+
+
Shares

मदिरा तस्करी मुठभेड : सप्तरीमा ज्यानै जाने गरी प्रहरीले किन चलायो गोली ?

मुठभेडमा परेर ३ वर्षमा गयो ३ जनाको ज्यान

बिहारमा मदिराको उत्पादन, बिक्री वितरण र सेवनमा समेत रोक लगाएपछि नेपालबाट निरन्तर मदिरा छिर्ने गरेको भन्दै भारतीय पक्षले सीमावर्ती क्षेत्रमा मदिरा उत्पादन रोक्न नेपालसँग लविइङ गर्दै आएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन २१ गते २२:१४

२१ साउन, काठमाडौं । मदिरा तस्करी रोक्न भन्दै प्रहरीले चलाएको गोली लागेर मंगलबार राति सप्तरीमा एक युवाले ज्यान गुमाए । नेपाल–भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर ज्यान गयो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी जितेन्द्र बस्नेतका अनुसार भारततर्फ मदिरा तस्करी हुन लागेको सूचना पाएपछि प्रहरी पुगेको थियो । उनका अनुसार प्रहरी पुगेपछि झडप भयो । स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा लालुलाई गोली लाग्यो । अस्पताल लैजाँदै गर्दा मृत्यु भयो । प्रहरीको गोली लागेर लालुको ज्यान गएपछि स्थानीय तथा आफन्तहरू ठूलो संख्यामा बुधबार प्रदर्शनमा समेत उत्रिए ।

मदिरा तस्करीको विषयमा गोली चलाउनु परेको भन्ने प्रहरीको भनाइ मान्न मृतकका आफन्त तयार छैनन् ।

प्रहरीले अनावश्यक रुपमा गोली चलाएकाले लालुको मृत्यु भएको राजगढ–२ का वडाध्यक्ष जितेन्द्रकुमार यादवको दाबी छ । उनका अनुसार अहिले गोली चलेको भनिएको ठाउँमा सशस्त्र र प्रहरीको चौकी पनि छ । स्थानीय प्रहरीकै मिलेमतो र संरक्षणमा मदिराको उत्पादन र बिक्री वितरण हुने गरेको आरोप वडाध्यक्ष जितेन्द्रको छ ।

मंगलबार राति भने स्थानीय प्रहरीलाई समेत जानकारी नै नदिई जिल्लाको टोली उक्त ठाउँमा पुगेको थियो । स्थानीय प्रहरीलाई सुईको समेत नदिई जिल्लाबाट इन्स्पेक्टरको टोली पुग्नुले पनि स्थानीय प्रहरीको भूमिकामा शंका गर्ने ठाउँ उब्जिएको छ ।

जिल्लाबाट इन्स्पेक्टर वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जनाको टोली पुगेर मदिरा नियन्त्रण गर्न थालेपछि विवाद सुरु भएको बताइन्छ । सोही विवादको क्रममा प्रहरीले गोली चलाउँदा लालुको ज्यान गएको हो ।

सामान्य विवादकै क्रममा गोली चलाएर प्रहरीले हत्या गरेको आरोप उनको परिवारको छ । यता प्रहरीले भने आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरेको छ ।

‘मदिरा नियन्त्रणको क्रममा प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि चार राउण्ड हवाई फायर गरिएको हो । त्यसै क्रममा एक गोली तिघ्रामा लाग्दा ज्यान गएको हो,’ डीएसपी बस्नेतको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल पनि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाएको दाबी गर्छन् ।

‘मदिरा तस्करी गर्ने समूह घरेलु हातहतियारसहित आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाउँदा ज्यान गएको हो,’ दाहालले अनलाइनबरसँग भने ।

सो क्रममा दुई प्रहरी घाइते रहेको दाबी गरिए पनि उनीहरूको विवरण र घाइतेको अवस्था भने प्रहरीले केही पनि सार्वजनिक गरेको छैन ।

कम्मरभन्दा मुनिको भागमा गोली लागेर घाइते भएका यादवलाई सप्तरीस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल लगिए पनि उनको बाटामै मृत्यु भयो । घटनास्थलबाट करिब १२/१५ किलोमिटर टाढाको उक्त अस्पताल लैजादा रगत धेरै बगेर उनको मृत्यु भएको बताइएको छ ।

प्रहरीले खानतलासी गरी कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको दाबी गरेको छ । मदिरा नियन्त्रणकै प्रहरीले गोली चलाउने अवस्था आउनुमा गम्भीर सुरक्षा लापरबाही भएको आरोप छ ।

बुधबार सीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका वडाध्यक्ष जितेन्द्रकुमार भने प्रहरी ‘सिंघम’ बन्न खोज्दा युवाले ज्यान गुमाएको आरोप लगाउँछन् ।

‘जिल्लाको टोली हिरो/सिंघम बन्नु परेछ । अनावश्क गोली चलाएर मदिराको सामान्य विवादमा युवाको हत्या गरियो,’ वडाध्यक्ष जितेन्द्रले अनलाइनखबरसँग भने ।

प्रहरीको गोलीबाट लालुको ज्यान गएपछि सीडीओलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइएको छ । जहाँ इन्स्पेक्टरलाई निलम्बन गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

नेपाल प्रहरीका एक पूर्वएआईजी मदिरा तस्करी नियन्त्रणकै लागि गोली चलाउनु पर्ने र व्यक्तिको ज्यान जाने घटनामा सुरक्षा विश्लेषण गर्न प्रहरी चुकेको रुपमा बुझ्नछन् । उनी अधिकारी भन्छन्, ‘तराईका जिल्लामा मदिराको विषय नौलो होइन । यो विगतदेखि हुँदै आएको हो । तर सामान्य विवादको क्रममा प्रहरीले गोली चलाएको हो भने यसमा कमजोरी रहेको देखिन्छ ।’

मदिरा मुठभेडमा तीन वर्षमा गुमाए ३ जनाले ज्यान

सप्तरीमा मात्रै होइन, मधेश प्रदेशका सीमावर्ती जिल्लाहरूमा मदिरा तस्कर र प्रहरीबीच पटक पटक मुठभेड र झडप हुँदै आएका छन् । भारतीयसँगका सीमावर्ती जिल्लाहरूबाट मदिरा तस्करी हुने गरेको विषयमा सामान्य विवाद, झडपदेखि हवाई र ज्यानै जाने गरेका घटनाहरू हुँदै आएका छन् ।

यसअघि गत १६ मंसिरमा सप्तरीकै छिमेकी जिल्ला सिरहामा मदिरा तस्कर समूहको गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको ज्यान नै गएको थियो ।

बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट (बीओपी) बाट मदिरा तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादव ज्यान गएको थियो  ।

मदिरा लोड गरिएको स्कर्पियो गाडी रोक्न खोज्दा ठक्कर दिएपछि सई यादवको मृत्यु भएको थियो । यो घटनामा केही पक्राउ परे मुद्दा चले पनि केही व्यक्ति अझै फरार छन् ।

सशस्त्रका सई यादवको मात्रै होइन तीन वर्षअघि मदिरा तस्करकै समूहबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले समेत ज्यान गुमाएका थिए । १३ भदौ २०७९ को राति मदिरा तस्कर समूहले नेपालबाट भारतर्फत मदिरा तस्करी गर्दै थियो ।

सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कर्पियो गाडी तीव्र गतिमा जोगिया हुँदै जयनगरतर्फ जाँदै गरेको सूचना एसएसबीले पाएको थियो । भारतको मधुवती जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिराले भरिएको उक्त जीपलाई एसएसबीका हेड कन्सटेबल देवराज शर्माले रोक्न खोजेका थिए ।

तर त्यो स्कर्पियो गाडी हेड कन्सटेबल शर्मालाई किच्दै अगाडि बढ्यो । एसएसबीका कन्सटेबल शर्माले घटनास्थलमै ज्यान गुमाए । त्यतिबेला भारतीय पक्षले नेपाली सुरक्षाकर्मीकै सेटिङमा भारततर्फ घरेलु मदिरा तस्करी हुने गरेको आरोप लगाएको थियो ।

दुवै देशलाई टाउको दुखाई

सीमावर्ती जिल्लाहरूमा मदिरा र लागु औषधको विषय मुख्य चुनौतीको रुपमा देखा पर्न थालेका छन् । तराईका जिल्लाहरूबाट भारततर्फ घरेलु मदिरा तस्करी भएपछि भारतीय पक्षले यो विषयमा पटक–पटक कुराहरू पनि उठाउँदै आएका छन् ।

बीओपी कमाण्ड तथा सम्बन्धीत प्रदेशका बाहिनीपतिहरूसँगको छलफल भेटघाट र अन्तक्रियामा मदिरा तस्करीको विषय हरेक पटक एसएसबीले उठाउँदै आएको छ ।

सशस्त्र प्रहरी स्रोतका अनुसार गत वर्ष १ र २ मंसिरमा काठमाडौंमा भएको सीमा सुरक्षा बैठकमा समेत भारतीय पक्षले बोर्डर क्षेत्रका घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा रोक लगाउनुपर्ने मुद्दा उठाएको थियो ।

‘नेपालमा मदिरा उत्पादन गर्ने र भारतमा लगेर बिक्री वितरण गर्दा यसले अपराध मौलाएको भन्दै भारतीय पक्षले यो विषय हरेक वर्ष उठाउँदै आएको छ । यसपटक पनि भारतीय पक्षले यही विषय उठायो । तर कुनै निर्णय भएन,’ सशस्त्र प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

भारतको एसएसबीका महानिर्देशक अमृतमोहन प्रसाद नेपालको ९ सदस्यीय टोलीले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालका साथै गृह, परराष्ट्र र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरूसँग त्यतिबेला अन्तर्क्रिया गरेको थियो ।

बिहारमा मदिराको उत्पादन, बिक्री वितरण र सेवनमा समेत रोक लगाएपछि पछिल्लो समय नेपालका सीमावर्ती जिल्लाहरूबाट भारततर्फ मदिरा तस्करी हुँदै आएको छ । बिहारमा रोक लगाए पनि नेपालबाट निरन्तर मदिरा छिर्ने गरेको भन्दै भारतीय पक्षले सीमावर्ती क्षेत्रमा मदिरा उत्पादन रोक्न नेपालसँग लबिङ पनि गर्दै आएको छ ।

नेपालबाट भारततर्फ मदिरा तस्करी हुँदा भारतबाट नेपालतर्फ भने औषधिजन्य लागु औषधहरू निरन्तर तस्करी भइरहेका छन् । लागु औषधलाई मदिरा तस्करीसँग जोडेर प्रहरी अधिकारीहरूले विश्लेषण गर्ने गरेका छन् ।

नेपाल र भारतबीच हरेक वर्ष एसएसबीका प्रमुख र सशस्त्र प्रहरी बलका महानिरीक्षकबीच सीमा सुरक्षाबारे बैठक हुनेगर्छ । आलोपालो हुने उक्त बैठक अघिल्लो वर्ष भारतमा भएको थियो भने यसपटक काठमाडौंमा । उक्त बैठकमा भारतीय पक्षले मदिरा नियन्त्रणको विषय उठाएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?