+
+
Shares

माधवले अध्यक्ष छाड्नुपर्ने झलनाथको प्रस्तावले संकटतर्फ एकीकृत समाजवादी

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालमाथि मुद्दा चलेपछि एकीकृत समाजवादीभित्र विकसित अन्तरसंघर्ष गहिरिँदै जाँदा पार्टी विभाजनकै खतरा देखिएको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ साउन २५ गते २१:४७

२५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले गत शुक्रबार साँझ ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय समिति बैठक बस्ने सूचना नेताहरूलाई पठाएका थिए ।

तर भोलिपल्टै, (शनिबार साँझ) निर्णय सच्याउँदै महासचिव भूसालले बैठकहरू २० दिनपछि धकेलिएको अर्को सूचना पठाए । ‘चाडबाडका कारण बैठकहरू सार्नुपर्ने भयो, त्यसैले सूचना सच्याउनु परेको हो’, उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वाला भन्छन् ।

उक्त पार्टीकै कतिपय नेताहरूले ज्वालाको तर्कमा चित्त बुझाएको देखिँदैन ।

‘प्राविधिकभन्दा पनि बैठक सारिनुमा राजनीतिक समस्या बढी हो जस्तो लाग्छ,’ एक शीर्ष नेता भन्छन्, ‘हाम्रो पार्टीभित्र जुन तहको समस्या देखिएको छ, बैठक सारिनु कुनै ठूलो विषय होइन ।’

घटनाक्रम हेर्दा पनि बैठकहरू सर्नुमा राजनीतिक समस्या नै बढी कारण रहेको अनुमान लगाउन सकिन्छ । शनिबार मात्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच संवाद हुनु, तर कुनै ठोस निष्कर्षमा नपुग्नुले पनि पार्टी बैठकहरू पछि सार्ने विकल्प अपनाइएको पुष्टि हुन्छ ।

दोस्रो तहका नेताहरूको पहलमा शनिबार बिहान माधव र झलनाथबीच झण्डै डेढ घण्टा कुराकानी भयो । पार्टीका वरिष्ठ नेताहरू वेदुराम भुसाल र प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई साक्षी राखेर केन्द्रीय कार्यालय आलोकनगरमा भएको कुराकानी कुनै निष्कर्षमा पुगेन ।

स्रोतका अनुसार यो छलफलमा दुवै नेताले अडान लिए, सार्वजनिक भएका आफ्ना अभिव्यक्तिको प्रष्टोक्ति दिए । ‘दुवै जनाले आफ्नो आसय गलत नभएको भनेर स्पष्टीकरण दिनुभयो’ बैठक स्रोत भन्छ, ‘कुराकानी सुरु भयो भन्ने सन्देश गयो, तर निष्कर्षमा पुगिएन ।’

अर्थात् माधव र झलनाथबीच ठोस सहमति नजुटाइ बस्ने बैठकबाट एकताकै सन्देश दिन पनि नसक्ने खतरा थियो । ‘दुवै नेताले अडान लिन्थे, अरु नेताले विभाजित धारणा राख्थे’ अर्का एक नेता भन्छन्, ‘पार्टी विभाजनकै खतरा पनि हुन्थ्यो । त्यो संकट टार्न बैठक धकेलिएकै ठीक छ ।’

खनालको प्रस्तावले आक्रोश

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालबीच चलिरहेको सार्वजनिक आक्षेप सुनेका, र त्यसबाट उत्पन्न हुन सक्ने खतरा बुझेका नेताहरूले बैठक सार्ने कुरालाई ठूलो मानेका पनि देखिँदैनन् । हुनपनि केही दिन यता नेताहरू नेपाल र खनालले एकअर्कालाई पार्टी छोडेर जान सार्वजनिक सुझाव दिइरहेका छन् ।

सार्वजनिक आक्षेपको थालनी भने खनालले टेलिभिजन अन्तर्वार्ता मार्फत् पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकिएको तर्क गरेयता सुरू भएको थियो । एमालेबाट अलग भएको चार वर्ष पुग्दा समेत विद्रोहको पुष्टि गर्न नसकिएको अभिव्यक्ति खनालले दिएपछि नेपालले चर्को प्रतिक्रिया जनाएका थिए ।

खनाललाई ‘पार्टीबाट विदा गर्नुपर्ने’ नेपालले बताएका थिए । यसको जवाफमा खनालले पतञ्जली जग्गा मुद्दा खेपिरहेका र विद्रोहको पुष्टि गर्न नसकेकाले माधवलाई पार्टी छोड्न सुझाव दिए ।

स्रोतका अनुसार सार्वजनिक रुपमा दुई नेता बीच चलिरहेको आरोप–प्रत्यारोपको जग भने झलनाथ खनालले बसालेका हुन् । असार तेस्रो साता बसेको सचिवालय बैठकमा खनालले फरक प्रस्ताव राखेका छन् । पतञ्जली जग्गा मुद्दामा विशेष अदालतले ३५ लाख धरौटी लिएको र तारेख धाइरहेका माधव नेपाल केन्द्रीत प्रस्ताव खनालले राखेका छन् ।

‘झलनाथ खनालको प्रस्ताव सार्वजनिक नगर्ने सहमति थियो’ एक पदाधिकारी भन्छन्, ‘तर अब उहाँको प्रस्तावमा के छ भन्ने विषय रहस्यमा रहेन, छरपस्ट भइसक्यो ।’ उनका अनुसार झलनाथको प्रस्तावमा माधव नेपाललाई नेतृत्व छोड्ने विकल्प उल्लेख छ । ‘माधव नेपालले खेपिरहेको मुद्दा व्यक्तिगत भएकाले उहाँले नेतृत्व अरू कसैलाई छोडेर अदालतबाट सफाइ पाउनेतिर लाग्नु राम्रो हुने प्रस्तावमा छ’, उनी भन्छन् ।

माधव नेपाललाई नेतृत्व छोड्ने विकल्प दिएर झलनाथ खनाल चीन भ्रमणमा गए । उनी स्वदेश नफर्कंदासम्म पार्टीको सार्वजनिक क्रिया–प्रतिक्रिया लगभग शान्त थियो । यद्यपि आफूले नेतृत्व छोड्नुपर्ने प्रस्तावबाट नेपाल आक्रोशित थिए ।

‘रामकुमारी झाँक्रीले अपवादमा नेतृत्व परिवर्तनको एजेण्डा उठाउनु भएको थियो । तर नेतृत्व परिवर्तनको एजेण्डा सँगसँगै प्रयोग भएको शब्दकै कारण स्पष्टीकरण सोध्ने र पार्टीबाट निस्कासन गर्नेसम्मको संकेत गरियो’ खनाल निकट एक नेता भन्छन्, ‘रामकुमारीलाई झस्काएपछि अरु चुपचाप रहने अनुमान माधव नेपालले गर्नुभएको थियो । तर झलनाथ कमरेडले त्यसो हुन दिनु भएन ।’

पार्टी बैठकमा राखेको फरक प्रस्तावका अन्तर्वस्तुबारे नबोले पनि चीन भ्रमणबाट फर्के लगत्तै खनालले नेतृत्वप्रति चर्को असुन्तष्टि जनाएर अन्तर्वार्ता दिए । अन्तर्वार्ताको जवाफमा माधव नेपालको प्रतिक्रिया अनि दुई नेताबीच चलेको सवाल–जवाफले गोप्य राख्ने भनिएका केही पनि विषय लुकेन ।

माधव निकट नेता मेटमणि चौधरी, झलनाथ खनालको प्रस्तावलाई अराजक र अराजनीतिक भएको टिप्पणी गर्छन् । ‘साथीहरूमाथि अप्ठ्यारो परेका बेलामा मल्हम लगाउने हो कि नुनचुक लगाउने हो ? झलनाथ खनालको कुरै मिलेन’ उनी भन्छन्, ‘अहिले नेतृत्व परिवर्तनको कल्पना पनि गर्न सकिदैन । मुख्य नेतालाई संकटमा परेका बेला सामुहिक प्रतिवादमा उत्रनेतिर लाग्नुपर्छ ।’

खनाल निकट नेताहरू भने नेतृत्व छोड्नु माधव नेपालकै हितमा रहेको तर्क गरिरहेका छन् । ‘माधव नेपालको समाजमा जस्तो मानक बनेको छ, त्यो मानकलाई गम्भीरतापूर्वक लिएर उहाँको व्यक्तिगत जीवनमा थप उचाइ र आन्दोलनलाई थप उर्जा दिन पनि उहाँले गर्ने निर्णय महत्त्वपूर्ण हुन्छ’, खनाल निकट नेता लक्ष्मण लम्साल भन्छन् ।

विभाजनकै डर

माधव नेपालमाथि जग्गा मुद्दा लागेपछि विकसित घटनाक्रमले एकीकृत समाजवादी जस्तो संकटतिर धकेलिदै गएको छ, त्यो विभाजनसम्मै पुग्ने खतरा पनि नेताहरूले देखेका छन् ।

‘माधव नेपाल कुनै हालतमा नेतृत्व छोड्ने पक्षमा छैनन्, झलनाथ खनाल कुनै हालतमा माधवलाई हटाउने अडानमा छन्’ एक शीर्ष नेता भन्छन्, ‘कुनै एक नेताले एउटा अडान नछोड्ने हो भने एकता जोगाउन मुस्किल देखिन्छ ।’ यद्यपि खनालले केन्द्रीय कमिटी बैठकबाट निकास निस्कने बताइरहेका छन् । तर माधवले अध्यक्ष पद छोडे निकास आउने पनि खनालले भन्न छुटाएका छैनन् ।

तसर्थ एकीकृत समाजवादीभित्र नेतृत्वको मतभेद सजिलै समाधान हुने छाँटकाट देखिँदैन । पार्टीकै कतिपय नेताहरूले भने दुवैले छोडेर तेस्रो व्यक्तिलाई नेतृत्व जिम्मा लगाउन सुझाव दिइरहेका छन् ।

अध्यक्ष नेपाल र उनी निकट नेताहरू कुनै हालतमा नेतृत्व परिवर्तन सम्भव नहुने बताइरहेका छन् । ‘माधव नेपाललाई झाँको झार्ने र नेतृत्वबाट हटाएर आफू त्यहाँ जाने सपना देखिँदैछ’ उपमहासचिव चौधरी भन्छन्, ‘हामीले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइयो भनिसक्यौं, अब माधव कमरेडले नेतृत्व छोड्दा केपी ओलीको चाहना पुरा हुने भयो, त्यस्तो गर्न सकिँदैन ।’

स्रोतका अनुसार नेतृत्व छोड्नुपर्छ भन्ने अभिव्यक्ति दिनेहरूलाई माधव नेपाल आफैले व्यक्तिगत रुपमा सम्झाइरहेका छन् । ‘कसैले फेसबुकमा लेख्यो भने पनि माधव नेपालले सम्झाउने, फकाउने काम गरिरहनु भएको छ’ स्रोत भन्छ, ‘यो भनेको अध्यक्ष कुनै हालतमा नछोड्ने नै हो ।’

अर्कातिर झलनाथ खनाल पार्टीभित्रै समानान्तर गतिविधि सहित माधवलाई नेतृत्वबाट हटाउने अडानमा छन् । पार्टीका हरेकजसो कमिटीमा उनी पक्षीय नेताहरूले माधव नेपालको विरोध गरिरहेका छन् ।

युवा र विद्यार्थीमा त समानान्तर अभ्यास नै चलिरहेको छ । गत माघमा अपानि जारी गरेर माधव नेपालले युवा संघको अध्यक्षबाट कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूको अध्यक्षबाट आरती लामालाई हटाएपछि समानान्तर कमिटी अभ्यासमा छन् ।

नयाँ विद्यार्थी इन्चार्ज बनेकी रामकुमारी झाँक्रीले महेश श्रेष्ठको संयोजत्वमा अनेरास्ववियूको कमिटी घोषणा गरेकी छन् । तर त्यो कमिटीलाई चुनौती दिँदै नरेश न्यौपानेको नेतृत्वमा अनेरास्ववियूको समानान्तर कमिटी बनेको छ ।

लक्ष्मण केसी इन्चार्ज रहेको युवा संघ पनि विवादबीच चलिरहेको छ । भदौमा महाधिवेशन गर्नेगरी रोशन थापा संयोजक तथा सन्जीप राई र धर्म शाही सह–संयोजक रहेको आयोजक कमिटी घोषणा गरिएको थियो । तर ५ जना पूर्वपदाधिकारी नराखी कार्यदल घोषणा गरिएको भन्दै समानान्तर गतिविधि चल्दै आएको छ ।

समानान्तर गतिविधिको नेतृत्व सन्जीव राईले गरिरहेका छन् । नेताहरूका अनुसार समानान्तर गतिविधि जिल्ला र पालिका तहसम्मै पुगिसकेको छ । र, युवा–विद्यार्थीको समानान्तर गतिविधिलाई झलनाथ खनालले साथ दिँदै आएका छन् ।

अपानि मार्फत हटाइएको युवा संघका अध्यक्ष विश्वकर्मा र अनेरास्ववियूका अध्यक्ष लामा खनालका निकट थिए । आफू पक्षका नेतृत्वलाई हटाएर नयाँ संरचना बनाउने निर्णयप्रति खनालले खुलेरै आपत्तिसहित समानान्तर गतिविधि गर्ने नेताहरूलाई साथ दिँदै आएका छन् । अरू जनसंगठनहरूमा पनि प्रष्ट दुई गुट रहेको नेताहरू बताउँछन् ।

पार्टीका कमिटीहरूमा पनि झलनाथ खनाल समूह सक्रिय छन् । अर्थात् माधव नेपाललाई पेलेर अगाडि बढ्न पनि सजिलो देखिँदैन ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?