+
+
Shares

रैथाने स्वाद र स्वामित्वमा आधारित हुनुपर्छ नेपाली समाजवाद

हामी जरा जलाएर रूख खोज्दैछौं। जरै जलाएपछि रूख, फल अनि भविष्यको लागि बीउ कहाँ पाउनु ?

सुदन किराती सुदन किराती
२०८२ भदौ ११ गते १४:२०

राजनीतिको जमिन जनता हो। सिद्धान्त, विचार, दर्शन र संस्कृति जरा हो। प्रकृतिले हामीलाई यही कुरा सिकाएको छ। जसरी माटोलाई सुहाउने बिरुवा रोपियो भने मात्रै फुल्न र फल्न सक्छ। व्यवस्था परिवर्तन गर्दासम्म हामीले माटोको गुण पत्ता लगायौं। अवस्था बदल्न हामीले माटो अनुसारको बीउ पत्ता लगाउन सकेनौं। आधुनिक खेतीपातीमा माटोको परीक्षण गरेर बाली लगाए जस्तै अवस्था बदल्नको निम्ति समाजको गहिरो अध्ययन मार्फत नयाँ विचार आविष्कार गर्न सकेनौं। ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ हामीले सधैं यही भनाइलाई जीवनको आदर्श मान्दै ठूलो उद्देश्य राख्यौं तर त्यो उद्देश्य प्राप्तिको लागि आवश्यक कठोर मिहिनेत नगर्दा अपेक्षा अनुसारको परिणाम निकाल्न सकेनौं।

हामी कहाँ पछिल्लो समयमा देखिएको समस्या जरा र जमिनको सम्बन्धलाई उपेक्षा गर्नु हो। पार्टीहरूले त्यसलाई बलियो र भरपर्दो बनाएनन्। बरु उनीहरू पद, पावर र पैसाका लागि मरिहत्ते गर्नाले देशमा भ्रष्ट संस्कृति बनिरहेको आम धारणा निर्माण भइरहेको छ।

चिनियाँ समाजवादको निर्माणको लागि उबेला नै माओले आर्थिक/उत्पादन र सुधारको सम्बन्धबारे स्पष्ट पार्दै भन्नुभएको थियो– ‘जुत्ता अनुसार खुट्टा होइन, खुट्टा अनुसार जुत्ता बनाऊ।’ हामीकहाँ चाहिं कहिले जुत्ताको आधारमा खुट्टा काटियो, कहिले खुट्टा भन्दा ठूलो जुत्ता लगाएर जुत्ताकै भारीले पाइला चाल्न सकिएन। अर्काको देखासिकी गर्ने हाम्रो अज्ञानता थियो वा अंहकार? यो प्रश्नको उत्तर इतिहासको चिहानबाट उत्खनन गर्नुपर्नेछ।

भौतिकशास्त्री अल्वर्ट आइन्स्टाइनको सापेक्षतावाद मुख्यत: भौतिक शास्त्रमा आधारित भए पनि यसको सार दर्शन जीवनको अर्थमा पनि जोडिन्छ। कुनै पनि मूल्य, अवस्था र अनुभव एक समय, स्थान र सन्दर्भमा मात्र सही हुन्छ। अर्को परिवेश, समय, सन्दर्भ, अवस्था, मनोविज्ञान र संस्कृतिमा त्यो हुबहु लागू नहुन सक्छ। एक समाजको मूल्य अर्को समाजमा लगेर थोपरियो भने त्यहाँ परिणाम अनपेक्षित र प्रतिकूल हुनसक्छ। त्यसैले; मूल्य, मान्यता र अभ्यासहरू पनि सापेक्षित हुनुपर्छ। सत्य, नियम र अभ्यासहरू पूर्णत: निरपेक्ष हुँदैनन्।

अवस्था, समय र स्थान अनुसार परिस्थिति र सन्दर्भ बदलिन्छ। बरू फरक–फरक विषयका असल अभ्यासहरू समायोजन गरी अनुसरण गर्न सकिन्छ तर यान्त्रिक ढंगले जस्ताको त्यस्तै लागू गर्दा दुष्परिणामहरू जन्मिने खतरा हुन्छ। उदाहरणका लागि चिनियाँ विशेषताको समाजवाद निर्माण गर्दा एउटा राजनीतिमा अर्को अर्थनीति जोडेकै कारण आज चीन सुपरपावर राष्ट्रको रूपमा उदाएको छ।

यसैगरी नर्वे, फिनल्यान्ड लगायत देशहरूमा फरक सिद्धान्तको राजनीति र फरक सिद्धान्तको अर्थनीतिलाई जोडेर ती देशहरू समृद्धिको उदाहरण बन्न सफल भएका छन्। तर सापेक्षतावादले प्रमाणित गरेको केही त्यस्तो निरपेक्ष रहने सार्वभौमिक विषयहरू पनि छन्। पृथ्वीमा गुरुत्वाकर्षण, गति र बलको नियम जसलाई स्थान, समय र संस्कृतिसँगै बदल्न सकिंदैन र मिल्दैन।

समाजवाद कतैबाट जस्ताको त्यस्तै ल्याउने वस्तु होइन। यही समाजमा भएको समाजवादी अभ्यास, संस्कृति इतिहास दर्शनहरूका भ्रूणहरूलाई नै विकास गर्दै नेपाली मौलिक समाजवादमा पुगिन्छ र त्यही नै आजको ‘नेपाली जनताको समाजवाद’ हुनेछ

हाम्रो देश नेपालको उत्तरमा हिमालय र दक्षिणमा विशाल मैदानका बीच पटुका जस्तो तन्किएको भूगोल छ। त्यसकारण, विशिष्ट प्रकारले सामाजिक संरचना निर्माण भएको छ। दुवै पट्टिबाट च्यापिंदा बनेको साँघुरो भूगोलमा एक समुदाय र अर्को समुदाय बीच अलग–अलग भएर रहन सक्ने सम्भावना नै रहेन।

एकातिर भौगोलिक विशिष्टताले र अर्कोतिर देशको चारैतिरबाट हाम्रो पुर्खाहरू आएका हुनाले नेपालमा फरक–फरक समुदायको मिश्रित समाज र संस्कृतिको निर्माण भयो। त्यसैले, एकआपसलाई आत्मसात् गर्ने उपक्रम प्राग्–ऐतिहासिक कालदेखि हालसम्म पनि निरन्तर छ।

इतिहासकारका अनुसार फरक–फरक जाति मिसिएर एक जाति पनि बन्यो भन्ने तर्क छ। तर पछिल्लो कालखण्डमा त्यस्तो भएन। बरु अलग–अलग समुदाय एकैठाउँमा मिसिएर बस्ने खालको सामाजिक संरचना बन्यो। यस्तो हुनुमा दुई वटा राजनीतिक घटनाहरूले निर्णायक भूमिका खेलेका छन्– एउटा, पश्चिमबाट पूर्व आक्रमण गर्दै आउने क्रममा किरात भूगोलमा शासन गर्ने सेनहरूको राजनीतिक कदम र दोस्रो, पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारका क्रममा हुन पुगेको राजनीतिक–भौगोलिक एकीकरण। यस्तो राजनीतिक परिस्थितिले गर्दा अलग–अलग समुदायहरू पुन: एकपटक एकआपसमा मिसिएर अर्थात् खाँदिएर बस्नुपर्ने भयो।

समाज ‘तल’ यसरी विभाजन हुन नसक्ने गरी जोडिएर रहेको छ तर ‘माथि अर्थात् केन्द्रमा’ राजनीतिमा फाटो छ। समाजलाई एकअर्काको सहअस्तित्व स्वीकार गर्नलाई समस्या छैन। यसलाई हाम्रो राजनीतिले आत्मसात् गर्नैपर्छ। समाज उभिएको ठाउँमा राजनीति आइपुगेको दिन हामी छलाङ मार्न सक्छौं, समृद्धि अथवा समुन्नति जे भनिरहेका छौं, त्यो हासिल गर्न सक्छौं।

ढिलै भए पनि यतिबेला बौद्धिक र राजनीतिक वृत्तभित्र नेपाली विशेषताको समाजवादको आवाज अमूर्त ढंगले उठ्न थालेको छ। ‘नहुनु मामा भन्दा कानो मामा जाती’ भन्ने नेपाली उखान जस्तै यो बहस हुनु सकारात्मक कुरा हो। तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने कुरा कसैको पनि स्पष्ट व्याख्या छैन। नेपाली विशेषताको समाजवाद कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा एकथरीले सामुदायिक समाजवाद भन्ने तर्क पनि अघि सारेका छन्। तर त्यो सामुदायिक समाजवाद भनेको के हो र कस्तो हुन्छ ? यसलाई हाम्रो सन्दर्भमा कसरी बुझ्ने ? समाजमा रहेको ज्ञान प्रणालीको कुरा गर्दा त्योसँगै हुर्किरहेको संकीर्णतालाई हामीले बिर्सने गल्ती गर्नुहुँदैन।

अहिले, सामुदायिक समाजवाद भनिरहँदा भविष्यमा यसलाई संकीर्णताको रूपमा परिभाषित गर्दै जात र सम्प्रदायको संकुचित घेराभित्र कैद गरिने त होइन भन्ने आशंका हुन्छ। यसको ज्वलन्त उदाहरण हो, पहिचानको मुद्दालाई इतिहास, सभ्यता र संस्कृतिमाथि जातको आरोप लगाएर निषेध गर्न खोजियो र खोजिंदैछ। त्यही प्रतिकूल वातावरणबाट समाजवादको मार्गचित्र स्पष्ट गर्नु छ। खोज अनुसन्धान गरेर निकै सावधानीपूर्वक अगाडि बढ्नुपर्नेछ। समुदायहरू मिलेर नै नेपाली समाज बनेको छ भन्ने बुझाइ संस्थागत हुन जरूरी छ। तिनीहरूलाई अलग गरेर एक पक्षीय, एकलकाँटे र एउटै भाँडामा हालेर गाँजेमाजे बनाउने भाष्य निर्माण गर्न मिल्दैन।

चेपाङ समुदायको यो अर्थ प्रणाली हाम्रो माटोमा आधारित समाजवादको भ्रूण हुन्। जसलाई हामीले विकास गर्न सके रैथाने स्वाद र स्वामित्व सहितको ‘नेपाली जनताको समाजवाद’ हुनेछ

स्मरण गर्नुपर्ने कुरा के हो भने, यति विशाल विविधतायुक्त देशमा एउटा अचम्मको रसायन हामीसँग छ, जो दुनियाँको निम्ति अनुसरणीय र अनुकरणीय विषय हो। त्यो के हो भने यहाँ समानताको महसुस पनि कहिल्यै भएन तर असहिष्णुताको वातावरण पनि कहिल्यै फैलिएन। समानताको मुद्दा समय सापेक्षित सम्बोधन हुन नसके पनि यहाँ सधैं फैलाउन खोजिएको जातीय, धार्मिक र सांस्कृतिक असहिष्णुताको घातक विष कहिल्यै संक्रमित हुन सकेन। हाम्रो शक्ति र सम्पत्ति यही हो।

सारमा भन्नुपर्दा हाम्रो सामाजिक संरचनामा विविधता भित्रको अविभाज्य एकता छ। अर्को अर्थमा हाम्रो समाज एकै सिक्काको दुई पाटो जस्तै छ। त्यसैले अहिले विस्तारै सतह थिचोल्दै गरेको बहस सामुदायिक समाजवादलाई नेपाली सन्दर्भमा ‘नेपाली जनताको समाजवाद’ भन्ने शब्द प्रयोग गरियो भने त्यही नै हाम्रो लागि फराकिलो धरातलीय यथार्थ हुन सक्छ।

नेपाली विशेषताको समाजवादी मूल्यहरू निर्माण गर्दा, हाम्रै समाजको प्राणको रूपमा रहेको विविधता भित्रको एकतालाई मुख्य आधार मानेर अघि बढ्न सके विश्वसामु ‘नेपाली जनताको समाजवाद’लाई मौलिक र उदाहरणीय स्तम्भको रूपमा प्रस्तुत गर्न सकिन्छ।

समाजवाद कतैबाट जस्ताको त्यस्तै ल्याउने वस्तु होइन। अब त्यहाँ पुग्ने पदावलीलाई स्थापित गर्नुपर्छ। यही समाजमा भएको समाजवादी अभ्यास, संस्कृति, इतिहास, दर्शनहरूका भ्रूणहरूलाई नै विकास गर्दै नेपाली मौलिक समाजवादमा पुगिन्छ र त्यही व्यवस्था नै आजको ‘नेपाली जनताको समाजवाद’ हुनेछ।

हामीसँग हाम्रो पुर्खाले हस्तान्तरण गरेको संस्कृति छ। त्यो हाम्रो प्रकृतिमैत्री संस्कृति हो। त्यो ज्ञान र संस्कृतिलाई आजको विज्ञानसँग जोडेर जाँदा हामीले हाम्रै प्राकृतिक समाजवादको रसास्वादन गर्न पाउँछौं।

हाम्रा समुदायमा आफ्नै खालको समाजवादी परम्परा छ। लिच्छविकालमा भएको पाञ्चाली प्रथा (पाँचजना समाजका प्रबुद्ध व्यक्ति बसेर ठाउँको ठाउँ काम–कारबाही गर्ने प्रक्रिया) वा किरातको मुन्धुममा आधारित विवाह संस्कार, सोंचेप वा साङ्चेप वा थारूको बडघर वा नेवारी परम्परामा भएको गुठीलाई उदाहरणको रूपमा लिन सकिन्छ।

चिउरी र चेपाङको सम्बन्धलाई अर्को उदाहरणको रूपमा लिन सकिन्छ। चेपाङ समुदायमा छोरी जन्मेपछि चिउरी रोप्ने चलन छ। बिरुवा रोप्नु आफैंमा प्रकृतिप्रति योगदान गर्नु हो। चिउरीमा छोरीको जीवन हुँदोरहेछ। छोरी बढ्दै जान्छे। चिउरी पनि छोरीसँगै बढ्दै जान्छ। बिहेपछि छोरीलाई त्यही चिउरी दाइजो दिने परम्परा छ। चिउरी फुल्छ, त्यही फूलबाट माहुरीले मह बनाउँछ। त्यसको दानाबाट तेल बनाइन्छ। चिउरीको फल खान पनि मिल्छ र त्यही फलबाट रक्सी पनि बनाइन्छ। रक्सी आफू पिउन र पाहुना सत्कारमा पनि प्रयोग हुन्छ। चिउरीमा चमेरा आउँछ। चमेरा मारेर त्यसको मासुलाई भोजन बनाइन्छ। चिउरीको पातको टपरा गाँस्छ। डाला घाँस बाख्रालाई खुवाइन्छ। बाख्रा बेचेर आर्थिक गर्जो टारेर जीवन चलाइन्छ। त्यसको हाँगालाई दाउरा र घरगोठको टेकोकिलोको रूपमा पनि प्रयोग हुन्छ। चेपाङ समुदायको यो अर्थ प्रणाली हाम्रो माटोमा आधारित समाजवादको भ्रूण हुन्। जसलाई हामीले विकास गर्न सके रैथाने स्वाद र स्वामित्वसहितको ‘नेपाली जनताको समाजवाद’ हुनेछ।

हाम्रो उद्देश्य नेपाली विशेषताको समाजवादको स्थापना गर्ने हो। त्यसैले नेपालीपनकै रणनीति र कार्यक्रम बनाउनुपर्छ। यही साधनमा चढेर मात्र हामी साध्य (लक्ष्य) मा पुग्न सक्छौं। अन्यथा, मेचीतर्फको यात्रा थालेर महाकाली कसरी पुगिन्छ ?

लेखक
सुदन किराती

लेखक नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?