
२७ साउन, काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा स्वाभाविक भएको बताएका छन् ।
मंगलबार संघीय संसद भवन परिसर नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले संसदीय छानबिन समितिले सभापतिलाई राजनीतिक र नैतिक जिम्मेवारीमा उभ्याउनुपर्ने निष्कर्ष निकालेको कारण खतिवडाको राजीनामा स्वाभाविक भएको बताए ।
‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा स्वाभाविक हो । समिति सचिवको सन्दर्भमा उक्त समितिबाट अन्यत्र सरुवा गर्ने कुरा नै होला’ उनले भने, ‘सोही समितिमा बसेर कार्यसम्पादन गर्ने र निरन्तरता दिने कुरा नहोला । यो एउटा विधायिकी कामका सन्दर्भमा शिक्षा लिने कुरा पनि हो जस्तो लाग्छ मलाई ।’
कानून निर्माण भएको त्रुटिका आधारमा राजीनामा दिने कुरालाई अन्यथा लिन नहुने उनको तर्क छ ।
प्रमुख सचेतक बर्तौलाले समिति सचिवले समेत अब सोही समितिमा बसेर काम गर्न नसक्ने बताए । कानून निर्माण प्रक्रियाबारे कर्मचारीहरुमा ज्ञानको कमि भएको कारण समय समयमा प्रश्न उठ्ने गरेको पनि बताए ।
‘कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो हो । तर विधायिकी काम गर्नको लागि विज्ञसहितको कानून महाशाखा नै छैन । कानून मन्त्रालयबाट आएका काजका कर्मचारी मात्र रहनुभएको छ । कानून निर्माणमा उहाँहरूको भूमिका छैन’ उनले भने, ‘संसदीय समितिमा कार्यरत कर्मचारीहरुमा पनि विधेयक लेखनको अनुभव छैन । ज्ञान छैन । त्यसैले आगामी दिनमा विधायिकी काम कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्नुपर्छ ।’
कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीबाट शिक्षा लिएर आगामी दिनमा कानून निर्माण गर्दा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4