+
+
Shares

असरल्ल राष्ट्रिय गौरवका आयोजना, लागत बढेको बढ्यै

पछिल्लो तथ्यांक अनुसार सरकारले पछिल्लो एक वर्षयता थप गरेका आयोजना बाहेक सबै पुराना आयोजनाको लागत दोब्बर र त्यसभन्दा धेरैले बढेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ भदौ २२ गते २२:१४
काठमाडौं–तराई मधेश ‘फास्ट ट्र्याक’/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पछिल्लो एक वर्षयता थप गरेका आयोजना बाहेक सबै पुराना राष्ट्रिय गौरवका आयोजनाको लागत दोब्बर वा बढी बढेको छ।
  • राष्ट्रिय योजना आयोगका अनुसार मुलुकमा २७ राष्ट्रिय गौरवका आयोजना छन्, जसमा दुई नयाँ आयोजना गत आर्थिक वर्षमा थपिएका हुन्।
  • मूलपानी क्रिकेट एकेडेमी र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला नयाँ राष्ट्रिय गौरवका आयोजनामा समावेश भएका छन्।

२२ भदौ, काठमाडौं । सरकारी निकायले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा तदारुकता देखाउन नसक्दा राज्यमाथि ठूलो व्ययभार थपिँदै गएको छ ।

पछिल्लो तथ्यांक अनुसार सरकारले पछिल्लो एक वर्षयता थप गरेका आयोजना बाहेक सबै पुराना आयोजनाको लागत दोब्बर र त्यसभन्दा धेरैले बढेको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार अहिले मुलुकमा २७ राष्ट्रिय गौरवका आयोजना छन् । त्यसमध्ये गत आर्थिक वर्ष २०८१/८२ मा दुई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको  थियो ।

मूलपानी क्रिकेट एकेडेमी तथा रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला थप भएका राष्ट्रिय गौरवका आयोजना हुन् । यीबाहेक पुराना सबैको लागत दोब्बरभन्दा धेरै बढेको छ । सरकारले १५औं आवधिक योजनामै अहिले कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये अधिकांश निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।

१६ औं योजनाको आधा समय घर्किसक्दा पनि अधिकांश आयोजना कछुवा गतिमा छन् । सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, तथा  माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्र सम्पन्न भएका छन् ।

कुन आयोजनाको लागत कति ? अहिले पुग्यो कति ?

सिँचाइ

सिक्टा सिँचाई आयोजना आव २०६१/६२ देखि सुरु भएको हो । यो आयोजनाको सुरु लागत १२ अर्ब ८० करोड रुपैयाँ थियो । अहिले आयोजना लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । सम्पन्न हुने संशोधित वर्ष २०८९/९० सम्म पुर्‍याइएको योजना आयोगले जनाएको छ ।

फाइल तस्वीर

बबई सिँचाई २०४५/४६ देखि सुरु भएको हो । २ अर्ब ८७ करोड रुपैयाँ लागतको यो आयोजनाको लागत बढेर १८ अर्ब ९६ करोड पुगेको आयोगको पछिल्लो विवरणमा उल्लेख छ । यो आयोजनाको संशोधित सम्पन्न हुने वर्ष २०८२/८३ छ ।

रानीजमरा कुलरिया सिँचाई आयोजना २०६७/६८ देखि सुरु भएको हो । आयोजनाको सुरु लागत १२ अर्ब ३७ करोड थियो । अहिले बढेर २७ अर्ब ७० करोड पुगेको देखिन्छ । यो आयोजनाको समेत सम्पन्न हुने संशोधित वर्ष २०८२/८३ हो ।

भेरी बबई डाइभर्सन बहेउद्देश्यीय आयोजना २०६८/६९  देखि सुरु भएको हो । यस आयोजनाको सुरु लागत १६ अर्ब ४३ करोड थियो । अहिले लागत बढेर ३६ अर्ब ८० करोड पुगेको तथ्यांक छ । यो आयोजनाको संशोधित सम्पन्न हुने वर्ष २०८४/८५ छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजना २०७३/७४ देखि सुरु भएको हो । आयोजनाको सुरु लागत ४६ अर्ब १९ करोड थियो । संशोधित लक्ष्य अनुसार यो आयोजना २०८५/८६ मा सकिने छ । आयोजनाको लागत भने संशोधन गरिएको छैन ।

महाकाली सिँचाई आयोजना २०६३/६४ देखि सुरु भएको हो । यस आयोजनाको सुरु लागत ३५ अर्ब रुपैयाँ हो । यस आयोजनामा लागत अनुमान संशोधन भएको देखिएको छैन । यो आयोजना सम्पन्न हुने मिति २०८७/८८ रहेको छ ।

जलविद्युत्

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना २०७७/७८ मा सम्पन्न भएको थियो । आयोजनाको सुरु लागत ३५ अर्ब २९ करोड रहेकोमा सम्पन्न हुने मिति बढेर ८९ अर्ब ४२ करोड पुगेको थियो ।

बुढिगण्डकी जलविद्युत् आयोजना २०६९/७० मा घोषणा गरिएको हो । २०८५/८६ मा सक्ने लक्ष्य लिइएको भए पनि सुरु भने हुन सकेको छैन । यो आयोजनाको सुरु लागत २ खर्ब ६० अर्ब अनुमान गरिएकोमा अहिले बढेर ३ खर्ब ९८ अर्ब २ करोड पुगेको आयोगको तथ्यांकमा उल्लेख छ ।

फाइल तस्वीर

पश्चिम सेती जलविद्युत् आयोजना चालु आवमा सुरु गर्ने लक्ष्य छ । ५ वर्षभित्र सक्ने लक्ष्य रहेको यो आयोजनाको लागत अनुमान १ अर्ब ३२ करोड अमेरिकी डलर बराबर छ । यद्यपि, यो आयोजना अझै कार्यान्वयन चरणमा नै प्रवेश गरिसकेको छैन ।

विद्युत् प्रसारण लाइन आयोजना २०७४/७५ देखि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको हो । ६३ करोड डलर लागत अनुमानको यो आयोजनाको लागत बढेर ६९ करोड डलर पुगिसकेको छ । यो आयोजना सक्ने लक्ष्य २०८५/८६ हो ।

विमानस्थल

६ अर्ब २२ करोड लागतको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने समयमा ६ अर्ब ८२ करोड लागत पुगेको थियो । त्यस्तै २२ अर्ब लागतको पोखरा विमानस्थल समेत सोही लागतमा बनेको हो । यी दुई आयोजना भने तुलनात्मक रूपमा तोकिएको समय पच्छ्याएर निर्माण सम्पन्न भएका राष्ट्रिय गौरवका आयोजना हुन् । १ खर्ब ६५ अर्ब लागत अनुमान गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अझै निर्माण चरणमा प्रवेश गर्न सकेको छैन । यो आयोजना २०७१/७२ देखि गौरवको आयोजनामा प्रवेश गरेको हो ।

सडक/राजमार्ग

सडक आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्ग २०६४/६५ देखि निर्माण सुरु भएको हो । ३३ अर्ब ३६ करोड लागतको यो आयोजनाको लागत बढेर ८४ अर्ब ३३ करोड पुगेको छ । यो आयोजना २०८४/८५ मा सक्ने लक्ष्य छ । २०६६/६७ देखि सुरु भएको हुलाकी राजमार्गको सुरु लागत ४७ अर्ब २४ करोड थियो । अहिले यो आयोजनाको लागत बढेर ६५ अर्ब २० करोड पुगेको छ । यस्तै उत्तर दक्षिण कोशी राजमार्गको सुरु अनुमान लागत १२ अर्ब ५४ करोड तोकिएको थियो । २०६५/६६ देखि गौरवको आयोजनामा समावेश यो राजमार्गको लागत १६ अर्ब ८२ करोड पुगिसकेको छ ।

फाइल तस्वीर

उत्तर दक्षिण कालीगण्डकी करिडोर २०६५/६६ देखि सुरु भएको हो । आयोजनाको सुरु लागत ३० अर्ब रुपैयाँ छ । अहिले लागत बढेर ३५ अर्ब पुगेको छ । चालु आव भित्रै आयोजना सक्ने लक्ष्य छ ।

उत्तर–दक्षिण कर्णाली करिडोर निर्माण २०६५/६६ देखि सुरु भएको हो । सुरु लागत ४ अर्ब १० करोड रहेकोमा अहिले बढेर ६ अर्ब ६६ करोड पुगेको देखिन्छ । काठमाडौं–तराई–मधेश द्रुतमार्ग २०७३/७४ देखि निर्माण सुरु भएको हो । सुरु लागत १ खर्ब १६ अर्ब रहेको यो आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ पुगेको छ । रेल वे तथा मेट्रो विकास आयोजना निर्माण २०६५/६६ देखि सुरु भएको हो । सुरु लागत ७० अर्ब ६२ करोड रहेको यो आयोजनाको लागत बढेर ९ खर्ब ५५ अर्ब २२ करोड पुगिसकेको छ ।

अन्य आयोजना

आव २०५५/५६ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजनाको लागत २४ अर्बबाट बढेर ३१ अर्ब ३६ करोड पुगिसकेको छ । पशुपति क्षेत्र विकास कोषलाई समेत सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको छ । यस आयोजनाको सुरु लागत १ अर्ब २७ करोडबाट बढेर २ अर्ब २७ करोड पुगेको देखिन्छ । लुम्बिनी क्षेत्र विकास कोषको सुरु लागत ५ अर्ब ५५ करोडबाट बढेर १३ अर्ब २६ करोड पुगेको तथ्यांक छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सुरु लागत १ अर्ब २५ करोडमात्र थियो । २०७१/७२ देखि सुरु भएको यो कार्यक्रमको लागत बढेर २ खर्ब ४९ अर्ब ७० करोड पुगेको देखिएको छ । त्यसैगरी मूलपानी क्रिकेट रंगशालाको लागत ७ अर्ब ४९ करोड र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको लागत ३ अर्ब ६४ करोड रहेको देखिएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?