
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायत सरकारले डिजिटल तस्वीर डिलिट गरेर पानी बचत गर्न सुझाव दिएको छ किनभने डेटा सेन्टरहरुमा सर्भर कुलिङका लागि ठूलो मात्रामा पानी प्रयोग हुन्छ।
- अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले एउटा १ मेगावाट डेटा सेन्टरले वार्षिक करोडौँ लिटर पानी कुलिङका लागि खपत गर्ने बताएका छन्।
- गुगल र माइक्रोसफ्टले पुनःचक्रण गरिएको पानी र पानीमुनि डुबेका डेटा सेन्टर प्रयोग गरी पानी बचत गर्ने प्रविधि विकास गरेका छन्।
५ भदौ, काठमाडौं । विश्व जगत पछिल्लो समय पानीको संकटबाट गुज्रिरहेको छ र जलवायु परिवर्तनका साथै नयाँ नयाँ प्रविधिको प्रयोग व्यापक बन्दै जाँदा पानीको संकट झनै गहिरिँदैछ। यस्तोमा बेलायत सरकारले अनौठो तर निकै गम्भीर सुझाव दिएको छ ।
गर्मी याममा पानी जोगाउनका लागि र किफायती खपत गर्नका लागि हामीले अनेक खालका उपाय अपनाउछौँ । तर बेलायत सरकारले भने पानी बचत गर्नका लागि आफ्ना पुराना डिजिटल तस्वीर डिलिट गर्ने सल्लाह दिएको छ ।
झ्वाट्ट सुन्दा यो कुरा अलिक मजाक जस्तै लाग्छ । तर यसका पछाडि एउटा गम्भीर कारण छ, जो हाम्रो डिजिटल जिवनशैलीसँग जोडिएको छ ।
वास्तवमा डिजिटल स्पेसमा रहेका हाम्रा फोटो, भिडियो तथा इमेल लगायतका हरेक चिजवस्तुहरु सबै कुनै न कुनै डेटा सेन्टरमा संग्रहित भएका हुन्छन् । ती डेटा सेन्टरहरु ठूला ठूला सर्भरहरुले भरिएका हुन्छन्, जो निरन्तर तातिरहेका हुन्छन् । अनि ती सर्भरलाई चिस्याउनका लागि पानीको प्रयोग हुन्छ । यसका लागि बिजुलीबाट चल्ने कुलिङ प्रविधिको पनि प्रयोग गर्ने गरिएको छ ।
डेटा सेन्टरको तिर्खा
अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार केवल १ मेगावाटको एउटा सानो डेटा सेन्टरले कुलिङका लागि मात्रै हरेक वर्ष करोडौँ लिटर पानी खपत गर्दछ । यद्यपि यो आँकडा स्थान विशेष तथा प्रविधिको आधारमा फरक फरक हुन सक्छ ।
यद्यपि कतिपय डेटा सेन्टरहरुले अहिले पिउन अयोग्य रहेको (नन पोटेबल) पानी वा पुनःचक्रण गरिएको पानीको प्रयोग गर्न थालेका छन् ताकि पिउने पानीमाथि दबाब नपरोस् । त्यस्तै केही कम्पनीहरुले एयर कुलिङ वा वाष्पीकरण कुलिङ प्रविधिको पनि प्रयोग गर्न थालेका छन् । यो प्रविधि मौसम तथा स्थानीय नियमहरुमा निर्भर गद्र्यछ ।
प्रविधि कम्पनीहरूको नयाँ प्रयोग
ठूला प्रविधि कम्पनीहरुले यस्तो पानी उपयोगको परिमाण अर्थात् वाटर फूटप्रिन्ट घटनाउनका लागि विभिन्न खालका नवप्रवर्तनहरु ग्रिरहेका छन् । गुगलले अमेरिकाको जर्जिया राज्यस्थित डगलस काउन्टीमा पुनःचक्रण अर्थात् शुद्धिकरण गरिएको फोहोर पानीलाई डेटा सेन्टर चिस्याउनका लागि प्रयोग गरेको छ ।
त्यसैगरी माइक्रोसफ्टले त पानीको बचत गर्नका लागि पानीमुनि डुबेका डेटा सेन्टर निर्माण गरी परीक्षण समेत गरेको छ । यसमा समुद्रको चिसो पानीले सर्भरहरुलाई चिस्याउन सहयोग गर्दछ ।
विभिन्न क्लाउड सेवा प्रदायकहरुले अहिले जल उपयोग प्रभावकारीता जस्ता तथ्यांकहरु समेत प्रकाशित गर्न थालेका छन् । यसबाट उनीहरु पानीको खपत क मगर्नमा कत्तिको सफल भए भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
वास्तवमा एआई तथा मेसिन लर्निङको बढ्दो माग र प्रयोगसँगै डेटा प्रोसेसिङको आवश्यकता समेत तिव्र रुपमा वृद्धि भएको छ । फलस्वरुप यदि डिजाइनमा परिवर्तन गरिएन भने आगामी दिनमा बिजुली तथा पानी दुवैको खपत अति उच्च हुने पक्का छ ।
के तस्वीर डिलिट गर्दा पानी जोगिन्छ ?
हुनत कुनै एकजना सामान्य प्रयोगकर्ताले डिजिटल स्पेसमा रहेका आफ्ना केही पूराना तस्वीर डिलिट गर्दैमा त्यसले पानीको बचतमा पार्ने प्रभाव तत्कालै नदेखिन सक्छ । तर सबै इन्टरनेट प्रयोगकर्ताले आ–आफ्ना डिजिटल तस्वीरहरु डिलिट गर्दा अरबौँ गिगाबाइट डेटा कम भयो भने त्यसको पक्कैपनि प्रभाव पार्दछ।
यसबाट दीर्घकालमा डेटा सेन्टरको क्षमता बढाउन तथा नयाँ कुलिङ प्रणालीको स्थापनाको आवश्यकता कम हुनेछ । त्यसैले हाम्रा निकै सामान्य लाग्ने खालका डिजिटल आनीबानीहरुले समेत वातावरण तथा पानीको संरक्षणमा ठूलो योगदान गर्दछन् भन्ने कुराको हेक्का राख्नु आवश्यक छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4