
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशसभाको नयाँ अस्थायी भवनमा पानी चुहिएको छ, जसले भवन प्रवेशद्वार अगाडि मानवीय दुर्घटना खतरा सिर्जना गरेको छ।
- निर्माण कम्पनी अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीलाई पानी चुहिएको ठाउँ मर्मत गर्न पत्राचार गरिएको छ।
- प्रदेशसभाको नयाँ भवन निर्माणमा कुल १२ करोड ३३ लाख रुपैयाँ खर्च भएको र काममा ढिलाइका कारण म्याद थप गरिएको छ।
८ साउन, हेटौंडा । बागमती प्रदेशसभा नयाँ भवनमा पानी चुहिएको छ । गत २७ साउनबाट सञ्चालनमा ल्याइएको प्रदेशसभाको अस्थायी प्रकृतिको नयाँ बैठक भवनको मुल प्रवेशद्वारमै पानी चुहिएको हो । उक्त भवन १२ करोड रुपैयाँ खर्चिएर पाँच वर्षमा निर्माण गरिएको थियो ।
भवन प्रवेश गर्ने मुल ढोका अगाडिको भागमा पानी जमेको छ । ग्रेनाइड बिछ्याइएको ढोका अगाडिको भागमा पानी जमेका कारण मानवीय दुर्घटनाको खतरासमेत देखिएको छ ।
ग्रेनाइडमाथि हिँड्डुल गर्दा पानी जमेको ठाउँमा लड्न सक्ने अवस्था रहेको छ । भवन निर्माण गर्ने शहरी विकास तथा भवन कार्यालय मकवानपुरले पानी बग्ने भागमा कुनै वस्तुले अवरोध हुन पुगेको र सिमेन्टको प्यानल बोर्ड जडानमा खाली ठाउँ रहेकाले पानी जमेको जनाएको छ ।
कार्यालयका इन्जिनियर राजन गौतमले पानी चुहिएको ठाउँमा मर्मतसम्भार गर्न निर्माण कम्पनी अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीलाई पत्राचार गरिएको जानकारी दिए ।
‘त्यहाँ पानी बग्ने भागमा अवरोध भएको हुनसक्छ । प्यानल बोर्ड पानीले भिजेपछि जडानमा खाली ठाउँ भयो । त्यसैले पानी चुहिएको हो । त्यसलाई मर्मत गर्न निर्माण कम्पनीलाई भनिसकेका छौं,’ गौतमले अनलाइनखबरसँग भने ।
बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले पानी चुहिएकोले ग्रेनाइडमाथि हिँड्डुलमा समस्या भएको बताए । हेटौंडा उपमहानगरपालिका-१० स्थित प्रदेशसभाको नयाँ भवन प्रिफ्याब तयार गरिएको हो ।
२०७४ मा प्रदेश स्थापना भएको प्रदेशसभाको ८ वर्षमा बल्ल नयाँ संरचना तयार भएको हो । यो संरचना पनि अस्थायी हो । प्रदेशसभा सचिवालयले दिएको जानकारीअनुसार संरचना निर्माण गर्न १२ करोड ३३ लाख ६२ हजार ९६४ रुपैयाँ खर्च भएको छ ।
शहरी विकास तया भवन कार्यालय मकवानपुरबाट संरचना निर्माणमा ८ करोड ६२ लाख ७१ हजार १२७ रुपैयाँ खर्च भएको छ । प्रदेशसभा सचिवालयले ३ करोड ७० लाख ९१ हजार ८३७ रुपैयाँ खर्च गरेको प्रदेशसभाका प्रवक्ता कानुन अधिकृत गुप्ताले जानकारी दिए ।
संरचना निर्माणको सबै काम गर्न ५ करोड २९ लाख ४६ हजार ६०१ रुपैयाँ, इन्टेरियोर फर्निचर, फर्निसिङ, पिक्चर तथा ल्यान्डस्केप निर्माण गर्न ३ करोड ३३ लाख २४ हजार ५२५ रुपैयाँ, कुर्सीलगायतका फर्निचरहरू गरी छुट्टै २ करोड २२ लाख ४१ हजार ८३५ रुपैयाँ, विद्युतीय उपकरण (माइकिङ सिस्टम) जडानका लागि १ करोड ४८ लाख ५ हजार २ रुपैयाँ खर्च भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भनेर १९ कात्तिक २०७७ मा ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा प्रदेशसभाको अस्थायी भवन बनाउने ठेक्का पाएको थियो । निर्माण कम्पनीले तीन वर्ष लगाएर प्रिफ्याबको अस्थायी संरचना तयार गरेको थियो । यो काममा एकपटक म्याद थप भएको छ ।
अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीले ढिलो गरी प्रिफ्याबको संरचना निर्माण गरेपछि थप कमका लागि एक वर्षअघि मात्रै २३ फागुन २०८० मा सिउडी निर्माण सेवासँग ३ करोड ५३ लाख ६१ हजार ५८३ रुपैयाँमा शहरी भवन कार्यालयले ठेक्का सम्झौता गरेको थियो । उसले पनि समयमै काम नसकेपछि एकपटक म्याद थप भएको हो ।
सिउडी निर्माण सेवाले भवनको अगाडि भागमा ढुंगा, ग्रेनाइड, मार्बल बिछ्याउनेदेखि कम्पाउन्ड वाल, नाला बनाउने र दुबो रोप्नेसम्मको काम गरेको हो ।
प्रदेशसभा सचिवालयले सिउडी इन्टरनेसनल प्रालिसँग भवनमा फर्निचर-फर्निसिङ कार्यका लागि २ करोड २४ लाख ७३ हजारमा ४ फागुन २०८१ मा ठेक्का सम्झौता भएको प्रवक्ता गुप्ताले बताए ।
प्रतिक्रिया 4