+
+
Shares

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको आग्रह : फेरि नसर्ने गरी दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन्।
  • मुख्यमन्त्री कँडेलले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई मिति तोक्दा नसर्ने गरी तोक्न आग्रह गरेका छन्।
  • कर्णाली प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुदका अधिकांश खेलका लागि पूर्वाधार निर्माण गरेको मुख्यमन्त्री कँडेलले बताए।

२२ साउन, सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन् । साथै उनले अब प्रतियोगिताको मिति तोक्दा नसर्ने गरी तोक्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आग्रह गरेका छन् ।

दशौँ राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत पुगेका मन्त्री चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोकेर प्रतियोगिता नहुँदा नकारात्मक सन्देश प्रवाह भएको बताए । अब त्यस्तो गल्ती नदोहोर्‍याउन समेत सघीय सरकारलाई उनको आग्रह छ ।

‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध छौ । त्यही अनुसार तयारी पनि गरिरहेका छौ,’ छलफलमा बोल्दै मुख्यमन्त्री कँडेलले भने, ‘तर आयोजक तपाईंहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नु होला ।’

मुख्यमन्त्री कँडेलले मिति तोक्दा संघीय र प्रदेशको जिममेवारी सहित स्पष्ट तालिका बनाउन समेत आग्रह गरे ।

प्रतियोगिता आयोजना गर्ने नाममा यसअघि भएका कमजोरी दोहरिन नदिनेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड छ ।

‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्रीलाई उनले सुझाव दिए ।

‘केही दिन अघि तपाईँहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरी काम गर्नुस् भनेर निर्देशन दिनु भएको रहेछ, हाम्रो स्प्रिरिट पनि त्यही हो,’ मुख्यमन्त्री कँडेलले भने ।

फरक प्रसङ्गमा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्त गर्न छलफल शुरू भएको जानकारी दिए ।

रङ्गशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने समेत मुख्यमन्त्री कँडेलले प्रतिबद्धता जनाए ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक संघीय सरकारले नै निर्माण गर्ने भए पनि दशौँ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण गरेको मुख्यमन्त्री कँडेलले बताए ।

युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन उनको आग्रह छ ।

सुर्खेत आसपास हुने गरी प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको जानकारी दिए ।

छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, सामाजिकमन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?