+
+
Shares

तराईका गैरन्यायिक हत्या अनुसन्धानको बाटो खुल्यो

तराईमा भएका शंकास्पद चार सय गैरन्यायिक हत्याको अनुसन्धान गर्न बाटो खुलेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले पहिलेकै आदेश कार्यान्वयन गर्नुपर्ने ठहर गरेपछि ती घटनामा छानबिनको बाटो खुलेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते ८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले पाँच वर्षअघि जारी गरेको तराईमा भएको गैरन्यायिक हत्याको अनुसन्धान आदेश कार्यान्वयन गर्ने बाटो खुलेको छ।
  • न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फूयालको इजलासले विहीबार मुद्दाको लगत कट्टा गर्दै फैसला कार्यान्वयन हुनुपर्ने निष्कर्ष निकाले।
  • रिट निवेदक अधिवक्ता सुनिलरञ्जन सिंहले अब सरकारले सर्वोच्चको आदेश अनुसार गैरन्यायिक हत्याको अनुसन्धान अघि बढाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताए।

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले तराईमा भएको गैरन्यायिक हत्याको अनुसन्धान गर्न पाँच वर्षअघि जारी गरेको आदेश कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

एक दशक लामो शसस्त्र द्वन्द्वपछि शान्ति प्रक्रिया शुरु भएलगत्तै तराई मधेशमा भएको हिंसात्मक क्रियाकलाप र त्यसको प्रतिवादमा सुरक्षा संयन्त्रले गरेको कारवाहीका क्रममा कतिपय व्यक्तिहरुको गैरन्यायिक हत्या भएको आरोप लाग्दै गरेको छ ।

त्यस्ता शंकास्पद हत्याको अनुसन्धान हुनुपर्ने मागसहित अधिवक्ताहरु सुनिलरञ्जन सिंह, दिपेन्द्र झा लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

२१ पुस, २०७६ सालमा सर्वोच्च अदालतले त्यस्ता शंकास्पद हत्याका घटनाहरुको अनुसन्धान गर्नु भनी आदेश दिए पनि दुई जना न्यायाधीशहरुको फरक दृष्टिकोण र रायका कारण फैसला कार्यान्वयनमा अन्यौल भएको थियो । विहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फूयालको इजलासले उक्त फैसलाको निष्कर्ष एउटै रहेको भन्दै कार्यान्वयन हुनुपर्ने राय सहित मुद्दाको लगत कट्टा हुने आदेश गरेको हो । यो आदेशसँगै उक्त फैसला कार्यान्वयनको बाटो खुलेको छ ।

शंकास्पद चार सय हत्या

१४ साउन, २०६६ मा मधेशमा विशेष सुरक्षा योजना लागू भएपछि श्रृङ्खलावद्ध रुपमा भएका गैरन्यायिक हत्याको अनुसन्धान हुनुपर्ने माग रिट निवेदकहरुको थियो ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय, नेपालले १५ वर्षअघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार त्यतिबेला ५७ जनाको हत्या भएको र २९ वटा घटनाको अनुसन्धान हुदा घातक बलको गैरकानूनी प्रयोग भएको निष्कर्ष थियो ।

अर्को अध्ययन प्रतिवेदनले २०६४ देखि ६७ सालको विचमा १ सय ३३ जनाको हत्या भएको थियो । जसमा प्रहरी र सशस्त्र प्रहरी बलको ‘दोहोरो भिडन्त’ भनी उल्लेख थियो । त्यतिबेला राज्यपक्षबाट प्रहरी र तराईका शसस्त्र समूहबिच भिडन्त हुँदा ‘आतंककारी’ मारिएको भनी दावी गरिएको थियो ।

करिव २०६८/६९ सालसम्मको अवधिमा तराई मधेशमा करिव चार सय जनाको शंकास्पद हत्या भएको भन्दै उनीहरुले ती घटनाहरुको अनुसन्धान गर्न प्रहरी इच्छुक, सक्षम नभएको र उनीहरुबाट अनुसन्धान भएपनि त्यो विश्वसनीय नहुने जिकिर गरेका थिए ।

‘प्रहरी तथा सशस्त्र प्रहरी बलद्वारा गरिएको हत्या सम्बन्धमा जाहेरी दरखास्त लिइँदैन; बल्ल–तल्ल अदालतको आदेशमा जाहेरी दरखास्त दर्ता गरे पनि अनुसन्धान गरिँदैन’ भन्दै उनीहरुले करिव चार सय जनाको यसरी हत्या भएको दावी गर्दै छुट्टै स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेका थिए ।

रिट निवेदनको सुनुवाइ गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मी उनीहरुको माग बमोजिम गैरन्यायिक घटनाको अनुसन्धानका लागि आदेश दिनुपर्नेमा एकमत देखिए । तर राय व्यक्त गर्ने क्रममा उनीहरुको दृष्टिकोण फरक देखियो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रहरी कर्मचारी संलग्न रहेको त्यस्ता घटनामा प्रहरीबाट निष्पक्ष र प्रभावकारी अनुसन्धान भएको भनी पिडितलाई आश्वस्त तुल्याउन कठिन हुने भनी व्याख्या गरे ।

उनले प्रहरी संगठनको संरचनागत सोपानबाट स्वतन्त्र रहने गरी विज्ञहरु संलग्न रहेको एउटा छुट्टै अनुसन्धान निकाय गठन गर्नु भनी आदेश जारी हुनुपर्ने राय दिए ।

अनि त्यस्तो संयन्त्र बन्नुअघि प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट गैरन्यायिक हत्याको विषयमा परेका उजुरीको अनुसन्धान गराउनु भनी आदेश हुनुपर्ने राय लेखे ।

उनले यस्ता हिंसात्मक र गैरन्यायिक हत्याका घटनामा अध्ययन गरेको राष्ट्रिय मानवअधिकार आयोगको निर्णय कार्यान्वयन गराउनु भन्दै महान्यायाधिवक्ता कार्यालयले त्यस्ता अनुसन्धान अघि बढाउनुपर्ने आदेश दिनुपर्ने राय लेखे ।

दुवै न्यायाधीशको राय एउटै भएको भए मुद्दाको निर्णय तत्काल कार्यान्वयनमा जान्थ्यो । तर न्यायाधीश कुमार रेग्मीले त्यसमा केही फरक दृष्टिकोणहरु राखे ।

संविधान र कानून विपरीत व्यक्ति हत्याका सबै काम स्वत: गैरकानूनी वा गैरन्यायिक हत्या हुने भन्दै उनले यो मामिलामा गम्भिर प्रश्न उठेकाले मारिएका व्यक्तिहरुको विषयमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने राय दिए ।

उनले यस्ता घटनामा प्रहरीको सीआईबी वा महान्यायाधिवक्ताको परामर्श समेतमा विशेषज्ञ समेत सामेल गराई अनुसन्धान हुनुपर्ने भन्ने राय दिए । उनले आफ्नो रायमा भनेका छन्, ‘व्यक्ति हत्याको विषयमा परेका उजुरीहरुबारे तदारुकताका साथ निष्पक्ष, प्रभावकारी र विश्वसनीय अनुसन्धान गर्नु भनी परमादेश जारी गर्नेपर्ने ।’

२१ पुस, २०७६ सालमा सर्वोच्च अदालतले यी फरक रायसहित मुद्दाको फैसला गरेको थियो । गैरन्यायिक हत्याका घटनामा अनुसन्धान गर्न आदेश हुनुपर्ने भन्नेमा दुवै न्यायाधीश एकमत भए पनि विषयवस्तु हेर्ने दृष्टिकोणमा फरक मत थियो ।

सर्वोच्च अदालत प्रशासनले न्यायाधीशहरुको राय नै बाझिएको भन्ने अर्थ लगाएर मुद्दालाई तीन न्यायाधीश भएको पूर्ण इजलासमा पठाउने राय तयार पार्‍यो । सर्वोच्च अदालतमा दुई न्यायाधीश हुने संयुक्त इजलासमा राय बाझिएमा तीन न्यायाधीश हुने पूर्ण इजलासमा मुद्दा सुनुवाइका लागि पठाउनुपर्छ ।

तर विषयवस्तु हेर्ने दृष्टिकोण फरक भएर एउटै आदेश गरेमा भने त्यो आवश्यक पर्दैन । साढे पाँच वर्षअघि नै टुंगिएको त्यो विवाद विहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फूयालको इजलासमा पेश भयो ।

उनीहरुले मुद्दाको प्रारम्भिक सुनुवाइपछि एकै खालको आदेश जारी हुने राय आएको र त्यो आपसमा नबाझिएको निष्कर्षसहित त्यतिबेलाकै फैसला कार्यान्वयन हुनुपर्ने निष्कर्ष निकाले । अनि मुद्दाको लगत कट्टा हुने आदेश दिए ।

रिट निवेदकमध्येका एक अधिवक्ता सुनिलरञ्जन सिंहका अनुसार अब साढे पाँच वर्षअघिको फैसला कार्यान्वयनको बाटो खुलेको छ । ‘राय बाझिएको अर्थ लागेकाले फैसला कार्यान्वयनमा पाँच वर्ष बिलम्ब भयो’ उनी भन्छन्, ‘अब गैरन्यायिक हत्याका घटनामा सर्वोच्चको आदेश अनुसार सरकारले अनुसन्धान अघि बढाउनुपर्ने बाध्यात्मक अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?