+
+
Shares

पुनर्जीवित राष्ट्रिय पुस्तकालय : बन्दैछ विद्यार्थीको प्रिय गन्तव्य

जहाँ लोकसेवादेखि मेडिकल इन्ट्रान्ससम्मको तयारी गर्छन्

राष्ट्रिय पुस्तकालयको अध्ययन कक्षमा पढ्न दैनिक २०० हाराहारीमा विद्यार्थी आउँछन् । कुनै दिन त बस्ने ठाउँ नभएर पुस्तकालय प्रशासनले फर्काउनेसम्म गरेको छ । तर विद्यार्थीहरू चिसो भुईंमै बसेर भए पनि पढ्न राजी हुन्छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ साउन २१ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय पुस्तकालयको अस्थायी भवनमा दैनिक २०० विद्यार्थी लोकसेवा, शिक्षक सेवा, मेडिकल इन्ट्रान्स लगायत परीक्षाको तयारीका लागि अध्ययन गर्छन्।
  • २०७८ सालदेखि सानोठिमीमा अस्थायी प्रि-फ्याब भवनमा सञ्चालन भइरहेको पुस्तकालयको पक्की भवन निर्माणका लागि टेन्डर भइसकेको छ।
  • पुस्तकालयमा एक लाख ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिका छन् र अध्ययनका लागि कुनै शुल्क लाग्दैन।

२१ साउन, काठमाडौं । बिहानको १० बज्यो । सानोठिमीस्थित नेपाल राष्ट्रिय पुस्तकालयको ढोका खुल्यो । पुस्तकालय बाहिर लाइनमा बसेका छन्, विद्यार्थीहरू । कर्मचारीसँगै विद्यार्थी पनि लामबद्ध भएर भित्र छिरे ।

आफ्नै पाठ्यसामग्री बोकेर आएका उनीहरू विद्यालय वा क्याम्पसमा जसरी पढ्न भने आएका होइनन् । लोकसेवा, शिक्षक सेवा, मेडिकल इन्ट्रान्स, कलेजको परीक्षा लगायतको तयारी गर्न आएका हुन् । पुस्तकालय प्रमुख प्रदीप भट्टराई भन्छन्, ‘हामीसँगै आउनुहुन्छ । हामीसँगै जानुहुन्छ ।’

प्रि-फ्याबबाट बनेको पुस्तकालयको अस्थायी भवन जहाँ लाइब्रेरी, बाललाइब्रेरी, पत्रपत्रिरकाको कक्ष र अध्ययन कक्ष छ । अध्ययन कक्षमा भरिभराउ विद्यार्थी छन् । तर कसैको आवाज सुनिँदैन । उनीहरू सामूहिक अध्ययनमा मग्न छन् ।

१० बजे नै लाइन लाग्न पुग्छन् विद्यार्थी

अध्ययन कक्षमा थिए, बाराबाट पढ्नका लागि काठमाडौं आएका रामजनमप्रसाद चौधरी । हाल काठमाडौंको पेप्सीकोलामा डेरा गरेर बसेका उनी स्नातक तहको चौथो वर्ष अध्ययनरत छन् । एनसीसी कलेज बढ्ने उनी सँगसँगै लोकसेवाको तयारी पनि गरिरहेका छन् ।

लोकसेवाको तयारीका लागि रामजनम बिहान साढे १० बजे नै पेप्सीकोलाबाट सानोठिमी पुस्तकालय पुग्छन् ।

‘यहाँको वातवरण राम्रो छ । आफूसँग नभएका पुस्तकहरू पनि पढ्न पाइन्छ । कोठामा बसेर पढ्न अल्छी लाग्छ । यहाँ साथीहरूसँग नबुझेको कुरा छलफल गरेर सिक्न पाइन्छ,’ उनले पुस्तकालय आउनुको कारण सुनाए । उनी दिनभर पुस्तकालयको अध्ययन कक्षमा बसेर लोकसेवाको तयारी गर्छन् ।

जुम्लाकी श्रृष्टि हमाल हाल गठ्ठाघरमा बस्छिन् । त्रिचन्द्र कलेजमा स्नातक तहमा अध्ययनरत उनी परराष्ट्रको तयारी गरिरहेकी छिन् । तीन महिनायता दैनिक रूपमा पुस्तकालयमा बसेर पढिरहेकी श्रृष्टि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अध्ययन गर्छिन् । कोठामा बसेर पढ्दा ध्यान जान नसकेपछि पुस्तकालय जान थालेको उनी बताउँछिन् । ‘यहाँ बसेर पढ्दा राम्रोसँग बुझिन्छ । कलेजको तयारी पनि यहीँ गर्छु । लोकसेवाको तयारी पनि यहीँ गर्दैछु,’ उनले भनिन् ।

पुस्तकालयमा अध्ययनका लागि पुगेका विश्वजित महतो ।

धनुषाबाट आएका विद्यार्थी विश्वजित महतो कागेश्वरी मनोहरा नगरपालिका-९ मा बस्छन् । शाखा अधिकृतको तयारी गर्न काठमाडौं आएका उनी पुस्तकालय धाउन थालेको एक महिना भयो । उनी अध्ययन कक्षमा होइन, लाइब्रेरी कक्षमा बसेर पढिरहेका थिए । हातमा गीता पुस्तक थियो । ‘गीतामा के रहेछ भनेर पढ्न थालेको हुँ,’ उनले भने, ‘शान्त वातवरण भएकाले यहाँ आएको हुँ ।’

दैनिक २०० विद्यार्थी पुग्छन्

यी विद्यार्थी त प्रतिनिधि मात्र हुन् । राष्ट्रिय पुस्तकालयको अध्ययन कक्षमा पढ्न दैनिक २०० हाराहारीमा विद्यार्थी आउँछन् । कुनै दिन त बस्ने ठाउँ नभएर पुस्तकालय प्रशासनले फर्काउनेसम्म गरेको छ । तर विद्यार्थीहरू चिसो भुईंमै बसेर भए पनि पढ्न राजी हुन्छन् ।

अध्ययन कक्षमा विद्यार्थीहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बसेर पढ्छन् । यसरी पुस्तकालयमा बसेर पढ्नेमा दूरदराजबाट आएका विद्यार्थी पनि छन् । नेपाल राष्ट्रिय पुस्तकालयको अध्ययन कक्ष अहिले विद्यार्थीहरूको प्रिय गन्तव्य बनेको छ ।

आफ्नै पाठ्यसामग्री बोकेर आउने विद्यार्थी लोकसेवा, शिक्षक सेवा, मेडिकल इन्ट्रान्स, कलेजको परीक्षा लगायतको तयारी गरिरहेका हुन्छन् ।

पुस्तकालय युवाहरूको पढ्ने थलोमा परिणत हुँदै गएको यहाँको दृश्यले देखाउँछ । ‘पहिले डेढ सयजति विद्यार्थी मात्र आउँथे । अहिले दैनिक २०० को हाराहारीमा विद्यार्थी आउँछन् । बस्ने ठाउँ नहुँदा भुईँमासमेत बसेर पढ्छन्,’ प्रमुख भट्टराईले भने ।

आर्थिक वर्ष २०८१/०८२ मा ४० हजार विद्यार्थीले पुस्तकालय आएर अध्ययन गरेको पुस्तकालय प्रशासनले जनाएको छ । पुस्तकालय चाडपर्व सार्वजनिक बिदामा भने बन्द हुन्छ । पहिलो शनिबार पनि खुल्ने गरेको थियो । तर बजेटको अभावले भने हाल बन्द गरिएको छ ।

केही समयअघिसम्म बिहान र साँझको समयमा पनि पुस्तकालय खोल्ने गरिएको थियो । तर अचेल कार्यालय समयमा मात्र खोल्ने गरिएको छ । ‘बजेटको अभावले हो । खुलायो भने त विद्यार्थीहरू जतिबेला पनि आउँछन्,’ पुस्तकालय प्रमुख भट्टराईले भने, ‘बिहान खोल्दा ७ बजे नै विद्यार्थी लाइन बस्न आइपुग्थे ।’

पढ्ने ठाउँ खोजिरहेका छन् युवा

केही समयअघिको कुरा हो । एक विद्यार्थी पुस्तकालय प्रमुख भट्टराईको कार्यकक्षमा आएर सोधे- सर यहाँ प्याक हुन्छ हो ? ‘ती विद्यार्थी कीर्तिपुर बस्ने रहेछन् । पुस्तकालयमा पढ्ने ठाउँ मिलेमा उनी यतै डेरा सर्न खोजेका रहेछन्,’ पुस्तकालय प्रमुख भट्टराईले भने, ‘विद्यार्थीहरूले पढ्ने ठाउँ खोजिरहेका छन्  ।’

पुस्तकालय प्रमुख प्रदीप भट्टराई ।

शान्त वातवरण भएकाले विद्यार्थीको रोजाइमा पुस्तकालय परेको हो । ‘पढ्नको लागि अहिलेको पुस्ताले शान्त वातावरण खोजेको हो । घरमा बस्न अल्छी लाग्छ । अरूले पढेको देखेर पनि पढ्न मन लाग्ने रहेछ,’ भट्टराईले भने ।

तर, यी विद्यार्थीको पढाइ भने बाध्यताको हो । ‘सरकारी सेवामा नाम निकाल्न बाध्यताले पढ्न आएका हुन् । यद्यपि, पुस्तकालयमा जानुपर्छ भन्ने चेतको विकास भएको छ,’ भट्टराईले भने ।

पठन संस्कृतिको विकास

अध्ययन कक्षमा आफ्नो पुस्तक र ल्यापटप पनि लैजाने सुविधा छ । तर पुस्तकालय कक्षमा भने बाहिरको पुस्तक लैजान मिल्दैन । पुस्तकालयमा भएको किताब मात्र पढ्न मिल्छ । विद्यार्थीहरू आफैं स्वनियन्त्रणमा बसेर पढ्ने भएकाले अहिलेसम्म पुस्तक हराउने समस्या देखिएको छैन । ‘विद्यार्थीहरू स्वनियन्त्रणमा पढ्छन्। कोही हल्ला गर्दैन। सीसीटीभीबाट निगरानी पनि गरिरहेका हुन्छौं,’ उनले भने ।

अध्ययन कक्षबाट छिरेपछि अर्को कोठामा पुस्तकालयको किताबैकिताब छ । एक लाख ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकाहरू छन् । तर त्यो कोठामा भने दुई-चारजना मात्र विद्यार्थीहरू छन् ।

पुस्तकालयमा ८० हजार पुस्तकको विवरण अनलाइनमा राखिएको छ । आफूले पढ्न चाहेको पुस्तक छ/छैन हेरेर पनि पुस्तकालयमा अध्ययनको लागि जान सकिन्छ । २ हजार पुस्तक मात्र ई-लाइब्रेरीमा पढ्ने व्यवस्था मिलाइएको छ । यहाँ पढ्नका लागि कुनै पनि शुल्क लाग्दैन ।

थेसिसदेखि संस्कृतको काव्यसम्म

त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्टदेखि पुरस्कृत भएकासम्मको थेसिस पनि यो पुस्तकालयमा राखिएको छ । ‘कसैले थेसिसको अध्ययन गर्न चाहेमा त्यो पनि अध्ययन गर्न दिने गरेका छौँ,’ प्रमुख भट्टराईले भने । पुस्तकालयमा पत्रपत्रिकाको कक्ष पनि छ । जहाँ राष्ट्रिय दैनिक पत्रिकाहरू राखिएको छ । ‘पत्रिकामा कहिले के छापिएको थियो । पत्रिकाको अध्ययन गर्न चाहेमा त्यो सुविधा पनि छ,’ भट्टराईले भने । संस्कृतका महत्त्वपूर्ण पुस्तकहरू पनि यो पुस्तकालयमा छ ।

बाल पुस्तकालय : सानैदखि पठन संस्कार

वरिपरि गुडियाहरू छन् । स-साना कुर्सीहरू राखिएको छ । कलिला बालबालिकालाई आकर्षित गर्न यी सामग्री राखिएको हो । बालबालिकाले पढ्न सक्ने पुस्तक पनि राखिएको छ ।

‘विद्यालय बन्द भएको समयमा अभिभावकले आफ्ना बच्चालाई पुस्तकालयमा ल्याउनुहुन्छ,’ भट्टराईले भने, ‘सानैदेखि पढ्ने बानीको विकास गर्न बाल पुस्तकालय कक्ष बनाएका हौं ।’

यो कक्ष बालमैत्री बनाइएको छ । प्रमुख भट्टराईका अनुसार पुस्तकालयको अवलोकनका लागि विद्यालयहरूले विद्यार्थीलाई ल्याउने गरेका छन् ।

पुनर्जीवन पाएको पुस्तकालय

पुस्तकालयको बोर्डमा लेखिएको छ- नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन, हाल मुकाम- सानोठिमी । यो पुस्तकालयको आफ्नो जमिन होइन । पुरानो इतिहास बोकेको पुस्तकालयले समयसँगै काठमाडौं उपत्यका परिक्रमा गरिरहेको छ ।

यो पुस्तकालय नेपाल सरकारको केन्द्रीय स्तरको हो । हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा छ । तत्कालीन राजगुरु स्वर्गीय श्री हेमराज पाण्डेको निजी संग्रह ३ लाख भारतीय रूपैयाँमा खरिद गरेर सिंहदरबारस्थित केन्द्रीय सचिवालय पुस्तकालयमा रहेका मौजुदा पुस्तकहरू समेत मिलाएर नेपाल सरकारले २९ पुस २०१३ मा सिंहदरबार परिसरको सिक्री ढोकामा नेपाल राष्ट्रिय पुस्तकालय स्थापना गरिएको थियो ।

२०१८ सालतिर यस पुस्तकालयललाई सिंहदरबारबाट हरिहरभवनस्थित शंकर भवनको पहिलो तलाको दक्षिणी भागमा स्थानान्तरण गरियो ।

तर, १२ वैशाख २०७२ को भूकम्पले हरिहरभवन क्षतिग्रस्त भयो । भवन क्षतिग्रस्त भएपछि पुस्तकहरूलाई बोरामा राखियो ।

२०७८ सालदेखि सानोठिमीमा अस्थायी प्रि-फ्याब भवन बनाएर पुस्तकालयको स्वरूपमा ल्याइएको हो । हालको भवन पनि टिनको छानो भएको अस्थायी संरचना हो । ‘पानी चुहिन्छ । किताब जोगाउन मुस्किल पर्छ,’ प्रमुख भट्टराईले भने ।

जमलस्थित पुस्तकालयको जग्गामा पक्की भवन बनाउने योजना अगाडि बढेको छ । ‘टेन्डर भएको छ । त्यसपछि प्रक्रिया अगाडि बढेको छैन,’ भट्टराईले भने । पुस्तकालयमा हाल १५ जना कर्मचारी छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?