
News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशले सवारी साधनको कर नबुझाउनेलाई कुल जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ।
- यो छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए।
- लुम्बिनी प्रदेशमा कर नबुझाएका ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरेका छन्।
१ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा समय सीमाभित्र कर नबुझाएका सवारी धनीलाई जरिबानामा ७५ प्रतिशत छुट दिने निर्णय भएको छ ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले सवारीसाधनको कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी धनीलाई कुल जरिबाना रकममा ७५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।
जरिबाना छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए ।
विभिन्न कारणले सवारी साधनको वार्षिक कर बुझाउन नसकेका र नवीकरण नगरेका सेवाग्राहीलाई सहुलियत दिने उद्देश्यले २० प्रतिशतदेखि सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने सबै सवारीधनीको हकमा छुटको व्यवस्था गरिएको मन्त्री न्यौपानेले बताए ।
मन्त्रालयका अनुसार बर्सेनी कर नबुझाएमा २० प्रतिशतका दरले जरिवाना थपिँदै जान्छ । अब सरकारको यो सुविधाअन्तर्गत वार्षिक कर नबुझाएको अवधिका आधारमा उक्त अवधिमा हुन आउने वार्षिक करको जरिबानामा ७५ प्रतिशत छुट हुने छ ।
यो सुविधाले लुम्बिनी प्रदेशका यातायात व्यवसायीलाई पनि ठूलो राहत मिलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बताए ।
यो सहुलियतले वार्षिक कर नबुझाएका यातायात व्यवसायीलाई करको दायरामा पनि ल्याउने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा वार्षिक कर नबुझाएका मध्ये ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरे । यसले राज्यलाई एकमुष्ट राजस्व संकलन हुने समेत उनको भनाइ छ
लुम्बिनी प्रदेशले लागु गरेको यो व्यवस्था सबै प्रदेशमा लागु गर्न सके देशैभरका यातायात व्यवसायीले लाभ लिन सक्ने उनले बताए ।
हमालका अनुसार प्रदेशमा भएका कुल सवारीसाधन मध्ये वार्षिक कर नबुझाएका सवारी साधनको संख्या १० प्रतिशत छ । खासगरी पुराना गाडीहरूको कर नियमित बुझाइएको छैन ।
प्रतिक्रिया 4