
News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरका इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्री पदमा ८ महिनासम्म मात्र सरकार चलाउने सहमति अनुसार कार्यभार सम्हालेका छन्।
- नेकपा एमाले र नेपाली कांग्रेसबीचको सहमतिअनुसार कांग्रेसले ८ महिनापछि प्रदेश सरकारको नेतृत्व एमालेलाई हस्तान्तरण गर्नेछ।
- बानियाँले ९ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् जसमा एमाले र कांग्रेसका मन्त्रीहरू समावेश छन्।
२० साउन, हेटौंडा । बागमतीको मुख्यमन्त्री बनेका मकवानपुरका इन्द्रबहादुर बानियाँले प्रदेश सरकार चलाउन ८ महिनासम्म मात्रै समय पाउनेछन् ।
एक वर्षअघि ९ साउन ०८१ मा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार गठन हुँदा नै सरकारको नेतृत्व २०-२० महिना सञ्चालन गर्ने सहमति थियो । दुई दलीय पूर्वसहमतिअनुसार कांग्रेसले अब ८ महिना मात्रै सरकार चलाउन पाउनेछ ।
गत ९ साउनमा कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका नुवाकोटका बहादुरसिंह लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गर्दै १८ साउन राजीनामा दिएका थिए । लामाले राजीनामा दिएसँगै दुई दलीय सहमतिमा टेकेर बानियाँ आज मंगलबार मुख्यमन्त्री बनेका हुन् ।
बहादुर सिंहको सरकारमा एमालेबाट नेतृत्व गरेका पूर्वकृषिमन्त्री तथा नेकपा एमालेका सांसद प्रकाश श्रेष्ठले आगामी फागुनमा बानियाँले एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने अनलाइनखबरसँग बताए । श्रेष्ठले दुई दलीय सहमतिअनुसार अबको ८ महिनापछि एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले भने आफूले सार्वजनिक रुपमा सरकारको नेतृत्व गर्ने समयावधिको बारेमा कुनै धारणा राखेका छैनन् । उनले आज मंगलबार नै ९ जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
एमालेबाट मधुसुदन पौडेल, डा.दिनेशचन्द्र देवकोटा, किरण थापा, जयराम थापा, बिन्दु श्रेष्ठ र भरत केसी तथा कांग्रेसबाट शिवराज अधिकारी र कृष्ण तामाङ मन्त्री नियुक्त भएका हुन् ।
पौडेललाई कृषि तथा पशुपन्छी विकास, देवकोटालाई भौतिक पूर्वाधार, किरणलाई स्वास्थ्य, जयरामलाई श्रम, रोजगार तथा यातायात, श्रेष्ठलाई उद्योग वाणिज्य तथा प्रशासन र केसीलाई वन तथा वातावरण मन्त्रालय तथा कांग्रेसका तामाङलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिएकोमा अधिकारीको जिम्मेवारी पछि तोकिने भएको छ ।
प्रतिक्रिया 4