+
+
Shares

‘कुपोषण घटाउने कुनै योजना भएन’

दुर्गममा धेरै गर्भवती र सुत्केरीले एक छाक मात्र खान पाउँछन्, त्यो पनि पेटभरी खान पाउँदैनन् । जन्मेको बच्चा कुपोषित हुन्छ, कुपोषित भएर हुर्कंदै गरेकाले अर्को कुपोषित बच्चा जन्माउँछ । कुपोषण वंशीय समस्या जस्तो देखिन थालेको छ ।

दीपक शाह दीपक शाह
२०८२ भदौ ६ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको मुक्तिकोटमा कुपोषण न्यूनीकरणका लागि कुनै योजना छैन र सरकारले मन्दिर निर्माणमा ध्यान दिएको छ।
  • कुपोषणको मुख्य कारण गरिबी, खाना अभाव र जनचेतनाको कमी रहेको छ जसले छोरीमा बढी असर पारेको छ।
  • सरकारले कुपोषण प्रभावितहरूको पहिचान र उपचारमा ध्यान नदिँदा समस्या वंशीय रूपमा सर्दै गएको छ।

हाम्रो समाजमा कुपोषण निकै व्यापक रूपमा रहेको छ । छोराभन्दा छोरीमा बढी कुपोषण छ । छोरा जन्मेमा स्याहारसुसार र स्तनपानमा ध्यान दिइन्छ । तर छोरी भएमा कम हेरचाह हुने गरेका कारणले समाजमा छोराभन्दा छोरीमा बढी कुपोषण छ ।

कुपोषणको मुख्य कारण गरिबी हो । छाक टार्न धौ–धौ भएका बेला पोषिलो खानेकुरा धेरै टाढाको कुरा हो । खाना अभाव तथा जनचेतनाको कमि अर्को कारण हो ।

एकातिर पोषणयुक्त खानेकुरा अभाव हुन्छ, अर्कोतिर भएको खानेकुरालाई पोषणयुक्त बनाएर कसरी खाने भन्ने जानकारीको अभाव छ । गर्भवती, सुत्करी, बालबालिका तथा वयोवृद्धहरू पेट भर्नका लागि मात्रै खाने गरेका छन् । उनीहरूलाई बिहान खाए बेलुकाको चिन्ता हुन्छ, बेलुका खाए बिहानको चिन्ता हुने गरेको छ ।

के खाँदा पोषणयुक्त हुन्छ, कसरी खाने हो भन्नेबारे कुनै जानकारी छैन । गाउँघरमा कोदो, भटमास, कागुनो, फापर र हरियो तरकारी लगायत पोषणयुक्त खानेकुरा पाइन्छ । तर कसरी खाने भन्ने सामान्य जानकारी छैन ।

कुपोषण हुनुको कारण खाद्यान्नको समस्या नै हो । पहिलो त राम्रोसँग खान पाउँदैनन्, चामल तथा खाद्यान्न किन्न नसक्नेलाई पोषणका ठूला कुरा सिकाएर केही हुनेवाला छैन । कोदोको रोटी र चामल नै अभाव छ । उब्जनी गर्न जमिन छैन, जमिन भएको ठाउँमा सिंचाइ छैन ।

उनीहरूको आधारभूत आवश्यकता पूरा हुनसकेको छैन । अचम्म लाग्ला दुर्गममा धेरै गर्भवती र सुत्केरी एक छाक मात्र खाने गर्छन्, पेटभरी खान पाउँदैनन्, उनीहरूबाट जन्मेको बच्चा त कुपोषित हुने नै भयो ।

कुपोषण एउटा चक्र हो । जन्मेको बच्चा कुपोषित हुन्छ, कुपोषित भएर हुर्कंदै गरेकाले अर्को कुपोषित बच्चा जन्माउँछ । कुपोषणको समस्या वंशीय रूपमा सर्दै आए जस्तो देखिन्छ । उनीहरूको वंशज नै कुपोषित भएर बस्ने गरेको छ ।

कुपोषणले समाजमा असर पारिरहँदा सरकारसँग कुनै योजना छैन । तीन तहकै सरकारबाट कुपोषणलाई लक्षित गरेर न बजेट विनियोजन हुन्छ, न कुनै कार्यक्रम छ ।

कुपोषणबाट निकै प्रभावित मानिने बाजुराको मुक्तिकोटमा कुपोषण न्यूनीकरण गर्ने कुनै योजना छैन । बरु सरकारले मन्दिर बनाउन ध्यान दिने गरेको छ । कुपोषितको उपचार गर्ने ठाउँ त नजिकै छैनन्, त्यसलाई हटाउने त टाढाको कुरा भयो ।

कुपोषणको अवस्था ग्रामीण क्षेत्रमा झन् भयावह बन्दै गएको छ । सरकारले कुपोषणको मारमा परेकाहरूको पहिचान समेत गर्न सकेको छैन । आफ्ना जनता कति कुपोषणको चपेटामा छन्, राज्यसँग कुनै जानकारी छैन ।

राज्य सञ्चालन गर्नेहरूले कुपोषणलाई भाषणको विषयवस्तु मात्रै बनाए । जनताको अवस्था तथा त्यो ठाउँको वास्तविकता बुझेर कुनै योजना बनेका छैनन् । आमा कुपोषित बनेपछि बच्चा झनै कुपोषित हुने गरेका छन् ।

कुपोषण एउटा चक्र हो । जन्मेको बच्चा कुपोषित हुन्छ, कुपोषित भएर हुर्कंदै गरेकाले अर्को कुपोषित बच्चा जन्माउँछ । कुपोषणको समस्या वंशीय रूपमा सर्दै आए जस्तो देखिन्छ । उनीहरूको वंशज नै कुपोषित भएर बस्ने गरेको छ ।

घरघरमा सर्वेक्षण गर्ने हो भने आधाभन्दा बढी बालबालिका कुपोषित भेटिन्छन् । तर अहिलेसम्म कसैले पनि त्यसबारेमा खोजी गरेको छैन । कुपोषणबाट अन्तिम अवस्थामा पुगेपछि मात्रै उपचारका लागि स्वास्थ्य संस्था पुग्ने चलन छ । त्यसरी पुगेकाहरूको हकमा मात्रै सरकारले तथ्याङ्क राख्ने गर्छ ।

कुपोषण भएकाहरूको बारेमा निगरानी गर्ने, भेटिएकाहरूको लेखाजोखा गर्ने र उपचारको व्यवस्था मिलाउन सकिन्छ । घरमा खानपानबारे योजना बनाएर पोषण दिन सके यो समस्या न्यूनीकरण हुन्छ ।

कुपोषण हुनुको एउटा कारण छोरा र छोरीको विभेद पनि हो । छोरी कुपोषित भएपछि उपचार गर्न आउनेहरू झनै कम छन् ।

हामीले कुपोषणलाई तीन प्रकारले वर्गीकरण गरेका छौं– कडा, मध्यम र न्यून कुपोषण । कडा कुपोषण भएकाहरूलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ । तर अस्पतालमा भर्ना गरेर धेरै कमले उपचार गर्ने गरेका छन् । बालबालिका मात्र नभई सुत्केरी, गर्भवती, किशोरकिशोरी र वृद्धवृद्धामा समेत कुपोषण छ ।

कुपोषण भएकाहरूको बारेमा निगरानी गर्ने, भेटिएकाहरूको लेखाजोखा गर्ने र उपचारको व्यवस्था मिलाउन सकिन्छ । घरमा खानपानबारे योजना बनाएर पोषण दिन सके यो समस्या न्यूनीकरण हुन्छ ।

बाजुरामा कुपोषित बच्चाका साथमा आमाहरू ।

कतै कतै सरकारले कुपोषणबाट प्रभावितहरूका लागि भन्दै चामल बाँड्ने काम गरिरहेको छ । स्थानीय तहमा यस्तो समस्या ज्यादा भेटिन्छ । तीनै तहका सरकारले कुपोषणका बारेमा प्रचारप्रसार गरेर कुनै योजना पनि बनाएनन् र काम पनि गरेनन् ।

बाजुरामा मात्र आर्थिक वर्ष २०८२/८३ का लागि तीन तहकै सरकारबाट मन्दिर निर्माण तथा धार्मिक कामका लागि सयभन्दा बढी योजना छानिएका छन् । तर जिल्लाभर कुपोषण घटाउन समुदाय, टोल लक्षित गरेर कुनै योजना छैनन्, कुपोषण रोक्ने अभियान सरकारबाटै अपहेलित भएको छ । कुपोषित क्षेत्रका बालबालिकाको मृत्यु त उनीहरूका लागि सामान्य झैं लागिरहेको होला ।

(बुढिगंगा नगरपालिकाका वरिष्ठ अहेव शाहसँग प्रकाश सिंहले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?