
News Summary
Generated by OK AI. Editorially reviewed.- दैनिक जीवनका साना निर्णयहरू, जस्तै खानपान, व्यायाम, निद्रा र तनाव व्यवस्थापनले स्वास्थ्यमा गहिरो प्रभाव पार्छन्।
- राति ७/८ बजेसम्म हल्का खाना खाएर केही समय हिँड्नुपर्छ, जसले मधुमेह नियन्त्रणमा मद्दत गर्छ।
- दैनिक ३० मिनेट व्यायाम र बिहान १५ मिनेट घाममा बस्दा हृदय रोग र अस्टियोपोरोसिसबाट बच्न सकिन्छ।
हाम्रा केही साधारण बानीहरू परिवर्तन गरेर आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ । दैनिक जीवनका साना–साना निर्णयहरू, जस्तै खानपान, व्यायाम, निद्रा र तनाव व्यवस्थापनले शरीरको समग्र कार्य प्रणालीमा गहिरो प्रभाव पार्छन् ।
रोगहरू नियन्त्रण गर्न र राम्रो स्वास्थ्य कायम राख्नका लागि सन्तुलित र स्वस्थ जीवनशैली अत्यन्त जरुरी हुन्छ, किनकि यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, ऊर्जा स्तर बढाउँछ र दीर्घ रोगहरूबाट बचाउँछ ।
कहिलेकाहीँ केही बानीहरूले रोगहरूलाई जन्म दिन्छन्, भने केहीले रोगहरूलाई बढावा दिन्छन्, जस्तै अत्यधिक तनावले उच्च रक्तचाप निम्त्याउन सक्छ वा अनियमित खानपानले मधुमेहको जोखिम बढाउँछ । यस्तोमा नराम्रा बानीहरू चिनेर ती खराब बानीहरू परिवर्तन गर्ने वा छाड्नुपर्छ ।
१.मधुमेह
राति ढिलो खाना खाँदा रगतमा चिनीको स्तर असन्तुलित हुन सक्छ, जसले शरीरमा इन्सुलिनको प्रभाव कम गर्छ । यसले सुगरलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । रातिको खाना बेलुका ७/८ बजेसम्म खाइसक्नु राम्रो हुन्छ । हल्का खाना खानुपर्छ र खाना खाएपछि केही समय हिँड्नुपर्छ ।
२.माइग्रेन
खाना छोड्दा माइग्रेनका लक्षणहरू बढ्न सक्छन् । समयमा पोषण नपाउँदा रगतमा चिनीको स्तर घट्छ, जसले टाउको दुखाइ बढाउन सक्छ । नियमित र सन्तुलित भोजनले माइग्रेनलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
३.हृदय रोग
शारीरिक निस्क्रियता हृदय रोगको एउटा कारण हो । नियमित व्यायाम नगर्दा मोटोपन, उच्च रक्तचाप र कोलेस्टेरोल बढ्छ । हरेक दिन कम्तीमा ३० मिनेट हल्का वा मध्यम व्यायाम गर्नुपर्छ । ४५ मिनेट हिँड्न पनि सकिन्छ ।
४.अस्टियोपोरोसिस
घामबाट पूर्णरूपमा टाढा रहँदा शरीरमा भिटामिन डीको कमी हुन्छ, जसले हड्डीहरू कमजोर हुन्छन् । हरेक बिहानको प्रारम्भिक घाममा १५ मिनेट बिताउनुपर्छ र क्याल्सियमयुक्त खाद्य पदार्थहरूलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ ।
५.ग्यास्ट्राइटिस
धेरै छिटो खाना खाँदा पेटको सुरक्षात्मक तहमा असर पर्छ, जसले जलन र ग्यासको समस्या निम्त्याउछ । त्यसैले खानालाई बिस्तारै र राम्रोसँग चपाएर खानुपर्छ ।
६.एसिड रिफ्लक्स
खाना खाएपछि तुरुन्तै सुत्दा पेटको अम्ल खाना नलीमा फर्किन सक्छ । त्यसैले खाना खाएपछि कम्तीमा २ घण्टासम्म सक्रिय रहनुपर्छ । रातमा हल्का र कम मसालेदार खाना खानुपर्छ ।
७.पेटको समस्या
पर्याप्त पानी नपिउँदा कब्जियत र एसिडिटी जस्ता समस्याहरू हुन सक्छन् । दिनभरमा कम्तीमा ८–१० गिलास पानी पिउनुपर्छ जसले पाचन प्रक्रिया ठिक रहोस् र उत्सर्जन सजिलै होस् ।
८.कलेजो रोग
अत्यधिक तेल, मसला र प्रशोधित खानाले कलेजोमा अतिरिक्त बोझ पर्छ । यस्तोमा कलेजोलाई स्वास्थ्य राख्न यस्ता खानाबाट बच्नुपर्छ । ताजा फलफूल र तरकारीहरूलाई प्राथमिकता दिनुपर्छ ।
९.डिमेन्सिया
मानसिक निस्क्रियता र लामो समयसम्म टिभी हेर्दा दिमागको कार्यक्षमतामा नकारात्मक असर पर्छ । हरेक दिन दिमागी कसरत गर्नुपर्छ ।
१०.अनिद्रा
स्क्रिनको अत्यधिक प्रयोगले विशेष गरी सुत्नुअघि, निद्रालाई प्रभावित गर्छ । सुत्नुभन्दा कम्तीमा १ घण्टा पहिले मोबाइल र टिभीको प्रयोग गर्नुहुँदैन । निद्राको नियमित समय निर्धारण गर्नुपर्छ ।
११.चिन्ता
लगातार सामाजिक सञ्जालमा समय बिताउँदा मानसिक तनाव बढ्न सक्छ । त्यसैले सामाजिक सञ्जालको प्रयोग सीमित गर्नुपर्छ । ध्यान, योग र विश्राम प्रविधिहरूलाई आफ्नो दैनिक जीवनमा समावेश गर्नुपर्छ ।
१२.उच्च रक्तचाप
नुनको अत्यधिक सेवनले रक्तचाप बढाउन सक्छ । अतिरिक्त नुनले शरीरमा पानी रोकिन्छ, जसले हृदयमा दबाब बढ्छ । प्रशोधित र फास्ट फुडमा नुनको मात्रा धेरै हुन्छ, त्यसैले यस्ता खानाबाट बच्नुपर्छ र दैनिक ६ ग्रामभन्दा बढी नुन खानु हुँदैन । खानामा माथिबाट नुन छर्कने बानी पनि छोड्नुपर्छ ।
१३.रक्त अल्पता
धेरैले खाना खाएपछि तुरुन्तै चिया पिउँछन्, तर यसले शरीरमा आइरनको अवशोषणमा बाधा पुर्याउँछ । त्यसैले चियालाई खाना खानुभन्दा कम्तीमा १ घण्टा पहिले वा १ घण्टा पछि मात्र पिउनुपर्छ । आहारमा हरियो तरकारी, दाल र आइरनयुक्त खाद्य पदार्थहरूलाई प्राथमिकता दिनुपर्छ ।
प्रतिक्रिया 4