
२१ साउन, काठमाडौं । नेपाली बजारमा ४५ वर्षदेखि वर्चश्व कायम राख्दै आएको वाइवाइ चाउचाउले हरेक वर्ष उच्च वृद्धिदर हासिल गर्दै आएको जनाएको छ ।
उच्च वृद्धिदर कायम राख्दै गत वाइवाइले गत आर्थिक वर्ष २०८१/८२ मा १५ प्रतिशत वृद्धिदर हासिल गर्दै नेपाली चाउचाउ बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सफल भएको यसको उत्पादक कम्पनी सीजी फूड्सले जनाएको छ ।
२० रुपैयाँ मूल्य श्रेणीमा मात्र वाइवाइको हिस्सा झन्डै ७० प्रतिशत पुगेको कम्पनीको भनाइ छ । विश्वभरि वार्षिक करिब ४ अर्ब प्याकेट वाइवाइ चाउचाउ उत्पादन हुँदै आएको छ ।
सीजी फुड्सका अनुसार कम्पनीले नेपालमा मात्रै करिब १ अर्ब प्याकेट चाउचाउ उत्पादन गर्दै आएको छ । वाइवाइका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप पुडासैनीका अनुसार कम्पनीले बजारको विविधतासँगै नयाँ स्वाद र श्रेणीका उत्पादन प्रस्तुत गर्दै आएको छ ।
उनका अनुसार नयाँ पुस्ताको स्वाद र प्राथमिकता अनुसार ब्रान्डले लगातार नवीन संस्करणहरू बजार ल्याइरहेको छ । र, हालै आएको ‘वाइवाइ क्विकहट एन्ड स्पाइसी’ र ‘वाइवाइ क्विक स्पाइसी चिज’ ले समेत बजारमा युवाको मन जित्न सफल भएको छ ।
‘ग्राहकको भरोसा, हाम्रो इतिहास र गुणस्तरको निष्ठाले हामीलाई जहिले अग्रणी बनाइराख्न सहयोग गरेको छ,’ पुडासैनीले भने, ‘हामी हरेक सेग्मेन्टमा अगाडि छौं । अब स्पाइसी सेग्मेन्टमा पनि हामी नै अगाडि हुने लक्ष लिएका छौं ।’
४५ वर्षअघि उत्पादन सुरु भएको वाइवाइ हाल नेपालसँगै भारत, बंगलादेश, सर्बिया, काजकस्तान, अफ्रिका लगायतका देशमा पनि उत्पादन हुँदै आएको छ र ४० भन्दा बढी देशमा उपलब्ध छ । यसले वाइवाइलाई नेपालको पहिलो र एकमात्र विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गराएको छ ।
विशेषगरी प्रवासी नेपाली समुदायमा वाइवाइको लोकप्रियता अत्यधिक छ । ‘घरतिरको स्वाद’ भनेर चिनिने वाइवाइ नेपाली उपभोक्तामाझ मात्र होइन, विदेशी बजारमा पनि नेपाली स्वादको प्रतिनिधिका रूपमा प्रस्तुत हुँदै आएको छ ।
‘देश बाहिर गएका लाखौं नेपालीका लागि वाइवाइ केवल एक खानेकुरा होइन, त्यो घरको स्वाद हो । विदेशमा रहेका नेपालीलाई वाइवाइ घरको तृष्णा मेटाउने माध्यम समेत बनेको छ । यो हाम्रा लागि गर्वको विषय हो,’ सीईओ पुडासैनीले भने, ‘बिदाको दिनको पिकनिक होस् वा होस्टलको मध्यरातको भोक, लामो यात्रा होस् वा स्कुल जाँदाको क्षण, वाइवाइ सधैं नेपालीको साथीका रूपमा रहेको छ ।’
पकाएर, सुप बनाएर, चटपटे बनाएर, साँधेर वा काँचै पनि खाजाका रूपमा खान मिल्ने भएकाले वाइवाइ ‘सजिलो र सुपथ’ खाजाका रूपमा परिचित छ ।
कम्पनीका अनुसार वाइवाइको लोकप्रियताको सुत्र भनेकै गुणस्तरको निरन्तरता, उपभोक्ताको मनोविज्ञान बुझ्ने क्षमता र यसले बोकेको गौरवपूर्ण इतिहास हो । ‘वाइवाइ स्वाद र गुणस्तरमा उपभोक्ताको मन जित्दै ग्लोबल ब्रान्ड बनेको हो,’ पुडासैनीले थपे ।
हाल विश्व चाउचाउ बजारको करिब ४ प्रतिशत हिस्सा ओगट्दै आएको वाइवाइले सन् २०२८ सम्म भारतीय बजारमा ३५ प्रतिशत हिस्सा ओगट्ने, उच्च सम्भावना भएका थप देशमा उद्योग स्थापना गर्ने र विश्व बजारमा वार्षिक ५ अर्ब प्याकेट चाउचाउ उत्पादन तथा बिक्री गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4