News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघ क्यानले अष्ट्रेलियामा हुने टप एण्ड टी-२० क्रिकेट खेल्न जाने टोलीलाई बिदाइ गरेको छ।
- नेपालले लिग चरणमा ६ खेल खेल्नेछ र पहिलो खेल १५ अगस्टमा नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध हुनेछ।
- नेपालले आगामी अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा प्रतियोगिता खेल्नेछ।
२५ साउन, काठमाडाैं । अष्ट्रेलियामा यही अगष्ट १४ देखि २४ सम्म हुने टप एण्ड टी-२० क्रिकेट खेल्न जाने नेपाल क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार एक कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे ।
नेपालसहित ११ टोली सहभागी हुने यस सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।
नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ। दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’ विरुद्ध हुनेछ। तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स विरुद्ध हुनेछ भने पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स विरुद्ध हुनेछ। अन्तिम लिग खेल नेपालले २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ।
यसपटकको प्रतियोगितामा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली — होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स — साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक सहभागी छन्।
लिग चरणपछि शीर्ष ४ टोलीबीच सेमिफाइनल खेलिनेछ र त्यसपछि फाइनल हुनेछ। नेपाल फाइनलसम्म पुगेमा कुल ८ खेल खेल्नेछ। सन् २०२३ मा भएको अघिल्लो संस्करणमा जम्मा ५ टोली सहभागी थिए भने यसपटक ११ टोली पुगेका छन्।
नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।
नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी-२०आई शृंखला खेल्दैछ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहब आलम।
प्रतिक्रिया 4