News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको युनान प्रान्तमा भएको 'क्लाउड टप २०२५' रेस्क्यु प्रविधि प्रतियोगितामा नेपालबाट सात सदस्यीय टोलीले ऐतिहासिक सहभागिता जनाएका छन्।
- प्रतियोगितामा २४ घण्टे सहनशीलता, आपतकालीन डिस्प्याच, नक्सा नेभिगेसन, खोजी र घाइते ढुवानीको अभ्यासात्मक प्रतिस्पर्धा हुनेछ।
- नेपालको सहभागिताले विश्वस्तरमा उच्च हिमाली उद्धार क्षेत्रमा नेपालको सीप र अनुभव प्रस्तुत गर्ने अवसर दिएको छ।
४ भदौ, काठमाडौं । चीनको युनान प्रान्तमा भएको ‘क्लाउड टप २०२५’ रेस्क्यु प्रविधि प्रतियोगिता तथा आदानप्रदान कार्यक्रममा नेपालबाट सात सदस्यीय टोलीले ऐतिहासिक सहभागिता जनाएका छन् ।
कुनमिङ सिटी फायर एन्ड रेस्क्यु विभागले आयोजक गरेको यस कार्यक्रममा युनान माउण्टेनियरिङ एन्ड आउटडोर स्पोर्ट्स एसोसिएसन, दाली प्रिफेक्चर फायर एन्ड रेस्क्यु विभाग, दाली प्रिफेक्चर शिक्षा तथा खेलकुद ब्युरो र याङबी काउन्टी पिपुल्स गभर्नमेन्टको सहकार्य रहेको थियो ।
नेपालबाट सहभागी भएको टोलीमा टोली नेता अलपाईन स्पोर्ट्स क्लब नेपालका महासचिव समेत रहेका प्रतिक बहादुर खत्री, एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालसहित मनराज गुरुङ, पासाङ रिन्जी शेर्पा, सुजल गुरुङ, सुजन गुरुङ र अनुप गुरुङ सहभागी छन् । प्रतिकले टिम सदस्य तयार पार्न सहयोग गरेको गण्डकी अल्पाईन क्लबलाई धन्यवाद दिए ।
यो कार्यक्रम सन् २०२० मा झाओताङको दाशानबाओमा पहिलो पटक भएको थियो । त्यसयता यो कार्यक्रम मे २०२२ मा लिजिआङको जेड ड्र्यागन स्नो माउन्टेनमा, डिसेम्बर २०२३ मा नुजियाङ ग्रान्ड क्यान्यनमा, र मे २०२४ मा डिकिङको बालागेजोङमा सफलतापूर्वक आयोजना भइसकेको छ ।
चीनकै सबैभन्दा ठूलो र प्रभावशाली उद्धार आदानप्रदान गतिविधिमध्ये एकको रुपमा रहेको यस कार्यक्रमम अहिलेसम्म सात देशका ६० भन्दा बढी टोलीले भाग लिइसकेका छन् ।
यस कार्यक्रमको प्रमुख आकर्षणहरू घरेलु आदानप्रदानदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सम्म रहनेछन् । जसको उद्देश्य उद्धार प्रविधिमा विश्वव्यापी संवादलाई प्रवर्द्धन गर्नु हो । नेपाल, कम्बोडिया र लाओस यस वर्ष पहिलो पटक सहभागी भएका छन् ।
चीन र दक्षिणपूर्व तथा दक्षिण एशियाका छिमेकी राष्ट्रहरूबीच विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउन यो पहल गरिएको हो ।
कार्यक्रममा २४ घण्टे सहनशीलता प्रतियोगिता हुनेछ । जसमा आपतकालीन डिस्प्याच, नक्सा नेभिगेसनदेखि ट्र्याकिङ, खोजी तथा घाइतेको ढुवानीसम्मको सम्पूर्ण उद्धार शृङ्खलाको अभ्यासात्मक प्रतिस्पर्धा हुनेछ । साथै, ‘फायर रेस्क्यु प्लस खेल’ मोडेलमा व्यक्तिगत तथा टोलीगत प्रतियोगिताहरू पनि सञ्चालन हुनेछ ।
अन्तर्राष्ट्रिय सहभागी टोलीहरूमा चीन, कम्बोडियाको वरमान टोली, लाओसको लुआङ नाम्थाबाट फायर प्रिभेन्सन एन्ड इमर्जेन्सी रिस्पोन्स पुलिस टोली, लाओ रेडक्रसको आपतकालीन उद्धार टोली, लुआङ प्राबाङ प्रान्त र नेपाल एभरेष्ट रेस्क्यु टीम छन् ।
यसैगरी चीनको घरेलु उद्धार टोलीहरूमा लियाओनिङ प्रान्तीय फायर एन्ड रेस्क्यु विभाग; अन्हुई प्रान्तीय फायर एन्ड रेस्क्यु विभाग; शानडोङ प्रान्तीय फायर एन्ड रेस्क्यु विभाग; शान्सी प्रान्तीय फायर एन्ड रेस्क्यु विभाग; युनान प्रान्तीय वन फायरफाइटिङ विभाग; अन्हुई माउन्टेन रेस्क्यु टोली; युनान माउन्टेन रेस्क्यु टोली र डालु सिटी ब्लु स्काई रेस्क्यु टोली रहेका छन् ।
यो कार्यक्रमले सुरुदेखि नै ‘व्यावहारिक आदानप्रदान र प्राविधिक छलफल’ लाई आफ्नो मूल मिसन बनाएको छ । जसले आपतकालिन उद्दार टेक्निक्स र सूचनालाई प्राथमिकता दिएको छ ।
यस्तै प्रतियोगिताको विभिन्न देशका उद्धार प्रविधि, विधि र उपकरणलाई सम्मान गर्ने विषयहरु समावेश थियो ।
यस कार्यक्रमको अन्तिम लक्ष्य अरूसँग सिक्ने, आदानप्रदान गर्ने, आपसी रूपमा सिक्ने र साझा विकास खोज्ने रहेको छ । ‘क्लाउड टप २०२५’ अघिल्ला कार्यक्रमहरूको निरन्तरता मात्र नभई ‘अनुकरणीय सिकाइ’ बाट ‘नवप्रवर्तनात्मक उपलब्धि’ तर्फको ऐतिहासिक फड्को रहेको आयोजकले जनाएको छ।
‘नेपालको क्लाउड टप २०२५ मा सहभागिताले नेपाललाई विश्वस्तरमा हिमाल आरोहण र उच्च हिमाली उद्धार क्षेत्रमा आफ्नो सीप र अनुभव प्रस्तुत गर्ने अवसर दिएको छ। यसले नेपाललाई विश्वव्यापी पर्वतारोहण जनशक्ति र उच्च हिमाली उद्धार क्षमतामा अग्रणी राष्ट्रका रूपमा स्थापित गर्न टेवा पुर्याउनेछ,’ एभरेष्ट अलायन्स नेपालका अध्यक्ष तथा नेपाल एभरेष्ट रेस्क्यु टिमका कप्तान सुदर्शन नेपालले बताए ।
नेपाली प्रतिनिधिमण्डलको गठन चिनियाँ आयोजकसँगको समन्वयमा एभरेष्ट अलायन्स नेपालले गरेको हो ।
प्रतिक्रिया 4