
२६ साउन, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल आफ्ना दिदीबहिनीसँगै बुवाको किरिया बसेकी छिन् । उनका बुवा हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
उपप्रमुख सापकोटासहित राधिका र निर्मला समेत बुवाको किरिया बसेका छन् । बिमलाका पाँच दिदीबहिनी छन् । जेठी सुन्तली र माइली कमला भने स्वास्थ्यका कारण किरिया बसेनन् ।
बिमला बनेपा नगरपालिकाकी उपप्रमुख हुन् । निर्मला बुद्धिजीवी परिषद्, एमाले काभ्रेको जिल्ला कोषाध्यक्ष नेतृत्वमा छिन् भने राधिका नेकपा एमाले धादिङकी उपसचिव हुन् ।
आफूहरू बुवाको किरिया बसेपछि छिमेकी तथा दाजुभाइले बहिष्कार गरेको उपप्रमुख सापकोटाले गुनासो गरेकी छिन् । सामाजिक सञ्जाल मार्फत उपप्रमुख सापकोटाले सानैदेखि सहँदै आएको विभेद र तिरस्कार विरुद्ध अडान कायमै रहेको बताएकी छिन् ।
‘सानैमा आमाको मृत्यु भयो आमा र बुवा दुवैको माया र अभिभावकत्व दिएर आजको अवस्थासम्म आउने वातावरण सिर्जना गरिदिनुभयो’ उनले भनेकी छिन्, ‘छोरा नभएको कारण यो समाजको धेरै भनाइ र तिरस्कार त जिउँदो छँदा धेरै भोग्नुभयो । मृत्युपश्चात् पनि तपाईंको काजकिरियाको सवालमा यो समाजले ठूलै बहस चलायो । तर सानैदेखि विभेद र तिरस्कार सहेका हामी आफ्नो अडानदेखि एकरत्ति डगमगाएका छैनौं ।’
उनले छरछिमेकमा आफूहरू विरुद्धमा भएको बहिष्कारका छलफलहरू तुरुन्तै रोक्न पनि भनेकी छिन् ।
‘हामीले अरू कसैको वंशमा दक्खल गरेका छैनौं,’ उपप्रमुख सापकोटाले लेखेकी छिन्, ‘हामी अब थप पीडा सहन सक्ने अवस्थामा छैनौं ।’
उनले अबको १३ दिन बुवाको घरमा बसेर काजकिरिया सक्ने र त्यसपछि सधैंका लागि माइतीको ढोका बन्द गरेर फर्कने सामाजिक सञ्जाल मार्फत बताएकी छिन् ।
केही नजिकका दाजुभाइहरू ढिकुरो बनाउन समेत नगएर बहिष्कार जस्तै गरेको तर अन्य केही दाजुभाइले भने साथ दिइरहेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया 4