News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं स्पाइकर्सले मुम्बई बस्ने नेपाली मोडल अदिती बुढाथोकीलाई वात्सल्य एभरेष्ट महिला भलिबल लिगको गुडविल एम्बासडर नियुक्त गरेको छ।
- अदितीले इडब्लुभी लिग नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता भएको बताइन् र काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा खुशी लागेको भनिन्।
- काठमाडौं स्पाइकर्सले दोस्रो संस्करणका लागि लोक बहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ र भदौ २० देखि २८ गतेसम्म लिग आयोजना हुनेछ।
२९ साउन, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बेस्ड चर्चित नेपाली मोडल, नायिका तथा इन्फ्लुएन्सर अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।
काठमाडौं स्पाइकर्सले बिहीबार अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो ।
सानै देखि खेलकुदमा रुची राख्ने अदितीले बास्केटबल, टेबलटेनिस र स्विमिङ जस्ता खेलमा धेरै रुची छ । नेपालको राष्ट्रिय खेल भलिबल, त्यसमा पनि महिला लिगको फ्रेन्चाइज टिममा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु ।’ अदितीले भनिन् ।
‘जीवनमा केही कुरा यस्ता हुन्छन् जसको अनुभूति तपाईंको मनको गहिराइमा हुन्छ । ईडब्लुभी लिगको दोस्रो संस्करणमा काठमाडौं स्पाइकरको ब्रान्ड एम्बासडर हुनु मेरो लागि त्यस्तै कुरा हो,’ अदितीले भनिन्, ‘हरेकपटक जब म यी एथलीटहरूलाई कोर्टमा प्रवेश गर्न देख्छु, म गर्वको एक अद्भुत लहर महसुस गर्छु । उनीहरूले खेल खेल्दा नयाँ पुस्ताका बालिकाहरूलाई बलियो हुनु, निडर हुनु र आफ्नो सपनालाई सम्पूर्ण समर्पणका साथ पछ्याउनु भन्ने कुरा देखाइरहेका हुन्छन् ।’ लिगको वास्तविक उद्देश्य यही भएको उनले बताईन् ।
अदितीले भर्खरै केही समयअघि लण्डनमा भएको वर्ल्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल प्रिजेन्टरको भूमिकामा काम समेत गरेकी थिइन् । जहाँ उनले विश्वकै दिग्गज क्रिकेटहरुसँग अन्तर्वार्ता गर्ने र सामाजिक सञ्जालका लागि कन्टेन्टहरु उत्पादन गर्ने काम गरेकी थिइन् ।
अदितीले एभरेष्ट महिला भलिबल लिग नेपाली महिला भलिबल खेलाडीको विकास र नेपाली भलिबल विकासकै लागि कोशेढुंगा हुने बताइन् ।
भारतको चलचित्र नगरीको रुपमा परिचित मुम्बईमा बसेर आफ्नो काम अघि बढाइरहेकी अदितीले नेपालमा आएर चलचित्र समेत खेलेकी थिइन् । उनले सन् २०१८ मा कृ र २०२३ मा बाबरी फिल्ममा अभिनय गरेकी थिइन् । यस्तै उनको अभिनय रहेको देवयोल अम्याजन प्राइम सिरिज लन्च हुने क्रममा छ ।
यस बाहेक अदितीले विभिन्न म्युजिक भिडियो देखि एडहरुमा समेत काम गरिसकेकी हुन् । उनले भारतीय म्युजिक भिडियोहरु ‘तु मेरा नही’, ‘इमान तु’, ‘माहिया तुयादा कर’, ‘इन्नी सी गल’, ‘परन्दा’, ‘हावा बन्के’ लगायतमा अभिनय गरेकी छन् ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
यस्तै काठमाडौं दुई विदेशी खेलाडी बुल्गेरियन सेटर कोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ । दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) हुनेछ ।
प्रतिक्रिया 4