
News Summary
Generated by OK AI. Editorially reviewed.- अफिसमा गफाडी सहकर्मीहरूले अनावश्यक कुराकानीमा समय बर्बाद गरी काममा बाधा पुर्याउँछन् र रोक्न शिष्टाचारले पनि कठिन हुन्छ।
- दु:खी सहकर्मीहरूले व्यक्तिगत समस्या सुनाएर नकारात्मक ऊर्जा फैलाउँछन्, जसले मनोबल र उत्पादकत्वमा असर गर्छ।
- गसिप गर्ने सहकर्मीहरूले सहकर्मी र हाकिमको बारेमा मसालेदार कुरा गरेर विश्वासको कमी र मानसिक तनाव निम्त्याउँछन्।
हरेक कार्यस्थलमा केही यस्ता सहकर्मीहरू हुन्छन्, जसले आफ्नो काममा ध्यान दिँदैनन् । त्यति मात्रै नभएर अरुको काममा पनि बाधा गरिरहेका हुन्छन् । यस्ता व्यक्तिले कार्यस्थलको उत्पादकत्वमा बाधा पुर्याउँछन् र कार्यस्थलको वातावरण खराब बनाइरहेका हुन्छन् ।
ती व्यक्तिको यस खालको हर्कतले उसले आफ्नो मात्रै नभएर सहकर्मीको पनि वृत्तिविकासमा असर पुर्याइरहेको हुन्छ । त्यस कारण कार्यस्थलमा यस्ता सहकर्मीहरूबाट बच्नु आवश्यक हुन्छ । यद्यपि, सहकर्मी छनोट गर्ने स्वतन्त्रता अफिसमा नहुन सक्छ, तर यस्ता व्यक्तिहरूसँग सुरक्षित दूरी कायम गर्न सकिन्छ ।
१.गफाडी सहकर्मी
समस्या
अफिसमा गफाडी सहकर्मीहरूले सबैभन्दा धेरै समय बर्बाद गर्छन् । यस्ता व्यक्तिहरूले आफूलाई हरेक कुराको जानकार ठान्छन् र अनावश्यक कुराकानीमा समय खर्च गर्छन्। उनीहरूको कुराकानी एकपटक सुरु भएपछि रोकिन गाह्रो हुन्छ । यदि यस्ता व्यक्ति आफूसँगै काम गर्न आइपुगे भने काममा बाधा पुग्छ र समयमै कार्य सम्पन्न गर्न कठिन हुन्छ । यस्ता सहकर्मीहरू कुराकानीमा निपुण हुने भएकाले उनीहरूलाई रोक्न शिष्टाचारले पनि बाधा गर्छ ।
समाधान
मायालु तरिकाले कुरा टार्ने : यदि गफाडी सहकर्मीले समय खेर फालिरहेका छन् भने, मायालु तर दृढतापूर्वक भन्नुपर्छ ‘मलाई यो काम सक्न अलि हतार छ, पछि कुरा गरौँला है ।’ यो भनाइले उनीहरूलाई नराम्रो नलाग्ने तर कुरा स्पष्ट हुन्छ ।
शारीरिक संकेत प्रयोग गर्ने : कुराकानीमा ध्यान नदिएर आफ्नो काममा केन्द्रित गर्नुपर्छ । हल्का असहज वा व्यस्त देखिनुपर्छ । जसले उनीहरूलाई कुरा छोट्याउन प्रेरित गर्छ।
हेडफोन प्रयोग गर्ने : यदि सम्भव छ भने, हेडफोन लगाएर काम गर्ने । यसो गर्दा त्यो सहकर्मीलाई लाग्छ कि, ‘उसले मलाई ध्यान दिइरहेको छैन अर्थात मसँग कुराकानी गर्न चाहेको छैन ।
कामको ठाउँ परिवर्तन गर्ने : यदि सम्भव छ भने ती खालका सहकर्मी भन्दा टाढै वा छुट्टै ठाउँमा बसेर काम गर्ने ।
२.दु:खी सहकर्मी
समस्या
यस्ता सहकर्मीहरू गफाडीको दु:खी संस्करण हुन् । उनीहरू कुरा गर्ने कोही मान्छे पायो कि आफ्ना व्यक्तिगत तथा पारिवारिक समस्याहरू सुनाइरहन्छन् । अफिसभरी घुमेर सबैलाई आफ्नो दु:खको कथा सुनाउँछन् ।
यस्ता व्यक्तिहरूलाई ‘म सुन्दिन’ भन्न शिष्टाचारले कठिन हुन्छ । तर उनीहरूको कुरा सुन्नमा धेरै समय बर्बाद हुन्छ । साथै, यस्ता सहकर्मीहरूले आफूमा भएको नकारात्मक सोच र नकारात्मक ऊर्जा तपाईंमा पनि सर्छ, जसले मनोबल र उत्पादकत्वमा असर गर्छ ।
समाधान
सान्त्वना छोटो राख्ने : यदि उनीहरूले आफ्नो दु:ख सुनाउन थाले भने, संक्षिप्त सान्त्वना दिने जस्तै, ‘हो, त्यो त गाह्रो नै छ, तर तिमीले यो अवश्य समाधान गर्नेछौँ।’ त्यसपछि तुरुन्तै आफ्नो काममा फर्कंने ।
कुराकानीलाई काममा मोड्ने : उनीहरूको कुरालाई कामतर्फ मोड्नुपर्छ जस्तै, ‘यो कुरा त पछि गरौँला, अहिले यो प्रोजेक्टमा तिम्रो सुझाव चाहियो ।’ यसले कुराकानीलाई रचनात्मक बनाउँछ।
नकारात्मक ऊर्जाबाट बच्ने : यस्ता व्यक्तिहरूसँग लामो समय नबिताउने । यदि उनीहरूले बारम्बार दु:ख सुनाउँछन् भने आफूलाई व्यस्त देखाउने वा अन्य सहकर्मीसँग कुराकानीमा संलग्न हुने ।
सकारात्मकताको सुझाव दिने : उनीहरूलाई सकारात्मक समाधानतर्फ प्रेरित गर्ने जस्तै, ‘यो समस्यालाई यस्तो तरिकाले समाधान गर्न सकिन्छ कि?’ यसले उनीहरूको ध्यान नकारात्मक कुराबाट हट्छ ।
३.अतिधेरै काम गर्ने सहकर्मी
समस्या
धेरै काम गर्ने सहकर्मीहरूले पनि समय बर्बाद गर्न सक्छन् । यस्ता व्यक्तिहरूले आफ्नो काम छिटो सक्छन् र त्यसपछि अरू काम गरेको ठाउँमा गएर कुराकानी गर्छन् वा अनावश्यक सल्लाह दिन्छन् । उनीहरूले आफ्नो ज्ञान बाँड्ने बहानामा साथीको ध्यान भड्काउँछन्, तर जब उनीहरू व्यस्त हुन्छन्, अरूसँग कुरा गर्न समय निकाल्दैनन् ।
समाधान
सीमा राख्ने : यस्ता सहकर्मीहरूलाई विनम्रतापूर्वक भन्ने ‘मलाई यो काम सक्न अलि समय चाहिन्छ, पछि कुरा गरौँ न।’ यो स्पष्ट सन्देश हो व्यस्त छु भन्न ।
आफ्नो प्राथमिकता कायम राख्ने : उनीहरूको सुझाव वा कुराकानीमा बहकिनुको सट्टा, आफ्नो कामको प्राथमिकतामा ध्यान दिने । छोटो जवाफ दिएर कुराकानी टार्ने ।
समय व्यवस्थापन गर्ने : यदि यस्ता सहकर्मीहरूले बारम्बार बाधा पुर्याउँछन् भने, आफ्नो कामको समय तालिका बनाउने र त्यसलाई कडाइका साथ पालना गर्ने । उदाहरणका लागि, ‘म २ बजेपछि फ्री हुन्छु, त्यतिबेला कुरा गरौँला ।’
सिधै घर जाने : आफ्नो मुख्य काम सकिएपछि अनावश्यक कुराकानीमा नअल्झिएर सिधै घर जाने । यसले समय र ऊर्जा दुवै बचाउँछ ।
४.गसिप किङ/क्विन सहकर्मी
समस्या
अफिसमा गसिप गर्ने सहकर्मीहरू हुन सक्छन् । थोरै गसिपले मनोरञ्जन प्रदान गरे पनि, पूरै समय गसिपमा बिताउने व्यक्तिहरूले समय र दिमाग दुवै बर्बाद गर्छन् । उनीहरूले सहकर्मी, हाकिम वा अन्य व्यक्तिहरूको बारेमा मसालेदार कुरा सुनाउँछन्, जसले ध्यान कामबाट हटाउँछ । साथै, यस्ता व्यक्तिहरूले तपाईंको व्यक्तिगत कुरा पनि अरूसँग बाँड्न सक्छन्, जसले विश्वासको कमी र मानसिक तनाव निम्त्याउछ ।
समाधान
गसिपमा रुचि नदेखाउने : जब उनीहरू गसिप सुरु गर्छन्, तटस्थ जवाफ दिने जस्तै, ‘हो, तर मलाई यस्ता कुरामा खासै रुचि छैन ।’ यसले उनीहरूलाई गसिप गर्न रोक्छ ।
कुराकानी परिवर्तन गर्ने : गसिपको विषयलाई काम वा अन्य रचनात्मक कुरातर्फ मोड्ने । उदाहरणका लागि, ‘यो प्रोजेक्टको बारेमा तिमीले के सोच्छौ ?’ भनेर सोध्ने जसले गर्दा उनीहरूको ध्यान अन्त मोडियोस्।
टाढा रहने : यस्ता सहकर्मीहरूसँग अनावश्यक सम्पर्क कम गर्ने । उनीहरूसँग लामो समय कुराकानी नगर्ने र समूहमा पनि उनीहरूको गसिपमा सहभागी नहुने ।
गोपनीयता जोगाउने : यस्ता व्यक्तिहरूसँग आफ्नो व्यक्तिगत कुरा सेयर नगर्ने । उनीहरूले तपाईंको कुरालाई अरूसँग मसालेदार बनाएर सुनाउन सक्छन् ।
प्रतिक्रिया 4