+

युवा स्टार एनगुमोहाको उदय

२०८२ भदौ  ११ गते १७:२७ २०८२ भदौ ११ गते १७:२७
युवा स्टार एनगुमोहाको उदय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिभरपुलका १६ वर्ष ३६१ दिनका रियो एनगुमोहाले न्युक्यासल युनाइटेड विरुद्ध प्रिमियर लिगमा निर्णायक गोल गरे।
  • एनगुमोहाले इन्जुरी टाइमको १००औं मिनेटमा गोल गर्दै लिभरपुलका सबैभन्दा कान्छा गोलकर्ता बने।
  • उनले चेल्सीको एकेडेमीबाट लिभरपुल आएका हुन् र इंग्ल्याण्ड यू-१५, यू-१६, यू-१७ राष्ट्रिय टिमबाट खेलिसकेका छन्।

११ भदौ, काठमाडौं । लिभरपुलका १६ वर्गीय रियो एनगुमोहाले न्युक्यासल युनाइटेड विरुद्ध प्रिमियर लिगमा सोमबार राती विजयी गोल गरेपछि अहिले यी युवा स्टारको चर्चा चुलिएको छ ।

वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका एनगुमोहाले इन्जुरी टाइमको दशौं मिनेटमा निर्णायक गोल गरे ।

एनगुमोहा इन्जुरी टाइममा कोडी गाक्पोको स्थानमा मैदान प्रवेश गरेका थिए । जतिबेला स्कोर २-२ थियो । लिभरपुलले दुई गोलको अग्रता लिएपनि न्युक्यासलले पुनरागमन गर्दै दुई गोल फर्काएर खेल बराबरीमा पुर्‍याएको थियो ।

तर ११ मिनेट थपिएको इन्जुरी टाइममा उनै युवा स्टार एनगुमोह चम्किए र १००औं मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।

त्यसपछि सुरु भयो एनगुमोहा र उनले गरेको निर्णायक गोलको चर्चा । उनले १६ वर्ष ३६१ दिनको हुँदा गोल गर्दै क्लबको १३३४ वर्षिय इतिहासमा लिभरपुलका सबैभन्दा कान्छा गोलकर्ता समेत बने ।

१५ वर्षीय म्याक्स डोवम्यानले आर्सनलका लागि प्रिमियर लिग डेब्युमा प्रभावकारी प्रदर्शन गर्दै विपक्षी विरुद्ध पेनाल्टी जितेका थिए । त्यसको ४८ वर्षपछि नै लिभरपुलका एनगुमोहा चम्किए ।

१६ वर्षीय टिनएजरलाई लिभरपुलका प्रशिक्षक आर्ने स्लटले निर्धारित समय सकिनुभन्दा केही अघि तयार पारिरहेका थिए ।

उनी ८६औं मिनेटमा मैदानमा मात्र प्रवेश गरे । १००औं मिनेटमा म्याजिकल मोमेन्ट आयो । एनगुमोहाले लिभरपुलका लागि निर्णायक गोल गरे ।

उनले प्रिमियर लिगको डेब्यु खेलमै निर्णायक गोल मात्र गरेनन् लिभरपुलका लागि लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बने ।

एउटा खेलाडीको लागि यो भन्दा गज्जबको डेब्यु के हुन सक्ला । अर्को अर्थमा भन्दा ड्रिम डेब्यू ।

लिभरपुलका प्रशिक्षकले पनि उनको प्रशंसा गरे । ‘१६ वर्षीय युवाका लागि यो विशेष गोल हो’ स्लटले भने ।

यस्तै लिभरपुलका कप्तान भर्जिल भान डाइकले एनगुमोहाको प्रशंसा गर्दै ड्रिम डेब्यू भएको बताए । ‘यो ड्रिम डेब्यू हो । म रियोको लागि एकदमै धेरै खुशी छु,’ भान डाइकले भने ‘उनले अझै कडा मिहिनेत जारी राख्नुपर्नेछ, यसलाई कायम राख्न हम्बल हुनुपर्छ ।’

प्रिमियर लिगको चौथो कान्छो गोलकर्ता

एनगुमोहा लिभपुलको मात्र होइन प्रिमियर लिगमा पनि गोल गर्ने कान्छा खेलाडीमध्ये बनेका छन् । उनले १६ वर्ष ३६१ वर्षको हुँदा लिभरपुलका लागि प्रिमियर लिगमा गोल गरेका हुन् ।

उनी प्रिमियर लिगमा गोल गर्ने चौथो कान्छो खेलाडी हुन् । प्रिमियर लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी भने जेम्स भग हुन् । एभरटनका उनले सन् २००५ मा क्रिस्टल प्यालेस विरुद्ध गोल गर्दा १६ वर्ष २७० दिनको हुँदा गोल गरेका थिए ।

यस्तै सन् २००२ मा जेम्स मिलनरले लिड्सबाट खेल्दै सण्डरल्याण्ड विरुद्ध गोल गर्दा १६ वर्ष ३५६ दिनका थिए । यस्तै सन् २००२ मै एभरटनका वायन रुनीले १६ वर्ष २३० दिनको हुँदा आर्सनल विरुद्ध गोल गरेका थिए ।

एनगुमोहाले २०२५ जनवरीमा एफए कपमा अकरिङ्गटन विरुद्ध लिभरपुलका लागि डेब्यु गरेका थिए । जतिबेला उनी १६ वर्ष १३५ दिनका थिए । उनी लिभरपुलका लागि खेल्ने सबैभन्दा युवा खेलाडी समेत बनेका थिए ।

उनले सिनियर टिमका लागि खेलेको त्यो पहिलो खेल थियो र त्यसपछि प्रिमियर लिगमा कुनै खेलमा स्थान बनाउन सकेनन् । नयाँ सिजनको पहिलो खेलमा बर्नमाउथ विरुद्धको खेलमा उनी बेन्चमा थिए ।

चेल्सीको उत्पादन, लिभरपुलमा हिट

रियो एनगुमोहा खासमा अर्को प्रिमियर लिग क्लब चेल्सीका उत्पादन हुन् । इंग्ल्याण्डको न्युहममा जन्मिएका एनगुमोहाले सन् २०१६ देखि २०२४ सम्म चेल्सीमा युथ करियर बिताएका थिए । त्यसपछि उनी गत वर्ष लिभरपुल पुगेका थिए । उनी सन् २०२४ को समरमा लिभरपुल पुगेका हुन् ।

सन् २०१६ मा ८ वर्षको उमेरमै उनी चेल्सीको एकेडेमीमा जोइन भएका थिए । त्यतिबेला नै यी खेलाडीमा केही प्रतिभा छ र धेरै सम्भावना छ भनेर भनिएको थियो ।

सन् २०२४ अप्रिलमा भएको यू-१७ प्रिमियर लिग फाइनलमा चेल्सी ३-१ ले विजयी हुँदा एनगुमोहाले गोल पनि गरेका थिए । त्यसअघि चेल्सीबाट यू१६ प्रिमियर लिगको उपाधि पनि जितेका थिए ।

चेल्सीको कोबहाम ट्रेनिङ ग्राउण्डमा रहने सबैलाई उनी विशेष हुन् भनेर थाहा थियो ।

उनलाई लिभरपुल बाहेक प्रिमियर लिगकै अन्य केही क्लबहरूले पनि प्रस्ताव गरेको थियो । तर त्यसका बावजुत उनी लिभरपुल पुगे । यसले चेल्सीसँग जोडिएकाहरूलाई रिस पनि उठेको थियो ।

यसले लिभरपुलको युथ स्काउटलाई चेल्सीको एकेडेमी म्याचमा प्रवेश गर्न समेत दिइएको थिएन् ।

उनले इंग्ल्याण्ड यू-१५ , यू-१६ र यू-१७ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।

एनगुमोहाले लिभरपुल पुगेपछि चम्किने अवसर पाए । उनले प्रिमियर लिग अघि हुने प्रिसिजनमा पनि लिभरपुलका लागि खेलेका थिए । जहाँ उनले दुई गोल र दुई असिस्ट समेत गरेका थिए ।

युवा उमेरमै च्याम्पियन टोली लिभरपुलका लागि खेल्दै विजयी गोल गरेपछि रियो एनगुमोहा अहिले नेक्स्ट बिग स्टारको रुपमा उदाएका छन् ।

इंग्लिस प्रिमियर लिग रियो एनगुमोहा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय