News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर क्विन्सले तीन पटकको दक्षिण एसियाली खेलकुद स्वर्ण पदक विजेता आयशा शाक्यलाई दोस्रो संस्करणको महिला भलिबल लिगको गुडविल एम्बासडर नियुक्ति गरेको छ ।
- आयशा शाक्यले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुशी व्यक्त गर्दै आफ्नो लागि सम्मान भएको बताइन् ।
- दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुने छ ।
२ भदौ, ललितपुर । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभि) को फ्रेन्चाइज टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुदमा तीन पटकको स्वर्ण पदक विजेता आयशा शाक्यलाई लिगको दोस्रो संस्करण पनि गुडविल एम्बासडर नियुक्ति गरेको छ ।
सोमबार ललितपुर क्विन्सको कार्यालयमा क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले गुडविल एम्बासडर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा आफू हर्षित भएको आयशाले बताइन् । ‘महिला भलिबल लिगमा फेरी पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा निकै खुसी छु,’ आयशाले भनिन्, ‘ललितपुर क्विन्स परिवारलाई धेरै धन्यबाद । यो मेरो लागि सम्मानको कुरा हो’ उनले थपिन् ।
यो संस्करण ललितपुरले उपाधि जित्नेमा आयशा आशावादी छन् । ‘पहिलो संस्करणमा ललितपुरको खेलहरूमा सहभागी हुँदा म धेरै रमाए । दुर्भाग्यवस हामी अन्तिम समयमा चुक्यौ, आशा छ हाम्रो टोली यो संस्करण विजेता हुने छ ।’
घरेलु भलिबलमा सफल प्रशिक्षकमध्ये एक उत्सव खड्काकै नेतृत्वमा ललितपुर क्विन्सको टोली दोस्रो संस्करणमा पनि कोर्टमा उत्रनेछ ।
टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ छन् । यस्तै ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई अनुबन्ध गरेको थियो ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग यही भदौ २० देखि २८ सम्म हुने छ ।
प्रतिक्रिया 4