
जन्मंदै नजन्मिएको छोरा छोरीको सपना पहिले नै देख्ने, नदेखेन्जेल माया नलाग्ने, जन्मन्छ, देखिन्छ, हर्षका आँशुसहित अंकमाल गर्ने, चुम्बन गर्ने, मन मनै अथाहा माया गरेर आँखाभरी आशु पारी माया गर्ने, बुवाका विभिन्न स्वरुप हुन्छन्, समाज, परिवार, हुर्काई र वातावरणले फरक फरक समाजका फरक फरक बाबुको माया गर्ने तरिका । जे होस् बच्चाको जन्मपश्चात शुरु भयो मायाजालको खेल ।
त्याग, बलिदान, सपना, माया, प्रेम, स्पर्श कुनै शब्दमा बयान गर्न नसकिने बुवा आमा र सन्तान प्रतिको गहिरो सम्बन्ध ।
परिवर्तित समाजको भड्किलो स्वरुप र यहि भड्किलो समाजमा संस्कारविहीन हुँदै गएका छोरा छोरी, कमजोर हुँदै गएका परिवार, पारिवारिक कसीमा बलियो संस्कार बनाउँदै अथाहा माया दिने बुवाहरू, आफ्नै छोरी बलात्कार गर्ने नरपिचास बुवाहरू, अर्काको कलिला सन्तानलाई निमोठ्ने अर्काकै बाउहरू, सन्तान जन्माएर छाडिदिने औचित्यहीन बाबुहरू, फरक फरक व्यथा, फरक फरक कथा, सबैका बुवा, सबैका परिवार अनि फरक मायाको परिभाषा । समाजमा कुन छोरा छोरी कस्तो संस्कारमा हुर्किएको छ, सोही अनुसार नै सम्बन्ध स्थापित भएको हुन्छ, बाबु आमाको छोरा छोरी प्रति र छोरा छोरीको बाबु आमाप्रति ।
छोरा छोरी सँग सँगै बस्ने पाउने बुवा आमा र सँगै बस्न नपाउने बुवा आमा विचको सम्वन्ध फरक फरक हुन्छ । बिहान बुवा, दिउँसो बुवा, बेलुका बुवा, अनि १ वर्ष पछि देखेको बुवा, ५ वर्ष पछि भेटेको बुवाबीचको सम्बन्धको तुलाना एकै त कहाँ हुन्छ र । सँगै भएको छोरा एकछिन बुवाको छेउमा बस्न सक्दैन भने त्यसको व्याख्या अलग होला । हिन्दू विधिशास्त्रको श्रोतहरूमध्येको एक महत्त्वपूर्ण श्रोत गरुडपुराण–अध्यायः८९ मा एउटा श्लोक छ जसमा ‘पितृन्नमस्ये निवसन्ति साक्षाद्ये देवलोकेऽथ महीतले वा ।, तथान्तरिक्षे च सुरारिपूज्यास्ते वै प्रतीच्छन्तु मयोपनीतम् । अर्थात् मेरो पहिलो देवता त मेरा बुवा नै हुनुहुन्छ त्यसैले सबैभन्दा पहिले म मेरा बुवाकै पाउ पर्छु । म आफ्ना बुवालाई सशरीर रूपमा उपस्थित देवता मान्छु । बुवा त्याग र प्रेमका प्रतिमूर्ति हुनुहुन्छ । व्यवहारिक कुराहरूलाई व्यवस्थापन गर्दै यो कुरा पालना गर्ने संसारका छोराहरू महान हुन् ।
बिग्रँदै गएको बुवाआमाको स्वास्थ्यको पहिलो योग्यता विनाको अघोषित डाक्टर छोरा छोरी नै हुन्छ । मिठो बोलीमा एन्टिबायोटिक भन्दा कडा औषधि हुन्छ, छोरा छोरीको बुवा आमालाई गरेको स्पर्शमा अस्पतालको कयौं दिनको थेरापीभन्दा कडा औषधी हुन्छ, बुढ्यौलीले सताएर मधुरा आँखाले नदेख्दा नदेख्दै आफ्नो छोरा छोरी हो भनी चिन्ने आमा बुवालाई त झन्…, जे होस् मृत्युको अन्तिम क्षणमा पुगेका बुवा आमाले आफूलाई अस्पतालको बेडमा पुर्याएर अन्त्येष्टिको लागि आर्यघाट लगून् भन्ने चाहँदैनन् धेरै बुवाहरू, आफ्नै छोरा छोरी र समाजको काखमा मर्न पाइयोस् भनेर कयौं पटक सलानी पानीका तारहरू छिनालेको आफ्नै आँखाले देखेको छु ।
आधुनिकतामा उन्मत्त भएर रमाइरहँदा बुवाका पसिना र समर्पणलाई भुलियो भने एकदिन त्यहि आधुनिकताले समाप्त पार्नेछ । सबैको बुवाले शब्दमा सबै कुरा भन्नुहुन्न तर मौनताले धेरै कुरा भनिरहेको हुन्छ । कति बुझ्ने भन्ने छोराछोरीमा भर पर्ने कुरा हो । चुपचाप बसेर गरेको बलिदानहरुमा, रातभरको चिन्तामा र जति थाके पनि गरेको निरन्तर मिहेनतमा प्रत्येक बुवाको आफ्नो सन्तान प्रतिको गहिराई लुकेको हुन्छ, जसलाई बुझ्नै कठिन छ, त्यही नै बुवाको माया हो । हरेक सफल छोराछोरीको पछाडी एक असाधारण बुवा हुन्छन् । बुवा बन्नु त सजिलो होला तर बुवा जस्तो बन्न समय, समर्पण, त्याग र प्रेम चाहिन्छ, त्यस्तो माया गर्ने कारणले एक साधारण बुवालाई नायक बनाउँछ, सुपर नायक बनाउँछ । एक सफल बुवाले जीवनलाई कसरी बाँच्ने भनेर सिकाइरहनु पर्दैन, बुवाले हिँडेका बाटो देख्न सक्ने र बुझ्न सक्ने छोराछोरी सफल बन्न सक्नछन् । बुवा एक मौन बलिदानको पर्याय, आवश्यकता पर्दा चुपचाप दिइएको साथ, बुवाको उपस्थिती र निश्चल समर्पणमा लेखिएको एउटा सुन्दर कथा नै समग्रमा बुवा हो ।
बुवा आमाको कर्तव्य भनेको केवल सन्तानलाई जन्मदिनु मात्र होइन । एक बुवा अनेकौ भूमिकामा देखिनु पर्ने हुन्छ । सन्तान सुखको लागि गरिएका त्याग र बलिदानीमा बुवाले सुरक्षक, शिक्षक, साथी, मार्गदर्शक, र कहिलेकाहीं अनुशासन दिने व्यक्तिको रूपमा भूमिका खेल्ने गर्दछन् । यी सबै भूमिका निभाउँदै गर्दा उनीहरूले आफ्नो व्यक्तिगत भावना र सामाजिक जिम्मेवारीहरूबीच सन्तुलन कायम गर्ने प्रयास गर्दछन् । समाज र संस्कृतिले पनि बुवाप्रति फरक–फरक अपेक्षा राख्ने भएकाले पितृत्वको जिम्मेवारी अझ चुनौतीपूर्ण हुन्छ । साथै, आधुनिक जीवनका व्यस्तता, डिजिटल युगका प्रभावहरू, र बदलिँदो सामाजिक संरचनाले बुवाहरूलाई नयाँ तरिकाले सोच्न र व्यवहार गर्न बाध्य बनाएको छ । छोराछोरीको बुझाई र आफ्नो पुरातनवादी सोचलाई तिलाञ्जली लिई आधुनिकतामा रमाउन धेरै बुवाहरुलाई गाह्रो परिरहेको हुन्छ । त्यहाँ पनि बुवाहरूले समर्पण नै गरेका हुन्छन् । तर उत्ताउलो आधुनिकताको नाममा आफ्नै बुवालाई सामाजिक समाजमा लज्जास्पद बनाउने काम कुनै पनि छोरा छोरीले नगरुन् । बुवाको मायालाई बुझ्न सक्नु नै सबै भन्दा ठूलो महानता हो । बुवाको माया र साथले सन्तानको जीवनमा स्थिरता, आत्मविश्वास, र जिम्मेवारीको भावना विकास गराउछ । धैर्य, मिहिनेत, इमान्दारी, र प्रेमजस्ता मूल्यहरू जसले व्यक्ति र समाज दुवैलाई समृद्ध बनाउँछन् भन्न ज्ञान बुवाबाट प्राप्त हुने कुरा हो ।
बुवाको दिवस केवल उत्सव होइन, त्यो बुवाले गरेको समर्पण र भूमिकाको सम्मान हो जुन कहिले देखिदैन र कुनै प्रतिस्थापन गर्न सकिदैन । छोराछोरीको लागि आफ्ने शरिर समर्पण गर्ने बुवाहरु पनि देखेको छु । संसारमा जहाँ भावना शब्दबाट व्यक्त गरिन्छ, त्यहाँ बुवाहरुको माया कामबाट देखिन्छ । एकदिनको उपहारले बुवाहरूको मन कति भरिन्छ त्यो एकिन गर्न सकिने विषय होइन, तर कण कणबाट गरेको प्रेम र माया अनि सेवाका प्रत्येक हातहरूले बुवा आमाको मन भरिन्छ । व्यक्ति अनुसार बुझाई त फरक फरक हुन्छ तर परम्परा अनुसार कुशे औंशीका दिनलाई आफ्नो बुवाको मुख हेर्ने दिन मात्र होइन बुवाको मुहारमा खुशी छ या छैन ? बुवालाई के दुःख परेको छ ? किन ल्याउन सकिएन भनेर चिन्तन गर्ने र आजीवन बुवाको अनुहारमा खुशी छर्ने प्रतिबद्धता जनाउने दिन हो । जुन कुरा संसारलाई देखाएर होइन, बुवाले अनुभूती गर्नेगरी गर्न सकेमा त्यो नै साधारण बुवालाई असाधारण माया हुनेछ ।
कतिपय समाजमा बुवाआमा पनि आफ्ना सन्तानका लागि उल्झन, बाधक र समस्या बनिरहेको पेशागत रुपमा काम गरिरहँदा आएका विभिन्न घटना परिघटनाले देखाउँछ । बुवा आमा भन्ने शब्द नै अति प्यारो शब्द हो, बुवाआमाको घमण्डका कारण छोराछोरीले आफ्नो अधिकारले प्राप्त गर्ने बाबु आमाको माया गुमाएका हुन्छन । व्यक्तिकेन्द्रित लेख नभएकोले त्यस्ता सांकेतिक घटनाहरूको उल्लेख गरेको छैन, तर जुनछोरा छोरीको प्रगतिको लागि बुवा आमाले भविष्यको बाटो कोर्ने बेलामा भएका बाटोको गेट बन्द गरिदिने बुवा आमाहरू देख्दा, कस्तो संस्कारमा आफ्नै छोरा छोरी हुर्काएको रहेछन् भन्ने लाग्छ र न्यायको लागि अडिरहँदा आफ्नै आमाबुवाबाट स्वत: पाउने माया, सम्मान र सम्पत्ति पनि अदालतको ढोकाबाट लिनुपर्ने बाध्यता आजको समाजमा नभएको पनि होइन ।
हाम्रो नेपाली समाजमा आफ्नो केही अपवादबाहेक आमा बुवाको चित्त दुखाउनेहरू आजसम्म न त धनी हुन सकेका छन् न त सुखी नै हुन सकेका छन् । आफ्ना आमा बुवाप्रति उदार र निःस्वार्थ बनेकाहरूले प्रगतिको शिखर चुमिरहेका हुन्छन् । वास्तावमा आमा बुवा र छोरा छोरीको गहिरो सम्बन्ध हुन्छ भन्ने कुरा कुनै शंका छैन, छोराछोरी रुँदा आमा बुवा हाँस्ने क्षण भनेको जन्मिएको बेला मात्र हो, त्यसपछि छोरा छोरी रुँदा बुवा आमा कहिले हाँस्न सक्दैन् । त्यसकारण आमाबुवा सन्तानको भार होइन, भाग्य हो । जुनकुरा सँग हुँदा थाहा नहुन सक्छ, सदाको लागि छाडेर गएर पछि त्यसको आवश्यकता र औचित्यता अत्यधिक बढेर आउँछ त्यसको मूल्य र अर्थ हुँदैन । हातको हिरा हातमा हुँदा मूल्य हुन्छ, भुइँमा झरेपछी होइन ।
आमा बुवा म सँग बस्नु हुन्छ, आमा बुवालाई मैले पालेको छु भन्ने छोराछोरी र आमा बुवासँग मैले बस्न पाएको छु भन्ने छोराछोरीहरूको महानतामा धेरै फरक छ । कतिपय छोराछोरीले आफ्नै बुवा आमालाई राम्रो व्यवहार गर्न नजानेको कारण समेत सम्बन्धमा तिक्तता आएको देखिन्छ । ठूलो स्वरमा आमा बुवालाई सम्झाउनु पर्दैन, हामीले बोल्नै नसकेको बेलामा पनि हाम्रो कुरा बुझ्ने भनेकै बुवा आमा हो । त्यसैले समाजमा सबैका बुवाआमालाई आफ्ना सन्तान उत्कृष्ट लागून् अनि सबै छोराछोरीलाई आफ्नो आमा बुवा महान लागून् । सबैका बुवाहरूले आफ्नो छोराछोरीको साथ पाउन् । प्रगति देख्न पाउन र प्रगतिमा रमाउन पाउन् । मृत्यू पश्चात् अत्यधिक शोक गरेर बुवालाई स्मरण गरेर कति प्रापत होला, पितृ कति खुसी होलान् त्यो त भन्न सकिँदैन, तर जिउँदोमा गरेको प्रेमले सदासर्वदा स्वर्गलोकमा बुवालाई खुसी मिल्ने चाहिँ पक्का छ । कवि शिरोमणि लेखनाथ पौड्यालको एउटा कविताको अंश “पाली पोसी ठूलो पारी सत्कर्म तिर लाउन । कति कष्ट पर्यो होला पितालाई तिम भन ।” मात्र बुझ्यो भने जीवन अर्थपूर्ण हुन्छ ।
मानिसको जीवन भनेकै एक पानी घट्ट जस्तो हो, घट्ट घुमिरहन्छ, जिवन चलिरहन्छ, घट्टमाथि सोलीसँग जोडिएको काठको चरा मानिसको मुटुजस्तै हो, जति चल्छ, त्यति मकैका गेडा झरिरहन्छन्, मकैका गेडा हाम्रो आयू हो, जन्मँदा निश्चित समय लिएर जन्मिएको हुन्छ, कसैको अलि बढी अनि कसैको ज्यादै कम, घट्ट घुमिरहन्छ, जीवन चलिरहन्छ, निरन्तर, आज एक दिन सकिनु उमेर घट्नु नै हो । जसले यस पृथ्वीमा जन्म गरायो उ नै साक्षत देवता हो । बरु आफू बाबु आमा बन्ने अवसर नमिल्न पनि सक्छ, तर बुवा आमासबैको भाग्यमा हुन्छ । जन्मिसकेपछि मान्छेको निश्चित आयू छ । जति मन लाग्यो त्यति बाँच्न सक्दैनँ त्यही भएर मान्छे बाँचुन्जेल सत्कर्म गर्नुपर्छ । हरेक व्यक्ति बच्चा, तन्नेरी, युवा र बुढो हुँदै उसको जीवनलीला समाप्त हुन्छ । बुवा भन्नु र बुवा बन्नु धेरै फरक कुरा हो । बाबु आमाको माया छोरा छोरी माथि, छोरा छोरीको माया उसकै छोरा छोरी माथी यहि भएर माया तलतिर बग्ने पानी जस्तै हो, माथि फर्कँदैन, यसैले सेवा नै माया हो, सेवाबाट माया देखिन्छ । माया भन्ने चिज गरेर मात्र हुदैन, गरेको देखिनु पनि पर्छ । मन भित्र अथाहा माया भएको तर सेवा नगर्ने छोराछोरी र मायाको परिभाष नै नबुझि सेवालाई मायाको रुपमा बुझ्ने छोराछोरीमा सेवा गर्ने छोराछोरी नै महान् हुन् । जीवन जिउनु र जीवन बाँच्नुमा फरक छ, आमाबुवाका अनुहारमा भएको खुसी कुनै मूल्यमा तुलना हुँदैन, खुसी भन्ने शब्द नै लाखौं विलासी जीवन भन्दा माथि हुन्छ, यसकारण सबै छोराछोरीलाई आफ्नो बुवाको मुखमा खुसी भएको देख्न अवसर मिलोस् कुशे औंशीको सबैलाई शुभकामना ।
(डा. सापकोटा अधिवक्ता तथा नेपाल ल क्याम्पसको उप-प्राध्यापक हुन्)
प्रतिक्रिया 4