
२१ साउन, काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले संविधान संशोधनको विषयबारे सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बास्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भएपनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
अहिले दलहरूले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएकोप्रति सबै सचेत हुन आवश्यक रहेको बताए ।
‘यो समीकरणले केही कुराहरु उठाएको थियो । संविधान संशोधनको विषय कहाँ पुग्यो ? त्यो विषय अब अगाडि आउनुपर्छ । र हामीले आफूले आफूलाई पनि समिक्षा गर्नुपर्छ । सुधार्ने ठाउँहरूमा सुधार गर्न तयार हुनुपर्छ । सुध्रिनुपर्ने ठाउँमा सुध्रिनका लागि पनि तयार हुनुपर्छ,’ सांसद बास्कोटाले भने ।
बास्कोटाले संविधान संशोधनप्रति गरिएको प्रतिवद्धता अझै कार्यान्वयन नहुँदा सार्वजनिक रुपमा सरकारमाथि प्रश्न उठिरहेको बताए ।
‘अहिले एउटा भाष्य निर्माण गर्न खोजिँदैछ । यो व्यवस्थालाई कमजोर बनाउनको निम्ति कसैले केही गरेन भन्ने जुन भाष्य निर्माण गर्न खोजिँदैछ । यो लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने कुरा हो,’ उनले भने, ‘पंगु बनाउने कुरा हो । अरूलाई दोष थुपारेर आफू उम्किने कुरा पनि हो । लोकतान्त्रिक अभ्यासलाई अझै सुदृढ र गतिशील बनाउनुपर्छ ।’
उनले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ र गतिशील बनाउन सबै राजनीतिक शक्ति गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया 4