+
+
Shares

राजावादी प्रदर्शन र बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईंसँग अदालतले माग्यो २८ लाख धरौटी

धरौटी बुझाएपछि अन्य मुद्दा नभए हुनेछन् थुनामुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १९:००

१९ साउन, काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।

उच्च अदालत, पाटनले आजै (सोमबार) उनलाई १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत उनलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा थिए । त्यहीबीच उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । यो आदेशको विस्तृत विवरण आइसकेको छैन ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकका रुपमा प्रदर्शनमा सहभागी थिए । उनकै योजनामा १५ चैतमा हिंसात्मक प्रदर्शन भएको प्रहरी दाबी थियो ।

प्रहरीको दाबीमा, उनले उच्छृंखल अभिव्यक्ति दिएर भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेका थिए ।

प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?