News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटमा साउदी अरेबियामाथि १-० गोलअन्तरले जित हासिल गरेको छ।
- नेपालले ९०औं मिनेटमा शुक्रिया मियाँको गोलले निर्णायक जित निकालेकी हुन्।
- नेपालले पहिलो खेलमा भुटानसँग १-१ बराबरी खेलेको र उत्तर कोरियासँग खेल्न बाँकी छ।
२३ साउन, काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोल गर्न अन्तिमसम्म कुर्नुपर्यो । निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको पासमा गोल गरिन् ।
खेलमा साउदीले नेपालविरुद्ध केही राम्रा अवसरहरू बनाएपनि गोल भने गरेको थिएन । नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाएपनि मीना देउवाको प्रहार बारमा लागेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो ।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागिसकेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । खेल आइतबार हुनेछ ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
प्रतिक्रिया 4