
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुली प्रहरीले ४१ दशमलब ७७० ग्राम खैरो हेरोइनसहित २३ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको छ।
- सिन्धुलीमा लागुऔषध कारोबार र प्रयोग बढ्दो छ, ८१/०८२ मा ९३ जना पक्राउ परेका छन्।
- प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान र जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
६ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुली प्रहरीले एक युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा कल्याणपुर–११ का २३ वर्षीय जितेन्द्र कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
बिहीबार बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेशप्रदेश –०४–००१ ज ०१५५ नम्बरको ईभी सवारी भिमान चेकपोस्टमा जाँचका क्रममा राउतले बोकिरहेको सामानभित्र प्लास्टिकमा लुकाइएको ४१ दशमलब ७७० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भिमानले राउतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले पक्राउ परेकासँग संलग्न अन्य व्यक्ति, अन्य गिरोहबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै गत भदौ २ गते सिन्धुलीकै दुधौली नगरपालिका ९ दुधौली बजारबाट खरियानी जाने पक्कि पुलबाट अनेरेक्स नामक १३ बोतल लागुऔषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जाँच गर्दा जिल्ला सिन्धुली दुधौली नगरपालिका ९ बस्ने वर्ष २७ को शुशील कपाडी र उदयपुर कटारी नगरपालिका ३ बस्ने वर्ष ४१ को मनोज कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय दुधौलीको टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय डकाहा मार्फत सिन्धुली जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीसहितका मध्यपहाडी र तराईका जिल्लामा पछिल्लो समय लागुऔषध प्रयाेगकर्ता र कारोबार बढ्दो देखिएको छ । विशेषगरी भारततर्फको सीमावर्ती क्षेत्र हुँदै सिन्धुली भित्रिने र लागुऔषध युवाहरूले प्रयोग गर्नु सिन्धुलीको लागि ठूलो चुनौती बनेको छ ।
प्रहरीका अनुसार हेरोइन जस्ता घातक पदार्थ सानो मात्रामा पनि प्रयोगकर्तालाई दीर्घकालीन लतमा पार्ने भएकाले यो नियन्त्रण गर्न कडा कदम आवश्यक छ ।
जिल्लामा लामो समयदेखि लागुऔषधको कारोबार भइरहेको आशंका गरिएको मार्गमा निगरानी बढाइएको जिल्ला प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।
कारोबारी र प्रयोगकर्ता संख्या बढ्दो
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आव ०८१/०८२ मा लागुऔषधसँग सम्बन्धित ४६ मुद्धा चलेको छ । यस क्रममा ९३ जना व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूको तथ्यांक अनुसार लागुऔषधको कारोबारमा पुरुष ८४ जना, महिला ७ जना र तेस्रोलिङ्गी पुरुष २ जना छन् । यसबाहेक, यस कार्यमा संलग्न ४ जना भने अझै फरार रहेको र उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले विभिन्न स्थानमा गरेको छापा र अनुसन्धानका क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बरामद भएका लागुऔषधमध्ये ३८४ ग्राम २३३ मिलिग्राम खैरो हेरोइन र २९४ किलो ६९४ ग्राम गाँजा बरामद गरेको छ ।
यसबाहेक, ३१९१० पिस ट्याब्लेट र विन्सरेक्स २१ बोतल र एक्सिप्लन न्यू ७३ बोतल पनि बरामद भएको छ । यसले जिल्लामा ट्याब्लेट र झोल पदार्थका रूपमा पनि लागुऔषधको प्रयोग बढ्दै गएको देखाउँछ ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाउनुका साथै, यसको रोकथामका लागि जनचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
जिल्ला प्रहरी प्रमुख सुवेदीले लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गरिने र यसको सञ्जाल तोड्नका लागि प्रहरीले थप सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4