+
+
Shares

नेफ्स्कुन सदस्य सीता ढकालद्वारा युनाइटेड गोरखा सहकारीको १३ करोड अपचलन

पौडेल एमाले बागमती प्रदेश कमिटी सदस्य हुन् । साथै, उनी सहकारी तथा गरिबी निवारण बागमती प्रदेशकी प्रमुख पनि हुन् । त्यतिमात्र होइन, उनी बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) की सञ्चालक पनि हुन् ।

भुवन पौडेल भुवन पौडेल
२०८२ भदौ १ गते २२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनाइटेड गोरखा बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष सीता ढकाल पौडेलले करिब १३ करोड रुपैयाँ अपचलन गरेको पाइएको छ।
  • पौडेल एमाले बागमती प्रदेश कमिटी सदस्य हुन्।
  • साथै, उनी सहकारी तथा गरिबी निवारण बागमती प्रदेशकी प्रमुख पनि हुन्।

१ भदौ, काठमाडौं । युनाइटेड गोरखा बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष सीता ढकाल पौडेलले संस्थाको करिब १३ करोड रुपैयाँ अपचलन गरेको पाइएको छ ।

पौडेलले बचतकर्ताको उक्त रकम स्वच्छन्द बिकोइ बिल्डर्सलाई ऋण दिई हालसम्म पनि भुक्तानी नभएको पाइएको हो ।

पौडेल एमाले बागमती प्रदेश कमिटी सदस्य हुन् । साथै, उनी सहकारी तथा गरिबी निवारण बागमती प्रदेशकी प्रमुख पनि हुन् ।

त्यतिमात्र होइन, उनी बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) की सञ्चालक पनि हुन् । पौडेल युनाइटेड गोरखा बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै नेफ्स्कुन सदस्य चुनिएकी हुन् ।

पौडेलले आफू आबद्ध सहकारी संस्थाको १२ करोड ८१ लाख रुपैयाँ बराबर बचत जलेश्‍वर स्वच्छन्द बिकोइ बिल्डर्सलाई भवन निमार्ण गर्न दिएकी थिइन् । बिल्डर्स कम्पनीले उक्त रकम हालसम्म पनि भुक्तानी नगरेपछि बचतकर्ताको बचत अपचलन भएको हो ।

पौडेलले उक्त रकम जलेश्वर बिल्डर्सका अध्यक्ष मनोजकुमार भेटवाललाई सेयर बापत तथा भवन निर्माणका लागि पटक–पटक गरी भुक्तानी दिएकी थिइन् ।

पौडेल र भेटवालबीचको कारोबारमा लेनदेन नमिलेपछि असार २०८० मा दुवै पक्षबीच बाँकी रकम भुक्तानी गर्ने सहमति भएको छ । उक्त सहमति अनुसार भेटवालले पौडेललाई १२ करोड ८१ लाख रुपैयाँ बुझाउन बाँकी भएको भन्दै चेक दिने गरी समझदारी गरेका हुन् ।

यसरी भएको समझदारी अनुसार भेटवालले २६ साउन २०८० मा साट्न मिल्ने गरी ४ करोडको चेक पौडेललाइ दिए । त्यसैगरी भेटवालले ३० मंसिर २०८० को मिति तोक्दै ८ करोड ८१ लाखको अर्को चेक दिई लिखत गर्छन् ।

भेटवालले बिल्डर्स कम्पनीको नामको प्राइम कमर्सियल बैंकको चेक पौडेललाई दिएका छन् । साथै, लिखत गर्दा भेटवालले चेक सटही नभए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइ कार्यान्वयनमा लैजान समेत सहमति जनाउँछन् ।

उक्त लिखत सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराइ पौडेललाई दिएको अवस्थामा समेत रकम भुक्तानी हुन नसकेपछि संस्था नै समस्यामा पुगेको स्रोतको भनाइ छ ।

संस्थाको उक्त कारोबारका विषयमा पौडेलसँग अनलाइनखबरले कुरा गर्दा जलेश्वरसँगको कारोबारमा समस्या भएको स्वीकार गरिन् ।

नेफ्स्कुनको सदस्य निर्वाचित भएपछि युनाइटेड गोरखामा नरहेको बताउँदै उनले भनिन, ‘नेफ्स्कुनमा गएपछि दुईतिर बस्न नमिल्ने भएर युनाइटेड गोरखाको उपाध्यक्ष छाडेकी हुँ ।’

पौडेलका अनुसार सहकारीले उक्त पैसा जलेश्वरलाई ऋण दिएको होइन, संस्थाको ऋणीले स्वच्छन्दलाई लगेर दिएको अवस्था हो । स्वच्छन्दले संस्थालाइ तिर्न नसकेको पौडेलको भनाइ छ ।

जलेश्वरले तिर्नुपर्ने उक्त रकमका सन्दर्भमा सेक्युरिटी राखेको जानकारी उनले दिइन् । सहकारीबाट सविन, सन्तोष, राजेश लगायत व्यक्तिको अन्य सहकारीको कर्जा समेत गरेर त्यो रकम पुगेको उनको भनाइ छ ।

‘कागज धेरै जनाको नाममा गर्दा वडाले प्रमाणित गर्दैन, सबैको जोडेर गर्‍यो भने सजिलो हुन्छ भनेर एउटा कागज गरेको हो,’ पौडेलले भनिन्, ‘पैसा दिने बेला म फरक–फरक मान्छेको जो–जसको हो, त्यसैलाई दिन्छु भनेर मेरो नामबाट कागज गरेको हो ।’

जलेश्वरले विगतमा अलि–अलि भुक्तानी दिएको भए पनि पछिल्लो समयमा नदिएको उनले बताइन् । जलेश्वरले गत वर्ष दसैंतिर भने १० लाख रुपैयाँ जति भुक्तानी दिएको उनको भनाइ छ ।

करिब ७ सय सदस्य भएको उक्त सहकारीको सेयर पूँजी करिब २ करोड छ । हाल संस्थाको कुल बचत भने १० करोड हाराहारी छ । संस्था सञ्चालनमा भए पनि राजनीतिक शक्तिका कारण उक्त विषयलाई ढाकछोप गरिएको देखिन्छ ।

संस्थामा समस्या भएका कारण बचतकर्ताले बचत फिर्ता नपाएको भए पनि उक्त विषयलाई बाहिर आउनबाट रोकिएको थियो ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?