+
+
Shares

इजरायली सेनाकै तथ्याङ्कले भन्छ- गाजामा ८३ प्रतिशत सर्वसाधारण मारिए

इजरायली सेनाले तयार गरेको गोप्य तथ्याङ्कका अनुसार गाजाविरुद्ध इजरायली आक्रमणमा ८ हजार ९०० जना लडाकु मारिएको आकलन गरिंदा बाँकी सर्वसाधारण रहेका छन् । अहिलेसम्म मृतकको संख्या ५३ हजार पुगेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सैन्य गुप्तचर डाटाबेस अनुसार गाजामा मारिएका ८३ प्रतिशत मृतक सर्वसाधारण नागरिक छन्, जुन आधुनिक युद्धका लागि अत्यधिक अनुपात हो।
  • अन्य संघर्षका कुनै शहर वा विशेष लडाइँमा यस्तै अनुपात पाइन सकिन्छ, तर समग्रमा यस्तो देखिनु अत्यन्तै दुर्लभ हो ।
  • इजरायलले अर्को स्थलगत आक्रमणको तयारी गरिरहेको छ, जसले नागरिकका लागि विनाशकारी परिणाम ल्याउने सम्भावना छ।

६ भदौ, काठमाडौं । गाजामा आक्रमणबाट मारिएका छ मध्ये पाँच जना सर्वसाधारण रहेको इजरायली सेनाको गोप्य सैन्य गुप्तचर डाटावेशमा आधारित तथ्याङ्कले देखाएको छ । यो नरसंहार पछिल्ला दशकमा भएका युद्धहरूमध्ये अत्यधिक हो ।

युद्ध सुरु भएको १९ महिनापछि, गत मे महिनासम्म इजरायली गुप्तचर अधिकारीहरूले हमास र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) सहितका ८ हजार ९०० लडाकु मारिएका वा मारिएका हुनसक्ने भन्दै तथ्याङ्क संकलन गरेका थिए । द गार्डियन र अन्य केही सञ्चार माध्यमहरूको संयुक्त अनुसन्धानले यो तथ्य उजागर गरेको हो ।

यही समयमा गाजास्थित स्वास्थ्य अधिकारीहरूको अनुसार, इजरायली आक्रमणबाट कुल ५३ हजार प्यालेस्टिनी मारिएका छन्, जसमा लडाकु र नागरिक दुवै पर्छन्।

सैन्य गुप्तचर डाटाबेसमा नामसहित सूचीकृत लडाकुहरू कुल मृतकको मात्र १७ प्रतिशत रहेका थिए। यसको अर्थ, ८३ प्रतिशत मृतकहरू सर्वसाधारण नागरिक हुन्।

मृतकमध्ये नागरिकको यो अनुपात आधुनिक युद्धका हिसाबले अत्यधिक हो । सिरीया र सुडानका गृहयुद्ध जस्ता अन्धाधुन्ध हत्या भएका संघर्षहरूसँग तुलना गर्दा पनि यो अनुपात असामान्य देखिन्छ।

‘यति लामो समयसम्म जारी रहँदा पनि मारिएका मध्ये यति ठूलो अनुपात नागरिक हुनु असाधारण हो,’ उप्पसाला कन्फ्लिक्ट डाटा प्रोग्राम (यूसीडीपी) की थेरिज पिटरसनले भनिन्। उक्त संस्थाले विश्वभरका नागरिक मृत्युदर ट्र्याक गर्छ।

‘अन्य संघर्षका कुनै शहर वा विशेष लडाइँमा यस्तै अनुपात पाइन सकिन्छ, तर समग्रमा यस्तो देखिनु अत्यन्तै दुर्लभ हो,’ उनले भनिन् ।

यूसीडीपी का तथ्यांकअनुसार सन् १९८९ पछि विश्वभरका युद्धहरूमा नागरिक मृत्युदर यसभन्दा बढी भएको अवस्था केवल स्रेबरनिका (समग्र बोस्निया युद्धमा होइन), रुवाण्डा नरसंहार र सन् २०२२ मा रूसले मारीउपोललाई घेराबन्दी गर्दा मात्र देखिएको थियो।

केही इजरायली शैक्षिक समूह र अभियन्ता सहितका धेरै नरसंहारविद्, कानुनविद् र मानवअधिकार कार्यकर्ताहरू इजरायलले गाजामा नरसंहार गरिरहेको दाबी गर्छन्। उनीहरूले नागरिकहरूको सामूहिक हत्या र लादिएको भोकमरीलाई आधार बनाएर यो दाबी गरेका हुन् ।

यो तथ्याङ्कलाई अनुसन्धान गरिरहेका सञ्चार माध्यमको प्रश्नमा इजरायली सेनाले उक्त डाटाबेसको अस्तित्व वा हमास र पीआईजेका मृत्युसम्बन्धी तथ्यांकलाई अस्वीकार गरेन। तर द गार्डियन ले सोध्दा भने उनीहरूले आफ्नो प्रतिक्रिया ‘पुनरावलोकन गर्नुपर्ने’ निर्णय गरेको जवाफ दिए।

द गार्डियनलाई पठाइएको छोटो विज्ञप्तिले सैन्य गुप्तचर डाटाबेसबारे उठाइएका प्रश्नहरूलाई प्रत्यक्ष सम्बोधन गरेको थिएन।

इजरायली सेनाले भनेको छ, ‘लेखमा प्रस्तुत गरिएका तथ्यांकहरू गलत छन् ।’ तर उनीहरूले तथ्यांक विवादित हो भनेर भने खुलाएका छैनन् । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले ती आफ्नो प्रणालीमा उपलब्ध तथ्यांकसँग मेल नखाने पनि दाबी गरेको छ ।

एक प्रवक्ताले एउटै तथ्यांकसम्बन्धी प्रश्नमा फरक–फरक जवाफ किन दिइयो भन्नेबारे तत्काल प्रतिक्रिया दिएनन् ।

कालो धुँवाको मुस्लोबाट गुज्रिरहेका प्यालेस्टिनी । फोटो : एपी

डाटाबेसमा हमास र पीआईजेका सैन्य संरचनामा सक्रिय मानिएका ४७ हजार ६५३ प्यालेस्टिनीहरूको नाम समावेश छ। यो तथ्यांक गाजाबाट कब्जा गरिएका ती समूहका आन्तरिक कागजातहरूमा आधारित भएको बताइन्छ, तर द गार्डियन ले ती कागजातहरू प्रत्यक्ष हेरेको वा प्रमाणित नगरेको जनाएको छ ।

डाटाबेससँग परिचित धेरै गुप्तचर स्रोतहरूले सेनाले यसलाई लडाकुहरूको मृत्युबारे आधिकारिक मानक तथ्यांकका रूपमा लिएको बताएका छन्।

लोकल कल को रिपोर्टअनुसार, सेनाले गाजाको स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित मृत्युसंख्या पनि विश्वसनीय ठानेको छ। हालै सैन्य गुप्तचर प्रमुखसमेतले यसलाई उद्धृत गरेका थिए, यद्यपि इजरायली नेताहरूले नियमित रूपमा यसलाई ‘प्रचार’ भन्दै अस्वीकार गर्ने गरेका छन्।

तर दुवै डाटाबेसले वास्तविक मृत्युसंख्या कम देखाउने सम्भावना छ। गाजाको स्वास्थ्य मन्त्रालयले शव फेला परे मात्र मृतकको सूचीमा समावेश गर्छ, तर भग्नावशेषमुनि हजारौं अझै पुरिएका छन्।

त्यस्तै, इजरायली सैन्य गुप्तचरलाई सबै लडाकुहरूको मृत्यु वा नयाँ भर्तीबारे जानकारी हुँदैन। तर युद्ध योजनाका लागि इजरायली अधिकारीहरूले यी नै डाटाबेस प्रयोग गर्छन्।

इजरायली नेताहरू र जनरलहरूले कतिपय अवस्थामा लडाकु मृत्युसंख्या २० हजार भन्दा माथि पुगेको दाबी गरेका छन् । उनीहरूको दाबी रहने गरेको छ-  नागरिक–लडाकु मृतक अनुपात १:१ मात्रै छ ।

यी तथ्यांकमा हमाससँग सम्बन्धित नागरिकहरू, जस्तै सरकारी कर्मचारी वा प्रहरी पनि समेटिएका हुनसक्छन् । यद्यपि अन्तर्राष्ट्रिय कानुनले युद्धमा संलग्न नभएका व्यक्तिलाई लक्षित गर्न प्रतिबन्ध लगाएको छ। यसबाहेक, कतिपय अवस्थामा कुनै पनि हमाससँग सम्बन्ध नभएका प्यालेस्टिनीहरू पनि समावेश हुने सम्भावना छ।

इजरायलको दक्षिणी कमान्डले सैनिकहरूलाई गाजामा मारिएका व्यक्तिलाई कुनै पहिचान वा प्रमाणीकरण नगरी लडाकु मृतकको रूपमा रिपोर्ट गर्न अनुमति दिएको थियो।

‘मानिसहरूले मृत्यु पछि मात्रै आतङ्ककारी पदवी पाउँछन्,’  त्यहाँ फौजसँगै रहेका एक गुप्तचर स्रोतले भने । ‘यदि मैले ब्रिगेडको रिपोर्ट मात्र सुनेको भए, म यो निष्कर्षमा पुग्थेँ कि हामीले त्यहाँ हमासका २०० प्रतिशत लडाकु मारिसकेका छौँ,’ उनले भने ।

गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भइसकेको र दशौं हजार मानिस मारिइसकेका छन् । गोप्य डाटाबेसमा अझै पनि करिब ४० हजार जना मानिसलाई सेनाले ‘लडाकु’ र जीवित भनेर सूचीकृत गरेको छ।

एक अवकाशप्राप्त जनरल इज्हाक ब्रिकका अनुसार, सक्रिय इजरायली सैनिकहरूलाई पनि नेताहरूले हमास मृत्युदर बढाएर प्रस्तुत गर्छन् भन्ने थाहा छ । युद्ध सुरु हुँदा उनी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सल्लाहकारमध्येका एक थिए ।

तर अहिले उनी नेतान्याहुका तीव्र आलोचक बनेका छन्। ‘घोषित संख्याहरू र वास्तविकताबीच कुनै सम्बन्ध छैन। यो त ठुलो ठगी मात्र हो,’ उनले भने।

ब्रिकले इजरायली सैन्य कलेजको कमान्ड गरेका थिए र अझै पनि अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउँछन्। उनले गाजामा मारिएका प्यालेस्टिनीहरूको पहिचान गर्ने युनिटका सैनिकसँग भेटेको अनुभव सुनाउँदै भने, ‘उनीहरूले मलाई भनेका थिए, मारिनेमध्ये अधिकांश नागरिक हुन्।’

यद्यपि गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भइसकेको र दशौं हजार मानिस मारिइसकेका छन् । गोप्य डाटाबेसमा अझै पनि करिब ४० हजार जना मानिसलाई सेनाले ‘लडाकु’ र जीवित भनेर सूचीकृत गरेको छ।

प्यालेस्टिनी विश्लेषक मुहम्मद शेहादाका अनुसार, हमास र पीआईजेका सदस्यहरूबाट आएका मृत्युसंख्या अनुमानले पनि इजरायली अधिकारीहरूले सार्वजनिक रूपमा लडाकु मृत्युसंख्या बढाएर प्रस्तुत गरेको देखाउँछ ।

२०२४ डिसेम्बरसम्म हमास र पीआईजेका सैन्य तथा राजनीतिक संरचनाबाट करिब ६ हजार ५ सय जना मारिएको अनुमान गरिएको ती समूहका सदस्यहरूले बताएका छन्। उनले भने, ‘इजरायलले सिमानालाई विस्तार गर्छ ताकि गाजाका हरेक व्यक्तिलाई हमासको सदस्य भनेर परिभाषित गर्न सकियोस्। यो सबै तत्कालीन सामरिक कारणले गरिने हत्या हो, जसको वास्तविक खतरासँग खासै सम्बन्ध छैन।’

मृतकमध्ये नागरिकको अनुपात मे महिनापछि अझ बढेको हुनसक्छ। त्यतिबेला इजरायलले युद्धभर प्यालेस्टिनीहरूलाई खाना पुर्‍याउँदै आएका संयुक्त राष्ट्रसंघ र मानवीय संस्थाहरूको ठाउँ लिने प्रयास गरेको थियो। त्यस क्रममा खाद्यान्न वितरण केन्द्रमा पुगेका सयौं मानिसलाई इजरायली सेनाले सैन्य निषेधित क्षेत्र भन्दै गोली हानेर मारिदिएको थियो।

अहिले बाँचेका मानिसहरू यसअघि गाजाको केवल २० प्रतिशत भूभागमा सीमित गरिएका नागरिक मात्र हुन् । अहिले उनीहरूलाई उत्तरी क्षेत्र पनि छोड्न बाध्य पारिएको छ ।

इजरायलले अर्को स्थलगत आक्रमणको तयारी गरिरहेको छ, जसले नागरिकका लागि विनाशकारी परिणाम ल्याउने सम्भावना छ।

लन्डन स्कूल अफ इकोनोमिक्सकी प्राध्यापक एमेरिटस मेरी काल्डरका अनुसार, नरसंहारको यो ठूलो परिमाण आंशिक रूपमा युद्धको स्वरूपकै कारण भएको हो ।

न्यू वार्स नामक पुस्तककी लेखक र कन्फ्लिक्ट रिसर्च प्रोग्रामकी निर्देशक पनि रहेकी उनले भनिन्, ‘अन्तर्राष्ट्रिय मानवीय कानुन परम्परागत युद्धलाई ध्यानमा राखेर विकास गरिएको हो, जहाँ राज्यहरूले सेनाहरूलाई रणभूमिमा आमनेसामने भिडाउँछन्। रूस–युक्रेन युद्ध अझै धेरै हदसम्म यही मोडेलअनुसार चलिरहेको छ।’

तर गाजामा इजरायल घनीभूत बस्तीमा हमास लडाकुहरूसँग लडिरहेको छ, जहाँ सेनाले सामान्य तहका लडाकु लक्षित गर्दा पनि ठूलो संख्यामा नागरिक मार्न स्वीकृति दिएको छ।

काल्डर भन्छिन्, ‘गाजामा हामी युद्धभन्दा बढी लक्षित नरसंहार अभियानबारे कुरा गर्दैछौं र ती पूर्ण रूपमा नागरिकलाई बेवास्ता गरेर गरिन्छ।’

उनका अनुसार गाजामा नागरिक मृत्युदर सुडान, यमन, युगाण्डा र सिरियाका पछिल्ला युद्धहरूसँग बढी मिल्दोजुल्दो छ, जहाँ हिंसा प्रायः नागरिकतर्फै केन्द्रित थियो।

‘यी युद्धमा सशस्त्र समूहहरूले प्रत्यक्ष लडाइँ टार्छन्। उनीहरू एकअर्कासँग लड्न चाहँदैनन्, बरु भूभाग नियन्त्रण गर्न नागरिकलाई मार्छन्’ उनले भनिन्, ‘सायद इजरायलको पनि यही उद्देश्य हो- गाजाको जनसंख्या नियन्त्रण गर्ने र जबर्जस्ती विस्थापन गर्ने। हुनसक्छ यो युद्धको उद्देश्य सधैं त्यही थियो।’

इजरायली सरकारले भने यो युद्ध १२ सय जना मारिनेगरी ७ अक्टोबर २०२३ मा हमास नेतृत्वमा भएको आक्रमणपछिको आत्मरक्षाको लडाइँ भएको बताउँदै आएको छ।

तर राजनीतिक तथा सैन्य नेताहरू नियमित रूपमा नरसंहारजन्य भाषा प्रयोग गर्ने गरेका छन्। युद्ध सुरु हुँदा सैन्य गुप्तचर प्रमुख रहेका अहारोन हालीभाले भनेका थिए, ‘त्यो दिन मारिएका प्रत्येक व्यक्तिको बदलामा ५० प्यालेस्टिनी मर्नैपर्छ, चाहे ती बच्चा नै किन नहोस्।’

सन् २०२४ अप्रिलमा पदत्याग गरेका हालीभाले यस महिनै इजरायली टेलिभिजनमा प्रसारित भएको अन्तर्वार्तामा गाजामा भएको सामूहिक हत्या ‘आवश्यक’ भएको र यसले प्यालेस्टिनीहरूको भावी पुस्तालाई ‘सन्देश’ दिने बताएका छन्।

धेरै इजरायली सैनिकहरूले पनि गाजामा सबै प्यालेस्टिनीलाई लक्ष्यकै रूपमा लिइएको अभिव्यक्ति दिएका छन्। रफाहमा खटिएका एक सैनिकले यसै वर्ष भने, ‘हाम्रो युनिटले बालुवामा काल्पनिक रेखा खिचेको थियो, जसलाई पार गर्ने जो–कोहीमाथि गोली चलाइन्थ्यो, जसमा दुई पटक बच्चा र एक पटक महिला पनि परे।’

उनीहरूको भनाइमा, इजरायली सेनाहरूले चेतावनी होइन, मार्ने उद्देश्यले गोली चलाएका थिए। ‘कसैले पनि खुट्टामा हानेन,’ उनले भने।

अक्सफोर्ड विश्वविद्यालयकी अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक र कस्ट्स अफ वार परियोजनाकी सह–संस्थापक नेटा क्रफोर्डका अनुसार इजरायली रणनीतिले दशकमै विकास गरिएको नागरिक–सुरक्षासम्बन्धी सैन्य अभ्यासलाई ‘चिन्ताजनक’ ढंगले दुत्कारेको देखिन्छ।

सन् १९७० को दशकमा भियतनाममा अमेरिकी सेनाले गरेको संहारमाथि व्यापक जनआक्रोशपछि पश्चिमी सेनाहरू नागरिकलाई बचाउनेतर्फ केन्द्रित हुने गरी लडाइँको शैली बदल्न बाध्य भएका थिए। उनले थपिन्, ‘ती नीतिहरू पूर्ण रूपमा लागू नभए पनि नागरिक क्षति घटाउनेतर्फको ध्यान दिएझै देखिन्थ्यो, जुन अब इजरायली सेनाको सैन्य गणनामा देखिँदैन ।’

उनले भनिन्, ‘उनीहरूले अमेरिकाजस्ता राज्यहरूले प्रयोग गर्ने गरेको नागरिक मृत्युदर अनुमान र निवारण गर्ने प्रक्रिया नै अपनाएको भन्छन् तर, यदि तपाईंले यी मृत्युदर र बमबारी तथा नागरिक पूर्वाधार नष्ट गर्ने अभ्यासलाई हेर्नुभयो भने उनीहरूले त्यस्तो केही गरिरहेका छैनन् भन्ने स्पष्ट हुन्छ ।’

(गार्डियनबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?