोड गर्दै आएको बताउँदै यस्तो प्रवृत्ति नियन्त्रण गर्न कडाइ गर्नुपर्ने धारणा राखे ।

उनले मापदण्डभन्दा बढी भार बोकेका सवारीलाई निर्देशिका २०७४ बमोजिम अनलोड गराइ सोही ट्रकलाई यातायात कार्यालय चलान गर्ने व्यवस्था कडाइसाथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए ।

महासंघले ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्मको जरिबाना प्रभावकारी नभएको जनाएको छ । जसले गर्दा ट्रक व्यवसायी नियतवश पटक–पटक अत्यधिक भारवहन गरिरहेको महासंघको भनाइ छ ।

महासंघले केही समयअघि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई पत्राचार गर्दै यथाशीघ्र कडा नीति कार्यान्वयनको मागसमेत गरेको थियो ।

महासंघ प्रस्ताव अनुसार यदि अत्यधिक भारवहन गर्ने ट्रकबाट सामान अनिवार्य रूपमा अनलोड गराइ ट्रकलाई यातायात कार्यालय चलान गर्ने व्यवस्था लागु गरियो भने यस्ता अनियमितता नियन्त्रणमा आउने विश्वास लिइएको छ ।

चितवनमा सञ्चालित मालवाहक ट्रकहरूमा यस्ता समस्या देखिएको भन्दै महासंघले प्रदेशभित्रका सम्पूर्ण सडक मार्गमा ट्राफिक प्रहरी र प्रशासनसँग विशेष सहकार्यको अपेक्षा राखेको छ ।

यता, बागमती प्रदेश राजमार्ग सुरक्षा प्रहरी उपरीक्षक अरुण पौडेल र चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले महासंघको माग र सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै समस्या समाधानका लागि आवश्यक कदम चालिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?