
News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोट गाउँमा उपचारात्मक खाना अभाव हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
- स्वास्थ्य कार्यालयले आरयूटीएफ आवश्यक भए पनि माग नभएको बताएको छ, तर गाउँले र स्थानीय अधिकारीहरूले अभावको जानकारी दिए।
- गाउँमा कुपोषणको समस्या गम्भीर रहेको र धेरै बालबालिका र गर्भवती महिलाहरू चरम कुपोषणको मारमा परेका छन्।
१६ असार, बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोट गाउँमा उपचारात्मक खाना (आरयूटीएफ) अभाव हुँदा २ कुपोषित बालबालिकाको मृत्यु भएको छ । चार महिनादेखि आरयूटीएफ अभाव भएको मुक्तिकोट स्वास्थ्य चौकीका इन्चार्ज बिर्ज विकले जानकारी दिए ।
आरयूटीएफ नहुँदा गाउँमा रहेका २५ जना कुपोषित बालबालिकाको ४ महिनादेखि उपचार रोकिएको छ । उपचार अभावमा २ जनाको भने मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १६ महिनाको सन्तोष न्याउपाने र १७ महिनाकी जमुना विक रहेकी छन् ।
दुवैजनाको केही महिना अगाडि मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्थामा २ जना मृत्युको रेकर्ड भएपनि गाउँमा भने ५ जनाको मृत्यु भएको स्थानीय बताउँछन् ।
‘आरयूटीएफ अभाव भएको गाउँपालिका र स्वास्थ्य कार्यालयलाई समयमै जानकारी गराएका थियौं, तर कतैबाट नआएपछि २५ जना कुपोषित बच्चाको उपचार रोकिएको छ,’ चौकीका ईञ्चार्ज विकले भने ।
आरयूटीएफ स्वास्थ्य कार्यालयबाट पालिका हुँदै सम्बन्धित स्वास्थ्य संस्थासम्म पुर्याउने गरिन्छ । जिल्लाबाट नै नआएकाले पठाउन नसकेको स्वामिकार्तिक खापर गाउँपालिका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाले बताए । केही दिनमा आरयूटीएफ पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
तर स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द भने कार्यालयमा आरयूटीएफ जति पनि रहेको बताउँछन् । ‘कार्यालयमा माग नै नभएपछि हामीले कसरी पठाउने, सम्बन्धित पालिका तथा संस्थाले माग गरेपछि पठाउने न हो !’ चन्दले भने । कार्यालयमा आरयूटीएफ अभाव नरहेको उनले जिकिर गरे ।
दुई वर्षमुनिका सबै बालबालिकालाई केन्द्रबाट बालभिटा र कुपोषित बालबालिकालाई उपचारात्मक खाना (आरयूटीएफ) दिइने गरिन्छ । तर मुक्तिकोटमा भने चार महिनादेखि यसको अभाव रहेको छ ।
स्वास्थ्य संस्थामा २५ जना कुपोषित बालबालिका भएपनि गाउँमा अधिकांश बालबालिका कुपोषणको चपेटामा परेका छन् ।
पोषणयुक्त खानेकुरा खान नपाउँदा बालबालिका र सुनौला हजार दिनका आमाहरूले चरम कुपोषणको मार खेपिरहेको गाउँपालिका सूचना अधिकारी कुबेर बहादुर शाहीले बताए ।
मुक्तिकोट गाउँमा ४ सय दलित परिवार बस्छन् । अधिकांश घरमा कुपोषणको कहर रहेको र यसबाट वर्षेनी कैयौं बालबालिकाको मृत्यु हुने गरेको शाहीले जानकारी दिए ।
राम्ररी खान, लगाउन नपाउने यहाँका बासिन्दा बालबालिका र गर्भवती महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चाहरू अहिले कुुपोषणका कारण जीवनमरणको दोसाँधमा रहेका छन् ।
मुक्तिकोट गाउँमा उपचार अभावमा कुपोषणले बालबालिका छटपटाइरहेको स्थानीयले जानकारी दिए । ‘धेरै सुत्केरी आमाहरू आफैं कुपोषित रहेका छन् । वर्षेनी कुुपोषणका कारण बालबालिकाको मृत्यु हुनेगरे पनि राज्यको ध्यान पुग्न सकेको छैन्’ एक स्थानीय अगुवाले गुनासो गरे, ‘हाम्रो कुरा राज्य सुन्दैन, कसलाई भन्ने ?’
पालिकाका सूचना अधिकारी कुबेरबहादुर शाही मुक्तिकोट नेपालको सबैभन्दा बढी गरिब भएको गाउँ रहेको बताउँछन् । गाउँका अधिकांश बालबालिका कुपोषणको सिकार हुँदा पनि सरकारलाई त्यहाको अवस्था बारेमा न कुनै जानकारी छ, न सरोकार । कुपोषण परीक्षण गरेर उनीहरूको उपचार र लिटोको व्यवस्थापन गर्न सके धेरै बालबालिकाको ज्यान जोगाउन सकिन्छ ।
प्रतिक्रिया 4