
News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही प्रहरीले भारतीय नागरिक अभिषेक यादवलाई ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ गरेको छ।
- यादवको साथबाट त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतका संस्थाका हजारौं नक्कली प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम बरामद भएका छन्।
- प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले यादवलाई पाँच दिन थुनामा राखिएको र गिरोहको सम्भावित संलग्नता अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
३ भदौ, बुटवल । त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत संस्थाका ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरू सहित एक भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रुपन्देहीमा यति ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएको यो पहिलो घटना हो ।
नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू सहित भारत कानपुर नौबस्ती बस्ने अभिषेक यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ भित्र प्रवेश गर्न लागेको अवस्थामा यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट सय थान, सर्टिफिकेट ३६ थान, ५ वटा स्ट्याम्प प्याड, ३ वटा स्ट्याम्प, होलोग्राम जस्तो देखिने त्रिभुवन विश्वविद्यालय २०१२ लेखेको ४ हजार ४० थान स्टीकर, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान स्टीकर, राष्ट्रिय परीक्षा बोर्ड लेखेको एक हजार ७ सय थान स्टीकर, सिटीईभीटी लेखेको एक हजार ९ सय थान होलोग्राम स्टीकर बरामद गरेको हो ।
यस्तै भारतको अमिटी युनिभर्सिटी उत्तरप्रदेश, जवाहरलाल नेहरू टेक्नोलोजी युनिभर्सिटी हैदरावाद, छत्रपति साहु जी महाराज युनिभर्सिटी कानपुर, आसाम उच्च विद्यालय काउन्सिल, कुरूक्षेत्र विश्वविद्यालय र आन्ध्रा युनिभर्सिटीका मार्कसीट, चारित्रिक प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र, लेटर प्याड लगायतका नक्कली सादा कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।
कार्कीका अनुसार विभिन्न कार्यालयको छाप, हस्ताक्षर, २ वटा मोबाइल , एक थान ल्यापटप, पेनड्राइभ, एटीएम कार्ड तथा नेपाली र भारतीय रुपैया पनि बरामद भएको छ ।
आइतबार साँझ यादव भारतबाट भैरहवा आएको गोप्य सूचनाको आधारमा उनी बस्न लागेको होटेलमा पुगेर सुटकेस जाँच गर्दा नक्कली शैक्षिक प्रमाणपत्रहरू, अन्य शंकास्पद कागजपत्र र सामान फेला परेपछि नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा गिरोह नै हुन सक्ने आशंका गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।
‘नेपालबाट विदेशमा रोजगारी र अध्ययनका लागि जानेहरूका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग हुने गरेको आशंका छ,यस कारोबारमा संलग्न अन्यको व्यक्ति पनि पत्ता लगाएर अनुसन्धान गर्छौं’, एसपी क्षेत्रीले भने ।
पक्राउ परेका यादवलाई अदालतबाट ५ दिन थुनाको अनुमति लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
प्रतिक्रिया 4