
News Summary
Generated by OK AI. Editorially reviewed.- कपडाका मुख्य प्रकारहरू प्राकृतिक, कृत्रिम र मिश्रित छन् जसले फरक–फरक गुण र प्रयोगका आधारमा वर्गीकरण गरिन्छ।
- सुती र लिनेन कपडा पर्यावरणमैत्री, आरामदायी र टिकाउ भएकाले सामान्य प्रयोगका लागि उत्कृष्ट मानिन्छन्।
- कपडा छनोट गर्दा मौसम, प्रयोगको उद्देश्य र बजेटलाई ध्यानमा राख्नुपर्छ; गर्मीमा सुती र लिनेन, जाडोमा ऊन र एक्रिलिक उपयुक्त हुन्छन्।
कपडा हाम्रो दैनिक जीवनको हिस्सा हो, जुन विभिन्न सामग्री, बनावट र प्रयोगका आधारमा फरक–फरक प्रकारका हुन्छन् । प्राकृतिक कपडाहरू जस्तै सुती र लिनेनदेखि कृत्रिम कपडाहरू जस्तै पोलिस्टर र नाइलनसम्म, प्रत्येकको आफ्नै विशेषता र महत्व छ ।
कपडाका मुख्य प्रकारहरू, तिनका गुण र कुन अवस्थामा कुन कपडा उपयुक्त हुन्छ भन्ने बारे संक्षिप्तमा जानौँ :
कपडाका प्रकार
प्राकृतिक कपडाहरू
प्राकृतिक कपडाहरू पशु, बोटबिरुवा वा खनिजबाट प्राप्त हुन्छन् । यिनीहरू पर्यावरणमैत्री र जैविक रूपमा विघटनशील हुन्छन् ।
१.सुती
सुतीको कपडाको स्रोत कपासको बोटको फल हो । यो कपडा नरम, हावा पास हुने, हल्का र पसिना सोस्ने हुन्छ । यो छालामा आरामदायी हुन्छ । यो कपडाका कुर्ता, सारी, टिर्सट, तन्ना तौलिया आदि बजारमा पाइन्छ । यस्तो कपडा सस्तो, टिकाउ र हेरचाह गर्न सजिलो हुन्छ । तर, यस्ता कपडा सजिलै चाउरी पर्ने, रंग बिग्रने सम्भावना भने हुन्छ ।
२.रेशम
रेशम कपडाको स्रोत रेशमकीराको कोकुन हो । यो कपडाको विशेषता भनेको चम्किलो, नरम र विलासी हो, जसले हल्का र चिसो अनुभव गराउँछ । यो कपडाबाट सारी, ड्रेस, स्कार्फ र विशेष अवसरका लुगाहरू बनाइन्छ । यो कपडा देख्नमा सुन्दर र चम्किलो हुन्छ साथै छालामा आरामदायी हुन्छ । तर, यो कपडा अली महँगो, हेरचाह गर्न गाह्रो र पानीले बिग्रन सक्ने हुन्छ ।
३.ऊन
ऊनको कपडाको स्रोत भेडा, बाख्रा वा अन्य जनावरको रौँ हो । यो कपडाको विशेषताको कुरा गर्दा यो न्यानो, टिकाउ र लचिलो हुन्छ । यसको प्रयोगबाट स्वेटर, कोट, टोपी र जाडोका लुगा बनाइन्छ । ऊनको कपडा न्यानो र प्राकृतिक रूपमा पानीले हत्तपत्त नबिग्रने हुन्छ ।
४.लिनेन
लिनेन कपडाको स्रोत फ्लेक्सको बोट हो । यो कपडा हल्का, हावा पास हुने र बलियो हुन्छ । पछिल्लो समय लिनेनको प्यान्ट एकदमै ट्रेन्डमा छ । साथै लिनेनको ड्रेस र सर्ट, टिर्सट पनि फेसनमा छ । यो कपडा पर्यावरणमैत्री, शितल र टिकाउ हुन्छ । तर, यो कपडा सजिलै चाउरी पर्ने र अलि महँगो हुन्छ ।
५.जुट
जुटको कपडाको स्रोत जुटको बोट हो । यो कपडाको विशेषताको कुरा गर्दा यो बलियो, कडा र पर्यावरणमैत्री हुन्छ । यसको प्रयोगबाट विशेषगरी बोरा, झोला र सजावटका सामान तयार गरिन्छ । यो सस्तो, जैविक रूपमा विघटनशील हुन्छ ।
कृत्रिम कपडाहरू
कृत्रिम कपडाहरू रासायनिक प्रक्रियाद्वारा बनाइन्छन् । यिनीहरू प्रायः सस्ता र टिकाउ हुन्छन् ।
१.पोलिस्टर
पोलिस्टरका कपडाहरू बलियो, चाउरी नपर्ने र रङ टिक्ने हुन्छन् । यसको प्रयोग शरीरमा लगाउने कपडा, पर्दा र फर्निचरका कभर बनाउन हुन्छ । पोलिस्टर सस्तो, टिकाउ, र हेरचाह गर्न सजिलो कपडा हो । तर, यो कपडा हावा पास नहुने र छालामा असहज हुने हुन्छन् ।
२.नाइलन
नाइलनको कपडा हल्का, बलियो र लचिलो हुन्छन् । जसको प्रयोग मोजा, डोरी र खेलकुदका लुगा बनाउन प्रयोग हुन्छ । यस्ता कपडा पानी प्रतिरोधी र लामो समय टिक्ने हुन्छन् । तर, नाइलनको कपडा गर्मीमा असहज हुने, शरीर पोल्ने हुन सक्छ ।
३.रेयोन
रेयोनको कपडा रेशमजस्तो चमकिलो र नरम हुन्छ तर रेसमभन्दा सस्तो हुन्छ । यसको प्रयोगबाट विशेषगरी ड्रेस, कुर्ता र सजावटका सामाग्री तयार गरिन्छ । यो रेशमको सस्तो विकल्प हो । तर, यो टिकाउ हुँदैन र पानीले बिग्रन सक्छ ।
४.एक्रिलिक
एक्रिलिकको कपडा ऊनजस्तो नरम, हल्का र न्यानो हुन्छ । जसको प्रयोग स्वेटर, कार्पेट र जाडोको लुगा बनाउन हुन्छ । यो कपडा सस्तो हुन्छ र रङ पनि लामो समय टिक्ने हुन्छ ।
मिश्रित कपडा
मिश्रित कपडाहरू प्राकृतिक र कृत्रिम फाइबरको संयोजनबाट बन्छन् । यिनीहरूले दुवैको विशेषताहरू संयोजन गर्छन् ।
१.सुती–पोलिस्टर
सुती र पोलिस्टर मिसिएको कपडा नरम, टिकाउ र चाउरी कम पर्ने हुन्छन् । यसको प्रयोग विशेषगरी स्कूल युनिफर्म, सर्ट र प्यान्ट बनाउनमा हुन्छ । यो कपडा सस्तो, हेरचाह सजिलो हुन्छ ।
२.ऊन–एक्रिलिक
ऊन र एक्रिलिक मिसिएर बनेको कपडा न्यानो, नरम र सस्तो हुन्छ । यसको प्रयोगबाट स्वेटर र जाडोको लुगा बन्छ । यो कपडाबाट बनेको लुगा ऊनको तुलनामा सस्तो हुन्छ तर कम टिकाउ हुन्छ ।
कुन कपडा सबैभन्दा राम्रो ?
कुन कपडा सबैभन्दा राम्रो भन्ने कुरा प्रयोगको उद्देश्य, मौसम, व्यक्तिगत प्राथमिकता र बजेटमा निर्भर गर्छ । तथापि, यदि सामान्य मापदण्ड जस्तै आराम, टिकाउपन, पर्यावरणमैत्री र बहुउपयोगीतालाई आधार मान्छौं भने सुती र लिनेनलाई प्रायः उत्कृष्ट मानिन्छ ।
सुतीको कपडा किन राम्रो ?
सुतीको कपडा नरम र हावा पास हुने हुन्छ, जसले छालालाई सधैं ताजा राख्छ । यो गर्मी र हल्का जाडो दुवैमा उपयुक्त हुन्छ । राम्रो गुणस्तरको सुतीको कपडा लामो समय टिक्छ र बारम्बार धुँदा पनि बिग्रँदैन । साथै जैविक कपास पर्यावरणमैत्री र रासायनमुक्त हुन्छ ।
यो जैविक रूपमा विघटनशील पनि हुन्छ । सुतीबाट टि–सर्ट, सारी, कुर्ता, जिन्स, तन्ना र तौलिया जस्ता विभिन्न सामान बनाउन सकिन्छ । साथै कपास विश्वभर उपलब्ध छ र अन्य प्राकृतिक कपडा जस्तै रेशम वा लिनेन भन्दा सस्तो हुन्छ ।
लिनेन किन राम्रो ?
लिनेनको कपडा चिसो र आरामदायी हुन्छ । लिनेन गर्मीमा अत्यन्तै आरामदायी हुन्छ किनभने यसले हावालाई राम्रोसँग प्रवाह गर्छ । लिनेन कपास भन्दा पनि बलियो हुन्छ र लामो समय टिक्छ । फ्लेक्सको बोटलाई कम पानी र रासायनिक मल चाहिन्छ, जसले यो पर्यावरण सुहाउँदो बनाउँछ । लिनेनको प्राकृतिक चमक र बनावटले यसलाई विलासी बनाउँछ ।
किन यी दुई उत्कृष्ट ?
कपास र लिनेन दुवै छालामा कोमल हुन्छन् र एलर्जी हुने सम्भावना कम हुन्छ । यी दुवै गर्मीमा उत्कृष्ट हुन्छन्, र कपास हल्का जाडोमा पनि प्रयोग गर्न सकिन्छ । सुती सजिलै धुन र मर्मत गर्न सकिन्छ, जबकि लिनेनलाई अलि बढी हेरचाह चाहिन्छ । जैविक कपास र लिनेन दुवै पर्यावरणलाई कम हानि गर्छन्, विशेषगरी कृत्रिम कपडा जस्तै पोलिस्टरको तुलनामा ।
अन्य कपडाहरू किन कम राम्रो ?
रेशम : महँगो र हेरचाह गर्न गाह्रो ।
ऊन : जाडोमा मात्र उपयुक्त, र छाला चिलाउने समस्या हुन सक्छ ।
पोलिस्टर, नाइलन : हावा पास हुन गाह्रो र पर्यावरणलाई हानि गर्छ ।
जुट : लुगा बनाउन कम उपयुक्त, कडा हुन्छ ।
कुन कपडा कुन अवस्थामा उपयुक्त ?
गर्मीका लागि : कपास, लिनेन र रेयोन
जाडोका लागि : ऊन, एक्रिलिक र मिश्रित कपडा
विशेष अवसर : रेशम र मखमल
खेलकुद वा बाहिरी गतिविधि : नाइलन, पोलिस्टर र मिश्रित कपडा
सस्तो र टिकाउ विकल्प : कपास–पोलिस्टर मिश्रित ।
प्रतिक्रिया 4