
News Summary
Generated by OK AI. Editorially reviewed.- जुम्ला जिल्लामा समुद्री सतहबाट २,४०० देखि ३,०५० मिटर उचाइमा उब्जने जुम्ली मार्सी धानलाई संसारकै उच्च स्थानमा हुर्कने धान मानिन्छ।
नेपालको हिमाली जिल्ला जुम्ला प्राकृतिक सुन्दरताको खानी हो । यहाँको जनजीवन, संस्कृतिमा आफ्नै विशिष्टता छ । यस्ता धेरै विशेषतामध्ये एक हो जुम्ली मार्सी धान। समुद्री यो धान समुद्री सतहबाट करिब २,४०० देखि ३,०५० मिटरको उचाइमा धान फल्छ । जुम्ली मार्सीलाई संसारकै उच्च स्थानमा हुर्किने धान भनेर चिनिन्छ।
अन्य धानहरू चिसो मौसममा हुर्कन सक्दैन । मार्सी धानमा अद्वितीय चिसो प्रतिरोध क्षमता छ, जसले गर्दा अन्य नफल्ने ठाउँमा पनि यसले जीवन पाउँछ। तापक्रम १० डिग्री सेल्सियस भन्दा तल झरे पनि यसको बोट सुकेर मर्दैन ।
जुम्लेली किसानहरूले सदियौंदेखि डाँडाकाँडामा खेत निर्माण गरेर पानी, माटो र सूर्यको प्रकाशलाई सन्तुलित रूपमा उपयोग गर्ने परम्परागत प्रविधि विकास गरेका छन्। यस्तो खेती प्रणाली, स्वच्छ वातावरण र शुद्ध पानी मिलेर जुम्ली मार्सीलाई अद्वितीय गुणले सम्पन्न बनाएको छ।
यस्तो प्राकृतिक कठोरतामा हुर्किएको हुनाले जुम्ली मार्सी तराईमा खेती हुने वा अन्य सामान्य धानभन्दा पोषणमा पनि धनी छ। अन्य धानमा भन्दा यसमा प्रोटिनको मात्रा २-३ गुणा बढी हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन् ।
यसको कारण उच्च उचाइमा पाइने वातावरणीय परिवर्तन हो । यो धान फल्ने ठाउँमा वायुमण्डलीय कार्बन डाइअक्साइड कम हुने हुँदा बोटले आफ्नो जीवन धान्नका लागि अमिनो एसिड उत्पादन बढाउँछ, जसबाट अन्ततः प्रोटिन बढी हुन्छ । फलाम, जिंक र अन्य सूक्ष्म खनिज तत्त्व पनि यसमा प्रशस्त पाइन्छन् ।
यसको सेवनले रक्तअल्पता घटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र सम्भावित रूपमा मधुमेह नियन्त्रणमा समेत सहयोग पुर्याउँछ ।
तर आज यो धानको अस्तित्व अनेकौँ चुनौतीसँग जुधिरहेको छ । उत्पादन क्षमता सीमित छ, माग भने तीव्र रूपमा बढ्दो छ । युवा पुस्ता वैदेशिक रोजगारीतिर तानिँदा खेती गर्नेहरू घटिरहेका छन् । जलवायु परिवर्तनका कारण जुम्लामा चिसो समय छोटिँदै गएको छ, जसले भविष्यमा यसको उत्पादनलाई खतरामा पार्न सक्छ । त्यसमाथि, बजारमा नकली ‘जुम्ली मार्सी’ नाममा बेचिने चामलले यस धानको मौलिकता र विश्वसनीयतामाथि प्रश्न उठाइरहेको छ।
तर चुनौतीसँगै सम्भावनाहरू पनि विशाल छन् । यदि स्थानीय समुदायले परम्परागत बीउको संरक्षण गरे, आधुनिक जैविक खेती प्रवर्द्धन गरियो, र सरकारी तहबाट सहकारीमार्फत प्रोत्साहन दिइयो भने यसलाई अझ बलियो बनाउन सकिन्छ। जुम्ली मार्सीलाई भौगोलिक पहिचान दिलाउन सके विश्व बजारमा यसको मूल्य र प्रतिष्ठा दुवै बढ्नेछ । कृषि पर्यटनसँग यसलाई जोडेर ‘जुम्ली मार्सी ट्रेल’ जस्ता अवधारणाले यहाँको उत्पादनलाई पर्यटनसँगै अगाडि बढाउन सक्ने सम्भावना छ ।
वैज्ञानिक दृष्टिले पनि अझ धेरै अनुसन्धान गर्नुपर्ने देखिन्छ। यसको जिनेटिक आधारलाई अध्ययन गरेर चिसो प्रतिरोधी धानका नयाँ प्रजाति विकास गर्न सकिन्छ। यसको पोषण प्रोफाइलिङ अझै अन्तर्राष्ट्रिय स्तरमा सम्पूर्ण रूपमा गरिएको छैन।
मधुमेहका बिरामीका लागि यसको ग्लाइसेमिक इन्डेक्स लाभदायी हुन्छ भन्ने दाबीलाई पनि अझ प्रायोगिक प्रमाणले पुष्टि गर्न बाँकी छ। यसरी हेर्दा जुम्ली मार्सी आजको अवस्थामा मात्र महत्वपूर्ण छैन, भविष्यमा पनि विश्व कृषि विज्ञानका लागि एउटा ‘मोडेल’ बन्नसक्ने क्षमता बोकेको छ।
(लेखक निशा अधिकारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी लेक्चर हुन् ।)
प्रतिक्रिया 4