+

समग्रमा खेलाडीले राम्रो गरे, केही पक्षमा अझै सुधार आवश्यक : ज्ञानेन्द्र मल्ल

२०८२ भदौ  १७ गते २०:४१ २०८२ भदौ १७ गते २०:४१
समग्रमा खेलाडीले राम्रो गरे, केही पक्षमा अझै सुधार आवश्यक : ज्ञानेन्द्र मल्ल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले अस्ट्रेलिया टुर समग्रमा राम्रो भए पनि केही पक्षमा सुधार आवश्यक रहेको बताए।
  • कप्तान रोहित पौडेलले अस्ट्रेलियामा राम्रो अनुभव र सिक्ने अवसर पाएको उल्लेख गर्दै फिनिसिङको समस्या समाधान गर्नुपर्ने स्वीकार गरे।
  • नेपालले टप एन्ड टी-२० सिरिजमा ११ टिममध्ये आठौं स्थान हासिल गरेको थियो।

१७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपालको अस्ट्रेलिया टुर समग्र हिसाबमा राम्रो भएको उल्लेख गर्दै केही पक्षहरूमा अझै सुधार आवश्यक रहेको टिप्पणी गरेका छन् ।

अस्ट्रेलियामा सम्पन्न टप एन्ड टी-२० सिरिज तथा थप अभ्यास खेलहरू खेलेर नेपाली टोली मंगलबार स्वदेश फर्किएपछि विमानस्थलमा कुरा गर्दै ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।

‘हाम्रो स्ट्रेन्थ अनुसार जति राम्रो गर्नुपर्ने थियो त्यो भएन, तर पनि खेलाडीहरूले राम्रै गरेजस्तो लाग्छ’ मल्लले भने, ‘अस्ट्रेलियाको कन्डिशनमा अभ्यस्त हुने मौका मिल्यो, कन्डिशनलाई अडाप्ट गर्न सिक्यौं त्यो धेरै राम्रो हो जस्तो लाग्छ।’

मल्लले अझै पनि नेपालको केही पक्षहरू कमजोर देखिएकाले सुधार आवश्यक रहेको पनि औंल्याए । ‘सुरुवात अझैपनि सोचेजस्तो भएको छैन । बलिङमा ठीक छ । फिल्डिङ‌ हाम्रो बलियो पक्ष भएपनि कमजोर देखियो, यी सबै कुराहरू सुधारेर जानुपर्छ विश्वकप छनोटमा जाँदा’ मल्लको भनाइ थियो ।

त्यस्तै कप्तान रोहित पौडेलले अस्ट्रेलियामा राम्रो अनुभव भएको र धेरै सिक्ने अवसर मिलेको बताए । ‘यो सिरिजले राम्रो एक्सपोजर प्राप्त भएको छ । समग्रमा राम्रो भयो, सबैजनाले आ-आफ्नो तर्फबाट राम्रो गरे’ रोहितले बताए ।

अस्ट्रेलियन कन्डिशनमा ‘युज्ड टु’ नभएकाले सुरुका केही खेलमा अडाप्ट हुन समय लागेको रोहितको भनाइ थियो ।

रोहितले पनि फिनिसिङको समस्या हल गर्नुपर्ने कुरा स्वीकारे । ‘जुनसुकै पनि टिमलाई फिनिसिङको समयमा गाह्रो हुन्छ, आउने दिनमा सुरुवात र फिनिसिङको समस्या हल गर्नुपर्छ। गेम स्टार्ट र फिनिस कसरी गर्ने भन्ने कुरा सिकेर आएका छौं’ रोहितले भने ।

रोहितले बाहिरी कन्डिशनमा गएर खेल्न पाउनु धेरै राम्रो कुरा भएको र हरेक वर्ष यो सिरिजमा सहभागी हुने अवसर मिलेमा धेरै एक्सपोजर प्राप्त हुने उल्लेख गरे ।

पहिलोपटक टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाएको नेपाली टोली ११ टिममध्ये आठौं भएको थियो ।

६ वटा लिग खेलमध्ये नेपालले २ खेल जित्दा ४ खेलमा पराजित भएको थियो ।

त्यस्तै त्यसपछि भएको अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई दुईपटक हराएको थियो ।

साउथ अस्ट्रेलियासँग भने नेपाल दुवै टी-२० अभ्यास खेलमा पराजित हुँदा वान डे अभ्यासमा विजयी भएको थियो ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय