
२५ साउन, बार्सिलोना । युरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू नेदरल्याण्डको आम्स्टर्डाममा भेला भई नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संयुक्त अभियान अघि बढाउने संकल्प गरेका छन्। ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’को वार्षिक अधिवेशनले आफ्नो सञ्जाल र विशेषज्ञता मातृभूमिको स्वास्थ्य प्रणालीमा प्रत्यक्ष उपयोग गर्ने योजना सार्वजनिक गरेको हो।
दुई दिने सम्मेलनमा क्लिनिकल, वैज्ञानिक र प्रविधिमूलक कार्यपत्रहरू प्रस्तुत गर्दै युरोपमा रहेका नेपाली चिकित्सकहरूले स्वास्थ्य क्षेत्रको नयाँ प्रवृत्ति, चुनौती र समाधानका उपायबारे छलफल गरे।
शनिबार उद्घाटन समारोहमा प्रमुख अतिथि युरोपेली संघ र बेनेलक्स राष्ट्रहरूका लागि नेपाली राजदूत सेवा लम्सालले संस्थाले छोटो समयमा देखाएको सक्रियता र उपलब्धिको प्रशंसा गर्दै नेपाल–युरोप स्वास्थ्य सहकार्यका लागि दूतावासको सहयोग रहने आश्वासन दिइन् ।
दुई दिने सम्मेलनमा ‘नेपलिज् हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ को अवार्ड प्रा.डा. गणेश आचार्यलाई प्रदान गरिएको छ। युरोपेली संघ र बेनेलक्स राष्ट्रहरूका लागि नेपाली राजदूत सेवा लम्साल र ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’का अध्यक्ष डा. विनय श्रेष्ठले संयुक्त रूपमा उक्त सम्मान हस्तान्तरण गरे ।
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वलाई नियमित रूपमा सम्मान गर्ने योजनाअनुसार सोसाइटीले यस वर्ष पहिलोपटक उक्त अवार्ड प्रा.डा. आचार्यलाई प्रदान गरेको हो ।
ई.सं. १९८७ मा युक्रेनबाट एमडी उपाधि हासिल गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयसहित बेलायत, अमेरिका, स्विडेन, नर्वे र चीनका विश्वविद्यालयहरूबाट चिकित्सासम्बन्धी उच्चस्तरीय अध्ययन र विविध डिग्री प्राप्त गरेका छन्। हाल उनि नर्वेको आर्कटिक विश्वविद्यालयमा प्राध्यापन र स्विडेनको कारोलिन्स्का टिचिङ अस्पतालमा सिनियर कन्सल्ट्यान्टका रूपमा कार्यरत छन् ।
सम्मान प्राप्त गर्दै डा. आचार्यले भने, ‘यस सम्मानले मेरो मेहनत र समर्पणलाई थप प्रोत्साहन दिएको छ।भविष्यमा पनि म अझै दृढताका साथ अघि बढ्नेछु र पछाडि हट्ने छैन’, उनले यो सम्मान केवल व्यक्तिगत उपलब्धि नभई युरोपमा रहेका नेपाली चिकित्सकहरूको सामूहिक प्रगतिको संकेत भएको बताए ।
नेदरल्याण्डको राजधानी आम्स्टर्डाममा सम्पन्न सम्मेलनमा विविध कार्यपत्रहरू प्रस्तुत गरिएको थियो। क्लिनिकल र वैज्ञानिक विषयमा प्रा.डा. गणेश आचार्य (स्विडेन), डा. दीपराज थापा (स्विडेन), लक्ष्मी बेलबासे (डेनमार्क) र डा. सागर धिताल (जर्मनी) ले कार्यपत्र प्रस्तुत गरे। त्यस्तै, सूचना तथा प्रविधिसम्बन्धी विषयमा शशी श्रेष्ठ र दीपक पौडेल (स्विडेन) ले प्रस्तुति दिएका थिए ।
सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठले युरोपका नेपाली चिकित्साकर्मीहरूलाई संगठित गर्दै युरोपमा रहेका नेपालीहरूको स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानात्मक कार्य अघि बढाउने योजना रहेको बताए । साथै, नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य र पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने उद्देश्य पनि सोसाइटीको रहेको उल्लेख गरे। उनका अनुसार सोसाइटीले नेपाली स्वास्थ्यकर्मीहरूको व्यक्तिगत र पेसागत विकासमा समेत सक्रिय रूपमा काम गरिरहेको छ ।
कार्यक्रममा सोसाइटीका उपाध्यक्ष डा. दीपराज थापाले स्वागत मन्तव्य दिएका थिए भने डा. सागर धितालले विगत एक वर्षमा सोसाइटीले गरेका कार्यहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी, सम्मेलनले प्रा.डा. कौशल किशोर तिवारी (इटाली) र डा. राजु श्रीवास्तव (बेल्जियम) लाई सोसाइटीको नयाँ कमिटी सदस्यका रूपमा चयन गरेको थियो ।
नेपाल स्वीस डटकमका सम्पादक हिरालाल श्रेष्ठले पुरस्कृत प्रा.डा. गणेश आचार्य र अन्य सहभागी व्यक्तित्वहरूसँग अन्तरक्रिया गरेका थिए ।
प्रतिक्रिया 4